• १४ असार २०८१, शुक्रबार

दैलेखमा नमुना मतदान, ४८ मतमा चार मत बदर

blog

कमल शर्मा
दैलेख, वैशाख २१ गते ।
स्थानीय तहको निर्वाचनका लागि नमुना मतदान गरिएको छ । बुधबार जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न डुगेश्वर गाउँपालिका–१ मा रहेका त्रिवेणी संगम माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा वडाध्यक्षका उम्मेदवारले समेत मतदान गरेका छन् । नेकपा एमालेबाट डुगेश्वर गाउँपालिका –१ म वडाध्यक्षका उम्मेदवार लोकबहादुर डाँगी र गठबन्धनबाट उम्मेदवार हुनुभएका श्याम रानाले मतदान समेत गर्नुभएको थियो ।

नमुना मतदान गर्दै वडाध्यक्षका उम्मेदवार डाँगीले मतदान शिक्षा नहुँदा बढी मत बदर हुने सम्भावना बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मतदाता शिक्षा छैन, हामी उम्मेदवार पनि दलको चुनाव चिह्नमा मात्र मत मागेका छौ कसरी हाल्ने भन्ने सिकाउन पाएका छैनौं त्यसैले पनि मतपत्र बदर हुने सम्भावना बढेको छ ।’’

त्यस्तै, अर्का वडाध्यक्षका उम्मेदवार श्याम रानाले पार्टीको सैद्धान्तिक मत हाल्ने बानी परेका नागरिकलाई गठबन्धनका उम्मेदवारलाई मत हाल्न समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी वडामा माओवादी, नेपाली काँग्रेस, एकीकृत समाजवादीबाट उम्मेदवार भएका छौं । हाम्रा चुनाव चिह्न फरक छन्, त्यसैले मत बदर हुने जोखिम बढेको छ ।’’

जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकृत मनमाया काउँचाले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा समय अभावका कारण नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको बताउनुभयो ।

‘‘विगतमा भएका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा मतपत्र कम बदर हुने हुन्थ्यो यस पटक मतदाता शिक्षा कार्यक्रम छैन,’’ उहाँले भन्नुभयो, ‘‘त्यस कारण नमुना मतदान राखिएको हो, यसले पनि धेरै कुरा सिकाएको छ  ।’’ नमुना मतदानमा ४८ जना सहभागी भएका थिए भने चार मत पूर्णरुपमा बदर र केही आंशिक बदर भएका थिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु शर्माले नमुना मतदानमा सहभागी भएकाहरूले मत खसाल्न झण्डै तीन मिनेट समय लगाएको बताउँदै नागरिकहरूलाई मतदाता शिक्षा अनिवार्य भएको बताउनुभयो ।

नमुना मतदानमा मानवअधिकारकर्मी, नागरिक समाज, कर्मचारी, पत्रकारलगायत सहभागी थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार दैलेखमा कुल एक लाख ५८ हजार ७८९ मतदाता रहेका छन् । जिल्ला भर एक सय ३६ मतदान केन्द्र र दुई सय सात मतदान स्थल रहेका छन् ।