• १५ साउन २०८१, मङ्गलबार

विद्युत् प्रसारण लाइन र सुरक्षा

blog

जसरी विद्युत्गृहबाट उत्पादित विद्युत्शक्तिको क्षमता मेगावाट (मेवा) एकाइमा जनाइन्छ, त्यसरी नै खपत ऊर्जाको परिमाण उक्त विद्युत्शक्ति कति समयसम्म खपत भयो भन्ने विषय भएकाले मेगावाट घण्टा एकाइमा जनाइन्छ । त्यसै गरी प्रसारण तथा वितरण लाइन (तार) हरूको क्षमता भोल्टेजमा जनाइन्छ, जसको एकाइ भोल्ट, केभी वा किलोभोल्ट हुन्छ । यसअघि पनि भनिएको छ, उत्पादित विद्युत् लामो दुरीमा प्रसारण गर्नुपर्दा चुहावट (लस) न्यूनीकरणका लागि ट्रान्सफर्मरमार्फत विद्युत्को क्षमता (मेवा) परिवर्तन नगरी भोल्टेज अभिवृद्वि (स्टेपअप) गरिन्छ । त्यसो गर्दा करेन्ट प्रवाह घट्छ । 

अर्को लोड सेन्टर भएको ठाउँ (जहाँबाट वितरण गरिन्छ) मा भएको सबस्टेसनमा राखिएको स्टेपडाउन ट्रान्सफर्मरमार्फत यसअघि बढाएको भोल्टेजलाई घटाएर ३३ केभी वा ११ केभी वा ४०० भोल्टमा वितरण गरिन्छ । यसरी ६६ केभी र सोभन्दा माथिका विद्युत् लाइनलाई प्रसारण लाइन भनिन्छ भने ३३ केभी र मुनिका लाइनलाई वितरण लाइन भनिन्छ । 

नेपालमा हाल ६६ केभी, १३२ केभी, २२० केभी, ४०० केभीसम्मको प्रसारण लाइन छ भने विदेशतिर धेरै क्षमताको विद्युत् प्रसारण गर्दा ७६५ केभी पनि प्रचलित छ । जति बढी केभी क्षमताको लाइन हुन्छ, त्यही अनुरूप बढी क्षमता (मेगावाट) को विद्युत् त्यो तारबाट बग्न सक्छ ।  यसै सन्दर्भमा हाल निकै चर्चामा रहेका लोडसेडिङका बेला प्रयोग भएका दुई प्रकारका लाइनको छोटो परिचय यहाँ प्रस्तुत छ :

डेडिकेटेड लाइन भन्नाले विद्युत् प्राधिकरणका ग्राहक स्वयम् वा अन्य कुनै निकायको स्रोतबाट छुट्टै लाइन निर्माण भई, प्राधिकरणको सबस्टेसनबाट ग्राहकको घर/कम्पाउन्डसम्म अविछिन्न विद्युत् आपूर्ति गर्ने गरी निर्माण गरिएको लाइन बुझिन्छ । अस्पताल, विमानस्थल, दूरसञ्चार कार्यालय, सुरक्षा केन्द्रहरू, राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय, सिंहदरबार जस्ता अविच्छिन्न विद्युत् आपूर्ति आवश्यक हुने संवेदनशील स्थान/क्षेत्रमा लोडसेडिङको अवधिमा लाइन नकाटी निरन्तर डेडिकेटेड आपूर्ति गर्ने गरिन्थ्यो ।

ट्रङ्क लाइन भन्नाले एउटा सबस्टेसनबाट अर्को सबस्टेसनसम्म जोड्ने ३३ केभी वा सोभन्दा माथिल्लो क्षमताको लाइन बुझिन्छ । प्रायः औद्योगिक ग्राहकले नै यो लाइनको प्रयोग गरेका छन् ।

विद्युत् लाइनको सुरक्षाबारे विद्यमान कानुन

विद्युतीय सुरक्षाबारे नेपालमा अलग्गै कानुन नभए पनि विद्युत् नियमावली, २०५० मा यसबारे केही मापदण्ड दिइएको छ । नियमावलीको परिच्छेद–५ मा उल्लिखित मापदण्डमा देहायका विषय उल्लिखित छन् : 

