• १३ साउन २०८१, आइतबार

प्रतिबद्धतासहित घरघरमा उम्मेदवार

blog

नगेन्द्र सापकोटा  

भक्तपुर, वैशाख २१ गते । स्थानीय तह निर्वाचनमा मध्यपुर थिमी नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेससहित विभिन्न दलका गरी १३ जनाले नगर प्रमुखको पदमा उम्मेदवारी दिएका छन् । यतिबेला उनीहरू निर्वाचन प्रचार अभियानमा लागेका छन् । सबै दलले आ–आफ्ना घोषणापत्र लिएर मध्यपुर थिमीलाई व्यवस्थित सहर बनाउने वाचा गरिरहेका छन् । मध्यपुर थिमी नगरपालिकामा ३६ हजार ४६७ जना मतदाता छन् ।

नेकपा (एमाले)को तर्फबाट नगर प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले यस अगाडि आफूले राम्रो काम गरेकाले पुनः आफूले नै निर्वाचन जित्ने दाबी गर्नुभयो । नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले सत्ता गठबन्धनसहितको मत प्राप्त हुने भएकाले आफूले निर्वाचन जित्ने दाबी गर्नुभयो । थिमीमा यस अगाडिका निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा पनि दुई दलबीच नै हुँदै आएको छ । 

मध्यपुर थिमीमा स्थानीय तह निर्वाचनका लागि प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापति, लोकतान्त्रिक समाजवादी पार्टीका देवीमाया खाती, नेपाल सुशासन पार्टीका भवगती चौलागार्इं, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनबाग श्रेष्ठ, नेपालका लागि नेपाली पार्टीको राजेश बाडे र स्वतन्त्र छ गरी १३ जना नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

जनचाहनाअनुरूप काम गर्छौँ

मदनसुन्दर श्रेष्ठ,

एमालेका नगर प्रमुख उम्मेदवार 

पाँच वर्षमा गरेको कामको मूल्याङ्कनमात्र गर्ने हो भने पनि आफूले सहजै निर्वाचन जित्छु । यस अवधिमा मध्यपुर थिमीमा सम्पदा निर्माण र पुनर्निर्माणका काममा ‘आइडल’ बनेर काम गरेको, नगर क्षेत्रमा ३७ वटा पाटी, २३ वटा मठमन्दिर, १५ वटा पोखरी, पाँचवटा विहार, तीनवटा दरबार, २५ वटा ढुङ्गेधारा, २० वटा इनारको पुनः निर्माण र नवनिर्माण गरेर कीर्तिमान कायम गरेका छौँ । मध्यपुर थिमीका सबै गल्लीमा ढुङ्गा छाप्ने तथा शङ्खधर, कुमारी, इन्द्रायणी पार्कलगायत १३ वटा पार्क निर्माण सम्पन्न भएका छन् । यिनै कामको मूल्याङ्कनका आधारमा नगरपालिकाले एसियन टाउन स्केप अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको स्तरोन्नति गरी अन्य अस्पतालबाट समेत बिरामी रेफर गर्ने अवस्था भएको छ । त्यस्तै नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा हालसम्मको एकमात्र पीसीआर परीक्षण गर्ने अस्पताल बनाइयो । फोहोरमैला व्यवस्थापनमा जापानी प्रविधिबाट घर–घरबाट निस्कने फोहोर गन्धरहित रूपमा व्यवस्थापन गर्ने काम भएको छ । जग्गा एकीकरण तथा बस्ती विकासमा समेत नगरपालिकाले काम अघि बढाएको छ ।  

सम्पदा सहर निर्माण गरिन्छ

सुरेन्द्र श्रेष्ठ, 

नेपाली काँग्रेसका नगर प्रमुख उम्मेदवार 

मध्यपुर थिमीको सांस्कृतिक सम्पदा पहिचान कायम राख्दै सम्पदाको सहर भनेर चिनाउनेगरी मतदातासामु मत मागिरहेका छौँ । मूर्त र अमूर्त सम्पदा संरक्षण सम्बद्र्धन गर्ने, निजी र सामुदायिक विद्यालयमा प्रविधि, बालमैत्री र अपाङ्गमैत्री बनाएर शिक्षा क्षेत्रको थप सुदृढीकरण गर्ने योजना नेपाली काँग्रेसले बनाएको छ । 

कोरियामैत्री नगर अस्पताल स्तरोन्नति गरी तीन सय श-यासम्मको अस्पताल बनाउने, नगरपालिका क्षेत्रमा ब्लड बैङ्क स्थापना गर्ने, आईसीयूसहितको एम्बुलेन्स  व्यवस्था गर्ने, एक वडा एक डाक्टर कार्यक्रम सञ्चालन गर्ने र ज्येष्ठ नागरिकलाई घरघरै पुगेर स्वास्थ्य परीक्षण गर्नेगरी काँग्रेसले मध्यपुरवासीलाई मन जित्ने प्रयास गरिरहेको छ । 

नगर क्षेत्रमा स्वच्छ खानेपानी व्यवस्था गर्ने, मेलम्चीको पानी नपुगेका थिमीका क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने व्यवस्था गर्ने, पुराना बस्ती पहिचान कायम राख्दै नयाँ बस्ती क्षेत्रमा थप व्यवस्थित बस्ती विकास गरी फोहोरो व्यवस्थापन र ढल निकासको राम्रो प्रबन्ध गर्ने योजना नेपाली काँग्रेसको छ ।