• १० मंसिर २०८१, सोमबार

प्रजातान्त्रिक समाजवादको व्याख्याता

blog

नेपाली राजनीतिक आकाशमा निडर र निर्भीक भएर आजीवन सङ्घर्षमै जीवन बिताउने एक नेता हुन्, प्रदीप गिरि । मैले सानैमा सुनेको र पछि विभिन्न अन्तर्वार्तामा पनि प्रत्यक्ष अनुभूत गरेको बौद्धिक, उच्च राजनीतिक चेत भएका र हक्की व्यक्तित्वका रूपमा उहाँलाई पाएँ । उहाँको जस्तो बौद्धिक चिन्तनको मन्थन अन्य विरलै नेताहरूमा पाएको छु, आजपर्यन्त । ‘मैले चिने–जाने–बुझेका प्रदीप गिरि’ स्मृतिग्रन्थमा प्रधान सम्पादक भारती सिलवाल गिरिको प्रदीप गिरिप्रतिको गहिरो मायाप्रेम, निकट भाष्य र सम्बोधन जस्तै तँ, तिमी र ऊ जस्ताबाट भएको पाइन्छ । वास्तवमा करिब ४२ वर्षसम्मको उहाँहरूको दाम्पत्य जीवनलाई ठुलो उपलब्धि नै मान्न सकिन्छ । 

आफ्ना अन्तरमनका मतभेदहरूसँग जागरुकताका साथ लडिरहने प्रदीप गिरिको आफ्नो भित्री व्यक्तित्वचाहिँ विरोधाभासपूर्ण थियो भने देशविदेशका राजनीतिक पृष्ठभूमिको स्वाध्याय र शैक्षिक ज्ञानले उहाँलाई नेपाली राजनीतिक वृत्तमा त्यस्तो उचाइमा पु¥याएको थियो । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता अथक योद्धाहरूले पनि उहाँलाई समकक्षी मान्ने गर्नुभएको थियो । 

माता पुण्यप्रभा गिरी र पिता मित्रलाल गिरीका पुत्रका रूपमा सिरहा जिल्ला, लहान नगरपालिका (साबिक बस्तीपुर गाउँ पञ्चायत वडा नं. ६) बस्तीपुरमा २००४ साल असोज २४ गतेका दिन गिरिको जन्म भएको थियो । उहाँ माइला सुपुत्र हुनुहुन्थ्यो । घरको शिक्षित तथा राजनीतिक वातावरणमा हुने कथाकुथुङ्ग्री र समसामयिक नेपाली राजनीतिक परिचर्चाबाट उहाँमा सानै उमेरबाट प्रभाव पारेको थियो । गाउँघर आउने साधुसन्त र घरको धार्मिक क्रियाकलापलाई अभिरुचिपूर्वक अवलोकन गर्दै गर्दा उहाँमा ११ वर्षमै ईश्वर र धर्मप्रति गहिरो अभिरुचि जागेको पाइन्छ । 

उच्च शिक्षा हासिल गर्ने क्रममा गाउँबाट राजधानी आई काठमाडौँको अमृत साइन्स कलेजमा भर्ना भएर उच्च शिक्षा प्राप्त गर्ने र पुस्तकालयमा स्वअध्ययन गर्नुहुन्थ्यो । यसै क्रममा पिताले उहाँको रुचि अनुसारको विषय पढाउन भारतको वनारसस्थित वनारस हिन्दु विश्वविद्यालयमा पठाउनुभयो । त्यहाँबाट उहाँले अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो । त्यसपछि दिल्लीस्थित जवाहर नेहरू विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी एमफिलको अध्ययन सुरु गर्नुभएको थियो । साथै सोही विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजमा ऐच्छिक विषय अन्तर्गत कूटनीतिशास्त्रको अध्ययनसमेत गर्नुभयो । यसरी अध्ययनको फराकिलो फाँट र त्यस बेला भारतका विविध क्षेत्रका हस्ती मित्रहरूको सङ्गतले उहाँमा सामाजिक, आर्थिक र राजनीतिक चेतना उम्दा रूपले चुलिएको थियो । अध्ययनशील व्यक्तित्व भएकाले उहाँको प्रभावमा धेरै व्यक्तित्व आउनुभयो । यसै सिलसिलामा २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले शासन गर्न थालेको समय उहाँका निर्वासित पितालगायत अन्य व्यक्तित्वहरूले भारतमै शरण लिएपछि उहाँमा नेपाली राजनीतिक अवस्था र चेतनाले गहिरोसँग जरा गाडेको पाइन्छ । भारतमा आफूले विद्यार्थी राजनीति गर्दै आएकोमा त्यसपछि लगत्तै नेपाली कांग्रेसको सदस्यता लिएको यस ग्रन्थमा उल्लेख छ ।