  • सडकको वारपार विद्युत् लाइन लैजान परे घना बस्ती भएको ठाउँमा ११ केभीभन्दा बढी क्षमताको विद्युत् लाइन भए डबल इन्सुलेटर प्रणालीको प्रयोग गर्नुपर्ने छ । 
  • एउटै पोलबाट विभिन्न भोल्टेज लेभल लैजान परे हाई भोल्टेजको लाइनमाथि र लो भोल्टेजको लाइन तलबाट मिलाउनुपर्ने छ । ती दुई फरक भोल्टेज लेभलबिचमा कुनै प्रकारको लिकेज, चार्ज वा जोखिम नहुने गरी प्राविधिक रूपमा उपयुक्त फरक पनि कायम गर्नुपर्ने छ ।
  • विभिन्न भोल्टेज लेभलका तारहरूदेखि भुइँ (जमिन) सम्मको न्यूनतम दुरी देहायबमोजिम हुने गरी कायम गर्नु पर्छ ।

एक मिटर = ३.२८ फिट, एककेभी = १००० भोल्ट

तारदेखि भुइँसम्म हुनुपर्ने न्यूनतम उचाइ (मिटरमा)

(क) २३०/४०० भोल्टका लागि

सडक वारपार गर्दा– ५.८ मिटर, सडकछेउ– ५.५ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका स्थानमा– ४.६ मिटर

(ख) ११ केभी र ३३ केभी लाइनका लागि

सडक वारपार गर्दा– ६.१ मिटर, सडकछेउ– ५.८ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका स्थानमा– ५.२ मिटर

(ग) ६६ केभी लाइनका लागि 

सडक वारपार गर्दा– ६.४१ मिटर, सडकछेउ– ६.११ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका स्थानमा– ५.५४५ मिटर

(घ) १३२ केभी लाइनका लागि

सडक वारपार गर्दा– ७.०२ मिटर, सडकछेउ– ६.७२ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका स्थानमा– ६.११५ मिटर

(ङ) २२० केभी लाइनका लागि

सडक वारपार गर्दा– ७.८३ मिटर, सडकछेउ– ७.६३ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका स्थानमा– ७.०३ मिटर

(च) ४०० केभी लाइनका लागि

सडक वारपार गर्दा– ९.४९ मिटर, सडकछेउ– ९.४६ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका स्थानमा– ८.८६ मिटर


  • त्यसै गरी घरमाथिबाट कुनै विद्युत् लाइन लैजान पाइँदैन तर ग्यारेज, टहरा वा पर्खालमाथिबाट विद्युत् लाइन लैजान परेमा ४००/२३० भोल्टसम्मको लाइन लैजान सकिने छ । यसरी लगिएको विद्युत् लाइन ग्यारेज, टहरा वा पर्खालको सबैभन्दा अग्लो ठाउँबाट कम्तीमा तीन मिटरको दुरीमा पर्ने गरी लैजानुपर्ने छ ।
  • वितरण लाइनको तारदेखि घर वा रुखसम्म दायाँबायाँ दुवैतर्फ न्यूनतम दुरी देहायबमोजिम कायम गर्नु पर्छ : 

१. २३०/४०० भोल्टदेखि ११ केभीसम्मको भोल्टेज लाइनका लागि– १.२५/१.२५ मिटर

२. ३३ केभी लाइनका लागि– २.०/२.० मिटर

  • प्रसारण लाइनको तार तान्ने कार्य गर्दा हावाको चापले उत्पन्न हुने तारको उच्चतम मच्चाइसमेतको हिसाब गरी देहायबमोजिम तारको केन्द्रबाट दायाँबायाँ छोड्ने गरी राइट अफ वे (मार्गाधिकार) कायम गरिन्छ :

१. ६६ केभी/१३२ केभी : नौ/नौ मिटर

२. २२० केभी : १५/१५ मिटर

३. ४०० केभी : २३/२३ मिटर

उपरोक्त अनुसारको मार्गधिकार भएको जग्गाजमिन प्रसारण लाइन निर्माण गर्ने संस्था/निकायले जग्गाधनीलाई क्षतिपूर्तिस्वरूप उचित मूल्य दिने गरेको छ ।

विद्युत् नियमावली, २०५० मा माथिका अतिरिक्त देहायका विषयसमेत उल्लेख गरिएको छ । विमानस्थलतिर विद्युत् लाइन लैजान : विमानस्थलतिर विद्युत् लाइन लैजान सम्बन्धित विमानस्थल प्रमुखसँग छलफल गरी निर्णय भए अनुसार लैजानुपर्ने छ । 

विद्युत् लाइन र टेलिफोन लाइन नजिकबाट लैजान : विद्युत् लाइनको नजिकबाट टेलिफोन लाइन वा टेलिफोन लाइनको नजिकबाट विद्युत् लाइन लैजानु परेमा अनुमतिपत्र प्राप्त व्यक्ति तथा सम्बन्धित दूरसञ्चार निकायबिच आपसमा छलफल गरी विद्युत् वा टेलिफोन लाइनलाई प्राविधिक दृष्टिकोणबाट बाधा वा चार्ज नहुने गरी लैजानुपर्ने छ ।

