हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असार ११ गते । लोमान्थाङ गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक लोमान्थाङ गाउँलाई चारैतिरबाट माटोको पर्खालको मर्मत गर्ने भएको छ । करिब छ सय वर्ष पुरानो मुस्ताङका प्रथम राजा अम पालले विसं १४९७ मा बस्तीको चारैतिर पर्खालले घेरी जनताको सुरक्षा गरेको पर्खालकै कारण माटोको सहर भनेर चिनिने लोमान्थाङलाई विश्वभरका पर्यटकहरूको आर्कषकको केन्द्र बनाउने गरी मर्मत गरिने भएको हो ।
मङ्गलबार सम्पन्न २० औं गाउँसभाको अवसरमा समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाईमा अवस्थित लोमान्थाङ आठ सय ५६ मिटर लामो र नौ मिटरको हाराहारीमा उचाई रहेको काँचो माटोले बनाइएको पर्खालको मर्मतसँगै पर्यटकलाई आर्कषित गरिने गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि ३२ करोड ६० लाख बराबरको बजेट ल्याएको छ ।
गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले चालु खर्चतर्फ ११ करोड ७४ लाख ६३ हजार र पूँजीगततर्फ २० करोड ८५ लाख ८७ हजार रुपियाँ प्रस्ताव गर्नुभएको छ । गाउँपालिकाको विषयगत समितितर्फ आर्थिक विकास २ करोड ६३ लाख, सामाजिक विकास तर्फ चार करोड ३९ लाख ५५ हजार, पूर्वाधारतर्फ आठ करोड १२ लाख ५० हजार, सुशासन तर्फ एक करोड २८ लाख, तीन हजार र विपद्मा ४१ लाख रहेको छ ।
गाउँपालिकाले जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा फस्टाउन थालेको स्याउ खेतीमा आर्कषित गर्न माटो सुहाउँदो प्रजातिको स्याउ विरुवा वितरणमा ३० लाख, स्थानीयस्तरमा उत्पादन हुने आलु, फाँपरको बजारीकरण, जाडोयाममा सहज हुने गरी एक गाउँ एक तातो कोठा बनाउने लगायत स्थानीयस्तरमा संकलन गरिएको सुझाव अनुसार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत विकाश केसीले बताउनुभयो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक तथा जनचेतनामुलक अभियान, गुम्बा, आवासीय निशुल्क छात्रबृत्ति, कला, संंस्कृतिको जर्गेना गर्ने गरी ल्याइएको नीति तथा कार्यक्रम, बजेट पारित भएको छ ।