परिवारको राजनीतिक पृष्ठभूमिका कारण प्रदीप गिरिमा यथेष्ट राजनीतिक चेत सानैमा पलाएको पाइन्छ । राजा महेन्द्रको २०१७ सालको शासन हातमा लिने कदमले झनै गहिरो छाप पारेको थियो । यसरी नेपाली राजनीतिमा पूर्णकालीन रूपमा झन्डै १७ वर्षको उमेरबाटै होमिइसक्नुभएको थियो । भारतमा रहेका नेपाली विद्यार्थीमाझ खरो वक्तव्य दिएर लोकप्रिय भएका र त्यहीँबाट उहाँले नेपालमा रहेको राजसंस्थाको हुकुमी शासनको विरोध गर्न र २००७ सालको उपलब्धि प्रजातन्त्रलाई पुनस्र्थापना गर्न मोर्चाहरू गठन गरी सक्रिय हुनुभएको थियो ।

विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादको धारमा हिँडेका प्रदीप गिरि–बिपी एवं सिके प्रसाईंपछिका प्रजातान्त्रिक समाजवादको सशक्त व्याख्याता पनि हुनुहुन्थ्यो । समाजवाद मात्र भएमा खोव्रmो हुने र समाजवादमा प्रजातन्त्र र स्वतन्त्रता भएपश्चात् यो व्यवस्था उपयुक्त राजनीतिक प्रणाली हुन सक्छ भन्नुहुन्थ्यो प्रदीप गिरि । विसं २०३३ पुसमा राष्ट्रिय मेलमिलापको आह्वानमा कांग्रेसका शीर्ष नेताहरूसँगै नेपाल फर्किएका प्रदीप गिरि २०२५ देखि २०४२ सालसम्म पटक पटक गरी करिब १४ वर्ष आस्थाको बन्दीका रूपमा जेलजीवन भोग्न बाध्य हुनुभयो । आफ्नो उर्वर युवा समयमा करिब दुई दशकसम्म निर्वासनमा बस्नु परेको विषय यस स्मृतिग्रन्थमा उल्लेख गरिएको छ । उहाँको अनुभवमा स्वअध्ययनका लागि जेल नै सर्वोत्तम स्थान हो भन्ने पनि जीवनी आलेखमा लेखिएको छ ।

नेपाली राजनीतिमा २० देखि ४० को दशकसम्ममा भएका विविध सङ्घर्षका गतिविधि र प्रजातन्त्रोन्मुख आन्दोलन र त्यसका परिणामले प्रदीप गिरिको जीवनमा निकै उतारचढाव आएको पाइन्छ । सशस्त्र जनयुद्धका अलग धार माओवादीलाई मूलधारमा ल्याउनसमेत उहाँको पहलले महìवपूर्ण भूमिका खेलेको सर्वविदितै छ । प्रदीप गिरिलाई नेपाली कांग्रेससमेत अन्य राजनीतिक समाज, भिन्न तह र तप्काका व्यक्तिहरूले महान् चिन्तक, प्रखर वक्ता, दार्शनिक र उच्च श्रेणीका बौद्धिक लेखकका रूपमा स्विकारेका छन् । यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल, पोखरामा आयोजित एक विशाल साहित्यिक गोष्ठीको एक घटनाबारे लेख्नुहुन्छ, “प्रदीप गिरिले झन्डै पौने घण्टा जति बोल्नुभयो । लेखक, कवि, साहित्यकारको सभामा नेपाली साहित्यमाथि उहाँको विद्वतापूर्ण विश्लेषण सुनेर श्रोताहरू अवाक् भए । साहित्यका धारा, लेखनप्रवृत्ति, इतिहासचेतना, विश्वचेतलगायतका विषयमा पनि यति विद्वतापूर्ण प्रवचन सुन्ने मौका मुस्किलले कसैले पाउँछ । उहाँको प्रवचन सकिँदा, त्यो कसलाई बोल्न दिएको ? भन्ने मानिसहरू अभिभूत भएका थिए । अनि बल्ल सहभागीले  राम्रो मान्छेलाई बोल्न दिएको रहेछ, भनेर मतिर हेरे ।”

