• १३ साउन २०८१, आइतबार

योजनाका खाका लिएर घरदैलोमा

blog

सन्तोष सुवेदी

कास्की, वैशाख २१  गते ।स्थानीय तह निर्वाचन मिति नजिकिँदा पोखराको माहोल निकै तातेको छ । देशको ठूलो महानगर पोखरा हाँक्न आँटेका उम्मेदवार घरदैलोमा मतदाता भेट्न भ्याइनभ्याई छ । घरदैलोमा पुगेर जनताका समस्या बुझ्दै नेतृत्वमा पुगेर समाधान गर्ने आश्वासन दिइरहेका छन् । विभिन्न योजनाका खाका लिएर दलका नेताहरू घरदैलोमा सक्रिय छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार पोखरा महानगरपालिकाको प्रमुखमा २८ र उपप्रमुखमा ३१ जनाले उम्मेदवारी दिएका छन् । 

पाँचदलीय गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादका उम्मेदवार धनराज आचार्यले वडावडामा पुगेर आफ्नो दृष्टिकोणबारे सुनाउनुभएको छ । उहाँले जनतामाझ पुगेर पोखरा महानगरको कामलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले वडामा पुगेर अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने आश्वासन दिँदै भन्नुभयो, “सेवाग्राहीले कुनै खास कामका लागि पूरै दिन महानगर चहार्नुपर्दैन । निर्वाचित भएको तीन महिनाभित्र सेवाग्राहीले दुःख नपाऊन् भनेर मुभलेस सेवा सुरु गर्नेछौँ ।”

उहाँले पोखरालाई आधुनिक महानगर बनाउन आवश्यक पूर्वाधार, योजना र कार्यशैली विकास गरिने बताउनुभएको छ । उहाँले महानगरमा पूर्वाधारलाई प्राथमिकता दिएको सुनाउँदै भन्नुभयो, “तालदेखि तालसम्म मेट्रो चलाउने, लेकसाइडसम्म दायाँ–बायाँ इलेक्ट्रिक ट्रेन चलाउने योजना छ ।” फेवालगायत पोखराका ताल र सेती नदी संरक्षण गर्ने योजना गठबन्धन सरकारको छ । पोखरामा १० लाख पर्यटक बर्सेनि भित्र्याउने लक्ष्य लिइएको छ । उम्मेदवार आचार्यले छवटा सार्वजनिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गरिने बताउनुभयो । गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उपप्रमुखका लागि कोपिला रानाभाट उम्मेदवार हुनुहुन्छ । 

नेकपा एमालेबाट प्रमुखका उम्मेदवार कृष्ण थापा पनि घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदातासँग भेटेर महानगरका समस्या समाधानका लागि आफू लागिपर्ने भन्दै उहाँले प्रमुखमा निर्वाचित भएपछि कुनै पनि सेवा–सुविधा नलिने घोषणा गर्नुभएको छ । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखराको प्रमुख पदमा उम्मेदवार हुनुभएका थापाले आगामी चुनावमा उम्मेदवारी नदिनेसमेत घोषणा गर्नुभएको छ । 

उहाँले प्रमुखमा निर्वाचित भएपछि सुशासन कायम र भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा ध्यान दिएर अन्तर्राष्ट्रिय सहरका रूपमा विकास गर्ने घोषणा गरिएको छ । एमालेले पोखरामा पाँचवर्षे कार्यकालमा मोनो र मेट्रो रेल सञ्चालनमा ल्याउने भन्दै घोषणापत्रमा उल्लेख गर्नुभएको छ, “जेब्रा क्रसिङ, साइकल लेन, फ्लाइओभर टनेल, बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, ओभरहेड ब्रिज बनाउनुका साथै सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने र सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ ।” सो दलबाट उपप्रमुखको पदमा मञ्जुदेवी गुरुङ दोहोरिनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट प्रमुखका उम्मेदवार शङ्कर खनालले भ्रष्टाचारमुक्त समाज परिकल्पना र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकाले यसलाई हामीले अन्त्य गर्न सक्छौँ । धर्म, संस्कार र संस्कृति पनि हामी रक्षा गर्छौं ।” राप्रपाबाट उपप्रमुखमा रञ्जना सेन पौडेल (रञ्जु) हुनुहुन्छ । अटेरी अभियानमार्फत स्वतन्त्रबाट प्रमुखका उम्मेदवार गनेस पौडेलले दल केन्द्रित राजनीतिले स्थानीयस्तरमा विकास हुन नसक्ने भएकाले आफूहरूले अटेरी अभियान थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै दलमा आबद्ध नहुनूस् भनेका छैनौँ । जहाँ हुनुहुन्छ, त्यहीँबाट बेथिति र सिद्धान्तविपरीतका कार्यमा अटेरी गर्नुस ।”