• १३ साउन २०८१, आइतबार

गाउँमै काम, गाउँमै सीप गाउँमै दाम

blog

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख २१ गते । तुलसीपुर १९ पकर्रेका अर्जुन चौधरी ४ वर्ष  रोजगारीका क्रममा मलेसियामा बस्नुभयो । कोरोना संक्रमणका कारण स्वदेशमै फर्किएका अर्जुनलाई फेरि रोजगारीका लागि विदेश जानु परेन । अहिले उहाँलाई गाउँमै रोजगारी मात्रै दिएको छैन । काम, दाम र नाम दिएको छ ।  उहाँ जस्ता एक सय साठी जना विदेशबाट फर्किएका युवा काममा छन् । 

  बेलझुण्डी खानेपानीअन्तर्गत सहलगानी आयोजना शुरु भएपछि अहिले गाउँका अधिकांश विदेशिने युवाले गाउँमै रोजगार पाएका छन् । खानेपानी आयोजनाको काममा संयोजन गर्दै आएका मुरलीधर केसीले २०७८ मङ्सिरदेखि दैनिक एक सय साठीभन्दा बढी युवाले प्रत्यक्षरुपमा काम गर्दै आएको बताउनुभयो । 

केसीका अनुसार खानेपानी आयोजनाबाट गाउँमै कम्तिमा दुई  वर्षौसम्मका  लागि युवाले गाउँमै काम पाउनेछन् । ३१ करोड बढीको बजेटमा शुरु भएको आयोजनामा ट्याङ्की,निर्माण,पाइप लाइन बिस्तारका काम भइरहेका छन् । केसीका अनुसार श्रमअनुसारको दैनिक खाना खाएर ६५० रुपियाँदेखि १२ सय रुपियाँसम्म पारिश्रमिक पाइरहेका छन् ।

पाइप लाइन विस्तारमा काम गर्दै आउनुभएका अर्जुन चौधरीले भन्नुभयो ‘ पारिश्रमिक त पाइएकै छ, त्यसका साथै आफ्नै गाउमा खानेपानी ल्याउने त्योभन्दा बढी सीप सिक्ने काम पनि भइरहेको छ’ यहाँ काम गर्न थालेपछि पलम्बरको काम समेत सिक्न पाएका छौँ, यहाँ काम सकिए पनि गाउँघरमा धारा जोडेरै भए पनि  पैसा कमाउन सकिन्छ, चौधरीले भन्नुभयो । बेलझ्ुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडामा खानेपानी विस्तारका लागि आयोजना शुरु गरेको छ । 

चमइ सोता जल उपभोक्ता संस्थाका अध्यक्ष दूर्गाबहादुर खत्रीले गाउँमा विकासका आयोजना शुरु भएपछि श्रमिक पाउन गाह्रो भएको बताउनुहुन्छ । खत्रीले भन्नुभयो ‘गाउँको कुलो पक्की गर्नुपर्ने छ, ठेकेदारले श्रमिक खोजिदिनुस् भन्नुहुन्छ, कोही नै छैनन्, पन्ध्र दिन अघि नै सक्नुपर्ने काम श्रमिककै अभावका कारण समस्या भइरहेको छ’ । गाउँमा युुवा छैनन् भएका जत्ति खानेपानीको काममै छन्, यहाँ कुलो पक्की गर्नुछ, बाँध पनि बनाउनु छ श्रमिक नै छैनन्, खत्रीले भन्नुभयो । पोहोर पनि कुलो पक्की बनाउने काम गरेका थियौं, श्रमिकको यस्तो अभाव थिएन, यसपल्ट देखियो केसीले भन्नुभयो ।