ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ११ गते । म्याग्दीको बेनी नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्दै समृद्धि हासिल गर्ने नीति अघि सारेको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरण गर्दै कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याएको हो ।
मङ्गलबार सम्पन्न नगरपालिकाको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुरत केसीले नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई सीप, प्रविधि, अनुदान तथा सहुलियत प्रदान गरी कृषि उत्पादन वृद्धि गर्दै नगरलाई कृषिमा समृद्ध बनाउने नीति लिएको बताउनुभयो ।
बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगरप्रमुख केसीले बताउनुभयो ।
उहाँका अनुसार, वडा नम्बर १, रत्नेचौरलाई तेलहन र तरकारी बाली, वडा नम्बर २, ज्यामरुककोटलाई केरा, चिया, खाद्यान्न बाली र वडा नम्बर ३, भकिम्लीलाई सुन्तला, आलु, किवी खेती विस्तार कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तै, वडा नम्बर ४, सिंगालाई सुन्तला, तरकारी खेती, वडा नम्बर ५, पुलाचौरलाई खाद्यान्न बाली र फलफूल, वडा नम्बर ६, अर्थुङ्गेलाई दुध उत्पादन र गोलभेडा खेती, वडा नम्बर ७, बेनीलाई मासु तथा दुध उत्पादन, वडा नम्बर ८, लाई कुखुरा र अण्डा उत्पादन, वडा नम्बर ९, घतानलाई टिमुर खेती, सुन्तला, केरा र खाद्यान्न बाली र वडा नम्बर १०, पात्लेखेतलाई आलु खेती, बीउ उत्पादन र सुन्लता उत्पादन पकेट क्षेत्र घोषित गरी कार्यक्रम सञ्चालन गरिने छ ।
नगरक्षेत्र भित्रमा उपलब्ध जलस्रोतको संरक्षण, सदुपयोग र दिगो व्यवस्थापन गरी नगर क्षेत्रका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने नगरले नीति लिएको छ ।
कृषि उपजको उचित मूल्य र बजार पहुँचका लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गर्ने नीतिमा उल्लेख गरिएको छ । नगरपालिकाले आफैँले कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी सञ्चालन गर्ने नगर प्रमुख केसीले जानकारी दिनुभयो ।
नगरपालिकाले व्यवसायिक कृषकहरुको संरक्षण र सम्मान गर्ने नीतिलाई अगाडि सारेको छ । साना तथा सीमान्तकृत किसानलाई सूचिकृत गरी कृषक परिचयपत्र वितरण गर्ने नीति लिएको छ ।
बेनी नगरले आगामी आर्थिक वर्षमा पशुपन्छीपालन व्यवसाय प्रवर्धन र सम्वर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । पशु नश्लसुधार एवम् कृत्रिम गर्भाधान, आहार व्यवस्थापन तथा पशु स्वास्थ्य शिविर कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नेपाल सरकारको नीति अनुरुप बाँझो जग्गा व्यवस्थापनका लागि भूमि बैंक स्थापना तथा करार केतीको सम्भावना अध्ययन गर्ने नीति लिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । साथै कृषि पर्यटन सम्बन्धी नवप्रवर्तन कार्यक्रमहरु संचालन गर्ने नगरले नीति लिएको छ ।
नगरप्रमुख केसीले भन्नुभयो, ‘‘नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्न सक्ने प्रशस्त सम्भावनाहरु छन् । त्यसैले आगामी आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि गराउने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेका छौं ।’’
यसैगरी, बेनी नगरपालिकाले एक वडा एक पर्यटन परियोजना सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नगरपालिकाले समृद्ध पर्यटकीय बेनी नगर भन्ने नाराका साथ नगरपालिका क्षेत्र भित्रका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान गरी प्रवद्र्धनमुलक कार्यक्रमहरु सञ्चालन गरिने नीति लिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालन र पर्यटन क्षेत्रको विकासका लागि करिब दुईकरोड भन्दा बढी बजेट विनियोजन गरेको नगर उपप्रमुख ज्योती लामिछानेले जानकारी दिनुभयो । नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट मङ्गलबार साँझ सभाबाट सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।