‘मैले चिने–जाने–बुझेका प्रदीप गिरि–२०८०’ स्मृतिग्रन्थभित्र नियाल्दा ग्रन्थलाई चार खण्डमा बाँडिएको छ । पहिलोमा उहाँको विषयमा धर्मपत्नीबाट लेखिएको ‘प्राक्कथन ः भारती सिलवाल–गिरि’, दोस्रोमा स्वयम् प्रदीप गिरिको सङ्क्षिप्त जीवनी, तेस्र्रो शुभकामनाका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति डा. रामवरण यादवका शुभकामनाहरूलाई व्यक्तिगत अनुभूतिसहित राखिएका छन् । त्यस्तै चौथो भागमा निवर्तमान प्रधानमन्त्रीहरू, निवर्तमान उपप्रधानमन्त्री तथा मन्त्रीहरू, सांसदहरू, प्राध्यापक, डाक्टर, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूका प्रदीप गिरिसँगका निजी अनुभवसहितका आलेखहरू राखिएका छन् । यसै गरी स्मृतिग्रन्थमा क्रमशः स्मरणमा प्रदीप गिरि– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. रामवरण यादवको–शुभकामना, प्रदीप गिरि : एक क्रान्तिकारी बौद्धिक व्यक्तित्व–शेरबहादुर देउवा, मेरो सम्झनामा प्रदीप गिरि–केपी ओली, प्रखर समाजवादी चिन्तक प्रदीप गिरि–डा. बाबुराम भट्टराई, पार्टी नेतृत्वलाई बौद्धिक खुराक दिने नेता–डा. प्रकाशशरण महत, बाँडेगाउँमा प्रदीप गिरिको त्यो अन्तिम दिन–अमिता कपाली, न्यायको प्रतिमूर्ति, आस्थाको दियो प्रदीप गिरि ठुलोबुवा–अनिता परियार, प्रदीप गिरिको सजल स्मृति–स्वामी आनन्द अरुण, समकालीन राजनीतिमा सर्वथा भिन्न व्यक्तित्व–आनन्दप्रसाद आचार्य, अँध्यारोमा उज्यालो छर्ने एउटा ज्योतिपुञ्ज–पत्रकार हरिहर विरही, अलबिदा प्रदीप गिरि–कपिल लोहनी, यसरी पनि झुक्याउनु ?–विमल भौकाजीलगायतका भावपूर्ण र किञ्चित भावुक बनाउने र ज्ञानवर्धक आलेखहरूले गिरिको जीवनका अधिकांश पाटामा प्रकाश पारेका छन् । अझ भारतीय मित्रमण्डलीका आलेखहरूले उहाँका विद्यार्थी राजनीतिक कालदेखि अन्तिम दिनसम्मका विविध लोभलाग्दा सक्रियता, महान् योगदान आदिबारे यथेष्ट प्रकाश पारेका छन् । नेपाली र भारतीय व्यक्तित्वहरूसमेतका १२८ आलेख समेटिएको पुस्तकको महìव ऐतिहासिक र बृहत् रूपमा बुझ्न सकिन्छ । अतः भविष्यमा स्रोत पुस्तकका रूपमा पनि प्रयोग हुन सक्ने कुरालाई नकार्न सकिँदैन । 

अन्ततः मानिस जन्मनुको भौतिक र आध्यात्मिक पाटोको सम्पूर्ण उद्देश्यलाई पूर्णता दिँदै उहाँले २०७९ साल भदौ ४ गते राति ९:३० बजे, मेडिसिटी अस्पतालमा देह त्याग गर्नुभयो । यसरी अनेक रमाइला पल, तथ्य, जीवनका उतारचढाव र मानवीय कमीकमजोरी सँगालेर लेखिएका आलेखहरू समेटिएको ‘मैले चिने–जाने–बुझेका प्रदीप गिरि–२०८०’ स्मृतिग्रन्थ बृहत् रूपमा सफल, स्रोतपुस्तक, अध्ययनपरक, सङ्ग्रहयोग्य तथा समाजलाई नै सुन्दर उपहारका रूपमा ससम्मान प्रदीप गिरिलाई सम्पूर्ण टिमले अर्पण गरेको छ भन्दा अतिशयोक्ति नहोला । अस्तु ।   

Author

सानुराजा श्रेष्ठ अञ्जान