• १७ असार २०८१, सोमबार

नेपाली काँग्रेस र बीपी काँग्रेसबीच प्रतिस्पर्धा

blog

 डडेल्धुरा समाचारदाता 

डडेल्धुरा, वैशाख  २२ गते  । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई डडेल्धुरामा चुनौती थपिएको  छ । २०७४ सालको निर्वाचनमा डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको काँग्रेसले पुरानो विरासत जोगाउन निकै मेहनत गर्नुपर्ने देखिएको छ ।  

डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट प्रमुख पदमा नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले)बीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । गत चुनावमा नेपाली काँग्रेसका भीमबहादुर साउदसँग झिनो मतले पराजित हुनुभएका माओवादी केन्द्रका शेरसिंह माल डायमन्ड चुनावी मैदानमा हुनुहुन्छ । उहाँसँग काँग्रेसका भरत जोशी र एमालेका केशव बोहराबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा नेपाली काँग्रेस र नेपाली काँग्रेस (बीपी)को मुख्य प्रतिस्पर्धा रहेको छ । गत निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा विजयी भएको एमालेले यस पटक नेपाली काँग्रेस (बीपी)सँग तालमेल गरेर उपप्रमुखमा चित्त बुझाउँदै नगरप्रमुखमा बीपी काँग्रेसलाई समर्थन गरेको छ । 

नेपाली काँग्रेसबाट २०७४ को निर्वाचनमा पराजित हुनुभएका नगरप्रमुखका उम्मेदवार डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल पुनः उमेदवार रहनुभएको छ । काँग्रेस र बीपी काँग्रेसबीच कडा प्रतिस्पर्धा रहने स्थानीयवासीको आकलन छ । 

यस्तै नवदुर्गा गाउँपालिकामा एकीकृत समाजवादी, काँग्रेस र काँग्रेस बीपीबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । नवदुर्गामा यसअघि एमालेसँग काँग्रेसले पराजय भोगेको थियो । 

यसपालि पनि हालका अध्यक्ष कवीन्द्र विष्ट एकीकृत समाजवादीबाट उम्मेदवार बन्नुभएको छ । सो पालिकामा समाजवादी, काँग्रेसका लक्ष्मी अवस्थी र काँग्रेस बीपीका गोकुल शाहीबीच कडा प्रतिस्पर्धा रहेको बीपीका जिल्ला संयोजक तिलक हमालले बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका रहेको गन्यापधुरा गाउँपालिकामा बीपी काँग्रेसले एमालेसँग तालमेल गर्दै चुनावमा होमिएको छ । सो पालिकामा प्रधानमन्त्री देउवाको गृहवडामै काँग्रेस कमजोर रहेको नेपाली काँग्रेसले कारबाही गरेका निवर्तमान सभापति कर्ण मल्ल बताउनुहुन्छ । मल्लले गन्यापधुुरा गाउँपालिकामा प्रधानमन्त्री देउवाको वडासहित पालिकामा बीपी काँग्रेस र एमाले गठबन्धन विजयी हुने दाबी गर्नुभयो ।  नेपाली काँग्रेसका जिल्ला सभापति भीमबहादुर साउद भन्नुहुन्छ, “काँग्रेसका क्रियाशील कार्यकर्ताले अन्तिममा नेपाली काँग्रेस र रूखमै भोट हाल्ने भएकाले जिल्लाका बहुमत पालिका र वडामा काँग्रेसले विजय हात पार्ने निश्चित छ ।”

प्रधानमन्त्रीको गृहजिल्ला भएका कारण पनि अझ प्रभाव रहेको बताउँदै दुईवटा नगरपालिकासहित तीनवटा गाउँपालिका आलिताल, भागेश्वर र गन्यापधुरा गाउँपालिकामा काँग्रेसको जित सुनिश्चित भएको सभापति साउदले बताउनुभयो ।  २०७४ सालको निर्वाचनमा काँग्रेसले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकामा जित हात परेको थियो ।

नेकपा (एमाले) अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा विजयी भएको थियो भने नेकपा (माओवादी केन्द्र)ले अजयमेरु गाउँपालिकामा जित हात पारेको थियो । यस पटकको निर्वाचनमा काँग्रेस एक्लै निर्वाचनमा होमिएको छ भने एमाले र नेपाली काँग्रेस (बीपी)ले सातवटै स्थानीय तहमा तालमेल गरेका छन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले अजयमेरु गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा गठबन्धन गरेको छ भने अन्य पालिकामा एक्लाएक्लै चुनावमा होमिएका छन् ।