• ११ मंसिर २०८१, मङ्गलबार

कोदोको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक

blog

कोदो दिवसका अवसरमा कोदो रोप्नु हुँदै कृषि तथा पशुुपन्छी विकासमन्त्री रामनाथ अधिकारी ।

ललितपुर, साउन १६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोका परिकारको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

राष्ट्रिय कृषक महासङ्घ र एग्रिकल्चर जर्नालिस्ट एसोसिएसन नेपाल (अनाज) ले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको चौथो कोदो दिवसको उद्घाटन गर्दै मन्त्री अधिकारीले खाजाका रूपमा कोदोको परिकार प्रयोग गर्न अति उपयोगी हुने बताउनुभयो । “कोदो स्वास्थ्यका लागि लाभदायक हुन्छ, कोदो खाएर हुर्किएको हो, अझै पनि गाउँमा कोदो खेती गरिरहेको छ,” मन्त्री अधिकारीले भन्नुभयो, “सबैले बाँझो खेर गएको जमिनमा खेती गर्नुहोस् ।” 

किसानलाई प्रेरित भएर कोदो खेतीमा लाग्न सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । कोदो दिवसलाई सार्वजनिक रूपमा घोषणा गर्नका लागि पहल गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । कोदोको सेवन स्वास्थ्यका लागि लाभदायक हुने हुँदा नियमित रूपमा सबैले सेवन गर्न मन्त्री अधिकारीले आग्रह गर्नुभयो । 

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले कोदोजन्य बालीको संरक्षण र प्रवर्धनका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । चार सयभन्दा बढी स्थानीय तहमा कोदो खेती र रैथाने बाली प्रवर्धन गर्न गत वर्ष एक अर्ब रकम लगानी गरिएको जानकारी दिँदै सहसचिव श्रेष्ठले यो वर्ष थप १६८ वटा स्थानीय तहमा कोदोजन्य बाली संरक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । खाद्यका लागि कृषि अभियानका संरक्षक डा. कृष्ण पौडेलले भविष्यमा कोदो मुख्य खाद्यान्नका रूपमा रहेकाले खेती विस्तार गर्दै जानुपर्ने बताउनुभयो । मुलुकमा कोदोको पर्याप्त उत्पादन गर्ने सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक रूपमा ठुलो परिमाणमा आयात भइरहेकाले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न अति आवश्यक रहेको उहाँले बताउनुभयो । कोदो पौष्टिक तत्वयुक्त भएको बाली लोप हुँदै गएपछि दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोका औषधीय गुण र अन्य पोषक तत्वले गर्दा खानपिनसम्बन्धी कोदोको प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । धान, मकै र गहुँपछिको चौथौ खाद्यान्न बालीका रूपमा रहेको कोदो बालीलाई बाँझो जमिनमा रोपेर उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो । 

सिँचाइ र उर्वरताको कमी भएको स्थानमा समेत खेती हुनुका साथै जैविक विविधताका दृष्टिले महत्व रहेकाले कोदोलाई सरकारले राष्ट्रिय बालीका रूपमा स्थापित गराउन उहाँले आग्रह गर्नुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा कोदो उत्पादन हुने क्षेत्रफल साढे दुई लाख हेक्टर छ । मन्त्रालयका अनुसार मुलुकमा वार्षिक तीन लाख टन कोदो उत्पादन हुन्छ । तराईमा कम र पहाडी तथा मध्यपहाडी जिल्लामा बढी कोदो उत्पादन हुन्छ । देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा ७५ करोड ४४ लाख ५५ हजार रुपियाँ बराबरको कोदो आयात भएको छ । आव २०७९/८० मा ७३ करोड २० लाखको कोदो आयात भएको थियो ।

राष्ट्रिय कृषक समूह महासङ्घले एक जना किसानलाई सम्मान गरेको छ । त्यस्तै कोदोमा समाचार लेख्ने पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने अनाजले घोषणा गरेको छ । सर्वोत्कृष्ट पुरस्कारबाट हिमालय दैनिकका पत्रकार लेखनाथ पोखरेल, उत्कृष्ट पुरस्कारबाट ममता थापा (अन्नपूर्ण पोष्ट) र मदन पौडेल (उज्यालो नेटवर्क) पुरस्कृत हुनुभएको छ । त्यस्तै प्रोत्साहन पुरस्कारबाट सरिता थारू, रवि थापा र प्रशान्त खड्कालाई पुरस्कृत गरिएको छ ।