आकाश बिजुलीबाट बचावट : अनुमतिपत्र प्राप्त व्यक्तिले सुहाउँदो ठाउँमा आकाश बिजुलीबाट हुने नोक्सानी र विद्युत्शक्तिको घटबढ हुन नदिनका लागि आकाश बिजुलीरक्षक यन्त्र वा अरू सुहाउँदो साधनको व्यवस्था गरी उक्त साधनबाट आकाश बिजुलीको भूयोजन हुने व्यवस्थासमेत गर्नुपर्ने छ । 

अदलीबदली सञ्चालन यन्त्र (चेन्ज ओभेभर स्विच) राख्नुपर्ने : आकस्मिक प्रयोगका लागि विद्युत् उत्पादन यन्त्र राख्ने प्रत्येक व्यक्तिले सो यन्त्र राख्ने ठाउँमा अनुमतिपत्र प्राप्त व्यक्तिको सल्लाह अनुसार अदलीबदली सञ्चालन यन्त्र राख्नुपर्ने छ । 

भूयोजन गर्नुपर्ने  

१. हार्ड भोल्टेज प्रसारण प्रणाली अन्तर्गत सबै प्रकारका धातुनिर्मित सपोर्टहरूलाई अविच्छिन्न अर्थ वायर प्रयोग गरी स्थायी तथा प्रभावकारी भूयोजन गर्नुपर्ने छ । 

२. प्रसारण तथा वितरण प्रणालीको सपोर्टहरूमा प्रयोग हुने स्टे वायरमा भुइँबाट तीन मिटर उचाइभन्दा घटी नहुने गरी इन्सुलेटर राख्नुपर्ने छ । 

कटआउट राख्नुपर्ने  

१. अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको घरमा जडान गरिने ऊर्जामापक यन्त्रको साथमा सुरक्षा तथा लोड लिमिटेडको हिसाबले कटआउट वा सर्किट 

ब्रेकर जडान गरी ऊर्जामापक यन्त्रसँग सिल गरी राख्नुपर्ने छ । 

२. ऊर्जामापक यन्त्रको नजिकै ग्राहकका तर्फबाट एउटा आइसोलेटिङ स्विच जडान गर्नुपर्ने छ ।

ग्राहककहाँ प्रयोग गरिने विद्युत् सामग्रीको भूयोजन  

१. ग्राहकको घरभित्र प्रयोग गरिने वाटर हिटर, वातानुकूलित यन्त्र (एयर कन्डिसनर) जस्ता उपकरण जडान भइराखेकोमा त्यस्ता उपकरणका लागि छुट्टै सुहाउँदो विद्युत् परिपथ (सर्किट) बाट विद्युत् आपूर्ति गरी भूयोजनको व्यवस्था गर्नुपर्ने छ ।

२. ग्राहककहाँ विभिन्न किसिमका धातु मिसिएका विद्युत् सामग्री प्रयोगमा ल्याउने भएमा थ्री पिन प्लग सकेट प्रयोग गर्नुपर्ने छ र यस्तो प्लग सकेट भूयोजन प्रणालीसँग जोड्नुपर्ने छ । 

३. ग्राहककहाँ जडान गरिएको भूयोजन प्रणाली प्राविधिक विधि अनुसारको हुनुपर्ने छ । 

आन्तरिक वायरिङको सुरक्षा : ग्राहकले आफ्नो आन्तरिक वायरिङको सुरक्षाका लागि राखेको विद्युत् सामान तथा वायरिङ तरिका प्रचलित प्राविधिक मापदण्डबमोजिम हुनुपर्ने छ । 

  • इन्सुलेसन भएको तार प्रयोग गर्नुपर्ने : ग्राहकको घरमा विद्युत् लाइन लैजाँदा इन्सुलेसन भएको तार प्रयोग गर्नुपर्ने छ । 
  • विद्युत्को लाइन लट्ठाबाट दिनुपर्ने  

१. ग्राहकको घरमा विद्युत् लाइन दिँदा विद्युत्को लट्ठाबाट मात्र दिनुपर्ने छ ।

२. उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए पनि इन्सुलेटेड केबुलबाट ग्राहकको घरमा विद्युत् लाइन दिनुपर्दा प्रचलित प्राविधिक मापदण्डबमोजिम सुरक्षाको व्यवस्था गरी दिनुपर्ने छ ।  

Author

ई. मदन तिम्सिना