• १४ असार २०८१, शुक्रबार

हुम्लामा एक जना महिला मात्र अध्यक्ष पदको उम्मेदवार

blog

राजन रावत

हुुम्ला, वैशाख २१ गते ।  जिल्लाका सात वटा गाउँपालिकामध्ये एक जना मात्र महिला अध्यक्ष पदमा प्रत्यासी बन्नुु भएको छ । चङ्खेली गाउँपालिकाको अध्यक्ष पदका लागि बिमला शाहीले उम्मेदवारी दिनुु भएको हो ।

वैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट शाही गाउँपालिका अध्यक्ष पदको लागि प्रत्यासी बन्नुभएको छ । महिलालाई सजिलै पदाधिकारीमा जिम्मेवारी दिन आनाकानी भइरहेकाबेला शाहीलाई एमालेले बिश्वास गरी सो पदमा उम्मेदवार बनाएको छ । 

शिक्षण पेशाबाट उहाँ राजनीतिमा होमिनुु भएको हो । खाफ्नो चाहना सामाजिक काम गर्ने रहेकाकारण पार्टीकै सल्लाहमा अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुुभयो । हिम्मत आँट भएकैकारण आफुु अध्यक्ष पदको उम्मेदवार भएको उहाँको भनाई छ । 

महिला हक अधिकारीका लागि आवाज उठाउनु र अघिल्लो उपाध्यक्षको कार्यकालमा गर्न नसकिएको बाचाहरु पुरा गर्न आफ्नो उम्मेदवारी रहेको शाहीले दावी गर्नुभयो । गठबन्धन दलहरुले एक जना महिलालाई मात्र उपाध्यक्ष पदमा उम्मेदवार बनाएकोबेला शाही प्रतिपक्षी दलको तर्फबाटअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । 

महिलामाथि धेरै बिभेद र हिंसा भइरहेकाले त्यसबिरुद्ध आवाज उठाउन पनि आफ्नो अध्यक्ष पदमा उम्मेदवारी रहेको उहाँले बताउनुुभयो । उहाँकाबिरुद्ध गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का गोबिन्द शाही र स्वतन्त्रबाट प्यारीलाल शाही चुनावी मैदानमा हुनुहुन्छ । अन्य छ वटा गाउँपालिकामा भने जिल्लाका अन्य राजनीतिक दलहरुले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छैन । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा शाही उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचिन हुनुुभएको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिन उहाँले उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।