• २२ साउन २०८१, मङ्गलबार

बाढीले राजधानीकै बस्ती डुबानमा

blog

काठमाडौँ, साउन १७ गते । काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश नदी र खोला किनार अतिक्रमण हुँदा बाढी र डुबान भएको छ । मङ्गलबार मध्यरातदेखि परेको पानीको सहज निकास नहुँदा तिनै जिल्लाका नदी र खोला किनारका बस्तीमा डुबान भएको हो । 

विशेष गरी बागमती, रुद्रमती (धोबीखोला), मनोहरा, हनुमन्ते, महादेव खोला, गोदावरी खोलासहित सबै नदी खोलामा बहाव बढ्दा सयौँ घर र बस्ती डुबानमा परेका हुन् । बाढीमा परेर काठमाडौँमै एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जलस्रोतविद् दीपक ज्ञवालीले काठमाडौँ उपत्यकामा बागमती नदीसहित सबै खोलामाथि बस्ती विस्तार गर्दाको परिणामस्वरूप बहाव क्षेत्र साँघुरिएर डुबान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा बस्ती विस्तार भयो । त्यतिले पुगेन खोला किनारको बहाव क्षेत्रमै अतिक्रमण हुन थाल्यो । अहिले बाढी र डुबानबाट प्रभावित क्षेत्र हेर्दा सबैमा खोलाको बहाव क्षेत्र मिचेको देखिन्छ ।”

बाढी र पहिरोमा परेर काठमाडौँ महानगरपालिका–१४, बल्खुमा ४५ वर्षीय रामस्वरूप महतरा तथा भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ मा रमेश थारू र श्यामकुमार थारूको मृत्यु भएको छ । बाढी र डुबानमा परी काठमाडौँ टोखा नगरपालिका–९ मा मनीषा बुढाथोकी र भोजपुरको साल्पासिलिछोमा रामकिसन थारू घाइते भएको प्रहरीले जनाएको छ । 

तिनै जिल्ला जलमग्न

यो पनि पढ्नुहोस

काठमाडौँमा बाढीः ३६ जनाको उद्धार

काठमाडौँको विभिन्न स्थान डुबानमा (फोटो फिचर)

जलमग्न काठमाडौँ : बल्खु पुलमुनी पुरुषको शव फेला

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका अनुसार बाढी र डुबानमा १४२ घर परेका छन् । पहिरोले एउटा घरमा पूर्ण र अर्को घरमा आंशिक क्षति पु¥याएको छ । धोबीखोलाको बहाव क्षेत्रसहित बागमती नदीको किनारका बस्ती डुबानमा परेका छन् । 

ललितपुर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बागमती नदी, हनुमन्ते खोला, मनोहरा खोलामा पानीको बहाव बढ्दा बागमती नदीको ललितपुरतर्फ धेरै क्षेत्रमा डुबान भएको बताउनुभयो । उहाँका अनुसार बाढीको जोखिममा परेका २४ जनाको उद्धार गरिएको छ । महालक्ष्मी नगरपालिका–९, च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको पहिलो तला डुबानमा परेको छ । भवनमा नेकपा (एमाले) को पार्टी कार्यालय छ । 

सोही ठाउँको च्यासल फुटबल मैदानमा पनि पानी पसेको छ । फुटबल मैदान बनाउँदा र उत्तरतर्फ काठमाडौँ वडा नं. ३१ कार्यालयले नदीको बहाव क्षेत्र मिचेर संरचना विस्तार गर्दा बाढीको पानी सिधै बस्तीमा पसेको हो । बाढीले शङ्खमूल, इमाडोलको किस्ट अस्पताल र पवन प्रकृति स्कुल आसपास डुबाएको छ । सानेपाको राममन्दिर, शङ्खमूल पार्क, श्रमिक कान्ति कलेज, ननस्टप बसपार्कमा बागमती नदीको बाढी पसेको छ । 

कुपण्डोलस्थित ललितपुर महानगरको १ नं. वडा कार्यालयमा पानी पसेको छ । महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा गोदावरी खोला बस्तीमा पसेको छ । प्रजिअ श्रेष्ठका अनुसार डुबानमा परेका तीन बालक, आठ महिला, १३ पुरुष गरी जम्मा २४ जनाको उद्धार गरिएको छ । 

भक्तपुरमा पनि तीन वटा खोलाले वितण्डा मच्चाएको छ । प्रजिअ रोशनीकुमारी श्रेष्ठले हनुमन्ते खोला, महादेव खोला र घट्टे खोलामा बहाव बढ्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–२, ४ र ८ डुबानमा परेको बताउनुभयो । उहाँका 

अनुसार मध्यपुर थिमिस्थित लोकन्थली मनोहरा सुकुमवासी बस्ती क्षेत्र, चाँगुनारायण नगरपालिका–१ र २ डुबानमा परेका छन् । उहाँले २० जनालाई राति नै उद्धार गरिएको र २० वटा गाडीमा क्षति पुगेको बताउनुभयो । 

उहाँले सूर्यविनायक नगरपालिका–४ मा ३५ घर, चाँगुनारायणमा ३० घर, भक्तपुर नगरपालिकामा दुई अस्पताल र चार वटा स्कुल तथा हनुमानघाट, राम मन्दिर सल्लाघारी क्षेत्र डुबानमा पर्दा २२ वटा घरमा पानी पसेको बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको बहाव क्षेत्रमा बनेका अधिकांश संरचनामा डुबान भई क्षति पुगेको छ ।”