• १७ असार २०८१, सोमबार

उम्मेदवार घरदैलोमा व्यस्त

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २१ गते । उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्दै घरदैलोमा पुग्न थालेसँगै सर्लाहीमा चुनावी रौनक बढेको छ । अहिले सबै राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मत माग्दै मतदाताको घरघरमा पुगिरहेका छन् । जिल्लाको ११ वटा नगरपालिका र नौवटै गाउँपालिकामा चुनावी माहोल तातेको छ । 

जिल्लाको प्रत्येक गाउँ बस्तीमा दलका झन्डा फह-याइएका छन् । आफ्ना उम्मेदवारलाई जिताउन स्थानीय तहदेखि जिल्ला र केन्द्रीय तहसम्मका नेतासमेत घरदैलोमा सँगसँगै हिँडिरहेका देखिन्छ । स्थानीय तह निर्वाचनबाट सर्लाहीका ११ वटा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख तथा नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित प्रत्येक वडामा एक जना वडाध्यक्ष, दुई जना खुला वडा सदस्य, एक जना महिला वडा सदस्य र एक जना दलित महिला वडा सदस्य निर्वाचित हुनेछन् । सर्लाहीका २० वटा स्थानीय तहमा दुई सय वडा छन् । 

पालिका प्रमुखमा २० जना, उपप्रमुखमा २० जना, वडाध्यक्षमा दुई सय जना, खुला वडामा सदस्य चार सय जना, महिला वडा सदस्यमा दुई सय जना र दलित महिला वडा सदस्यमा दुई सय जना गरी जिल्लामा कुल एक हजार ४० जना जनप्रतिनिधि आउँदो निर्वाचनमा निर्वाचित हुनेछन् । चुनावी प्रतिस्पर्धाका लागि जिल्लामा छ हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।