गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख २२ गते । राष्ट्रिय मानव अधिकार आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरेर सातवटै प्रदेशका ७७ जिल्लाका मतदान केन्द्रमा पुगेर स्थलगत अनुगमन गर्ने बताउनुभयो ।
आयोगका सदस्य डा. सूर्य ढुङ्गेल मधेस प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर १ को अनुगमनमा जाने कार्यक्रम छ । आयोगले निर्वाचन अवधिका ४७
अनुगमन टोलीद्वारा ७७ जिल्लाका मतदान केन्द्रमा पुगी मानव अधिकारको अवस्थाबारे अनुगमन गर्नेछ । उहाँले निर्वाचन पूर्व, निर्वाचनको क्रममा र मत गणनाको अवधिमा अनुगमन गर्ने जनाएको छ । त्यसका लागि आयोगमा अनुगमन नियन्त्रण कक्ष स्थापना गर्नुका साथै द्रुततर सूचना सङ्कलन तथा द्रुत अनुगमन टोलीको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।
अध्यक्ष मगरले यसअघि आयोगले गत ११ र १२ गते उम्मेदवारी मनोनयनको क्रममा पनि ३० जिल्लामा अनुगमन गरेको बताउनुभयो । सो अनुगमनमा मनोनयन शान्तिपूर्ण ढङ्गले नै भएको पाइएको बताउनुभयो तर एकाध स्थानमा आचारसंहिता उल्लङ्घन भएको पाइएकाले सम्बन्धित दल र त्यसका नेतालाई आचारसंहिताको पूर्ण पालन गर्न आग्रह गरिएको आयोगका अध्यक्ष मगरले बताउनुभयो ।
आयोगले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदाय, किरियापुत्री, गर्भवती आदिलाई मतदान केन्द्रमा सहजता प्रदान गर्न, मतदाता शिक्षा प्रदान गर्न, चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न, मतदानको गोपनीयता कायम राख्न मतगणना स्थलको सुरक्षाको उचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । त्यस्तै प्रचारप्रसारको क्रममा प्रतिस्पर्धीलाई गालीगलौज बेइज्जत हुने अभिव्यक्ति नदिन, विजय जुलुसलाई संयमित र शान्तिपूर्ण बनाउनुपर्ने पनि आयोगले आग्रह गरेको छ । त्यस्तै आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषयलाई पनि समावेश गर्न, समानुपातिक समावेशी सहभागिता सुनिश्चितता गर्न तथा निर्वाचनलाई हिंसारहित र शान्तिपूर्ण बनाउन आह्वान गरेको छ ।