• ११ पुस २०८१, बिहिबार

वराहक्षेत्रलाई समृद्ध बनाउने अभियानमा छौँ

blog

स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसबमोजिम २०७३ सालमा स्थापना भएको यस नगरपालिकाको नाम प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्कन गरिएको छ । 

वराहक्षेत्र नगरपालिका तत्कालीन प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भरौल र वराहक्षेत्र गाविस मिलेर बनेको हो । २२२.०९ वर्गकिमी क्षेत्रफलमा रहेको नगरपालिका भौगोलिक रूपमा कोशी प्रदेशकै ठुलो नगरपालिका हो । स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका रमेश कार्की नगरप्रमुख हुनुहुन्छ । नगरप्रमुख कार्कीसँग गोरखापत्रका समाचारदाता बाबुराम कार्कीले गर्नुभएको कुराकानी :

तपाईं निर्वाचित भएको दुई वर्षको अवधि स्वयम् कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

वराहक्षेत्र नगरपालिकालाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरणतिर उन्मुख गराउन र नगरपालिकाले आत्मसात् गरेको नारा ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार’ लाई सार्थक तुल्याउने कार्यमा विगत दुई वर्ष निकै महŒवपूर्ण रह्यो । विकट क्षेत्रको विकासलाई जोड दिँदै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यमा सुधार गरेका छौँ । शिक्षा, स्वास्थ्य र सरसफाइलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ । नगरवासीमा परेको समस्याको समाधान, प्राकृतिक तथा दैवी प्रकोप नियन्त्रण, राहत, उद्धार, सार्वजनिक सम्पत्ति, खोलानालाको अतिव्रmमण रोक्ने काम भएको छ  । प्राचीन हरिद्वार चतराधाममा आयोजना भएको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सफल र सभ्य रूपमा सम्पन्न गर्न सफल भयौँ । मैले नगरप्रमुखको कार्यभार समालेदेखि नै नगरवासीको चाहना अनुसार काम गरेकै कारण गत वर्ष वराहक्षेत्र नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९१ अङ्क प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका छौँ ।

सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान कहाँ पुग्यो ?

म निर्वाचित भएर आएपछि पहिलो पटक विद्यालय अनुगमन गरेँ । विद्यालयमा पुग्दा मलाई निकै उदेक लाग्यो । त्यहीँबाट मैले सङ्कल्प गरेँ , “अब म सामुदायिक विद्यालय बनाउन अभियानकै रूपमा लागिपर्छु ।” त्यसपछि मैले नियमित रूपमा विद्यालयमा अनुगमन सुरु गरेँ । उत्कृष्ट विद्यालयलाई पुरस्कारको योजना ल्याएँ । हाल केही हदसम्म भए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढेको छ । हामी यसलाई थप बढाउन लागेका छौँ । विद्यालय अनुगमन जारी छ । शिक्षक, अभिभावकसँगको छलफल, अन्तव्रिर्mयालाई निरन्तरता दिएका छौँ । विद्यालयमा उपचारात्मक कक्षा कार्यव्रmम ल्याएका छौँ । श्रीलङ्का टप्पुमा रहेको जनता आधारभूतलाई माध्यमिक तहसम्म बनाएका छौँ । 

सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने काममा स्थानीय सरकारको पहलकदमी नपुगेको आरोप छ नि ?

हाम्रो नगरपालिका अव्यवस्थित बसोबासी तथा कोशी कटानपीडित नागरिकको बाहुल्य छ । यहाँका जनता अधिकांश कोशी कटानपीडित तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । हामीले यहाँका जनतालाई लालपुर्जा वितरणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गरिरहेका छौँ । सङ्घीय सरकार अन्तर्गतको तत्कालीन राष्ट्रिय भूमि आयोग र वन मन्त्रालयको नीति, नियम बाझिँदा लालपुर्जा वितरण सफल हुन सकिरहेको छैन । हामीले वडा नं. ७ को देवीघाट क्षेत्रमा जग्गाको निस्सा र नापीको कार्य सम्पन्न गरेका छौँ । हाम्रो चाहना यहाँका जनतालाई लालपुर्जा उपलब्ध गराउने नै हो । त्यसका लागि म अन्तिमसम्म लागि परिरहन्छु ।

बाढीपहिरोको उच्च जोखिममा नगर क्षेत्र पर्छ । त्यसका लागि के कस्तो तयारी छ ?

नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । सप्तकोशी नदीको कटान, बाढीपहिरो तथा डुबान जस्ता समस्या बर्सेनि भोगिरहनु परेको छ । 

पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोशीमा आउने बाढीले नगरपालिकाको आधाभन्दा बढी भूभागका स्थानीय त्रासमा हुन्छन् । पटनालीखोला, बाघखोला, गहनेखोला, सरधुखोला, बाहुनीखोलालगायत खोलाको कटान र बाढीबाट पनि सयौँ परिवार त्रसित हुने गरेका छन् । चतरा वराहक्षेत्र मन्दिर सडकखण्ड अन्तर्गतका धनसरखोला, रानीखोला, सत्र नम्बर, बाहुनी खोलालगायतका क्षेत्रमा पहिरोका कारण यातायात, विद्युत्, इन्टरनेटलगायतका सेवा अवरोध हुँदा स्थानीयसँगै पर्यटकलाई असुविधा तथा जोखिम हुने गर्दछ । प्राकृतिक प्रकोप कटान, बाढीपहिरो, डुबान न्यूनीकरण, जोखिम न्यूनीकरण, समस्याको समाधान, राहत, उद्धारलगायत पूर्वतयारी र योजना तर्जुमाको विषयमा नगरपालिकाले काम गर्दै आएको छ । प्रकोपबाट निम्तिने विपत्तिलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित महसुस गराउने र जोखिमलाई न्यूनीकरण गर्न नगरपालिकाले नगरस्तरीय विपत्ति व्यवस्थापन समितिमार्फत छलफल र तयारी सुरु गरेको छ । जिल्लास्तरीय विपत् व्यवस्थापन समितिमा पनि नगरको वास्तविक भौगोलिक अवस्था, जोखिमको क्षेत्र, तयारी र आवश्यक कुराको मागसमेत गरेका छौँ ।

धार्मिक पर्यटनलाई अगाडि बढाउने के छ योजना ?

वराहक्षेत्र नगरपालिकाको समृद्धिको प्रमुख आधार भनेको धार्मिक पर्यटन नै हो । वराहक्षेत्रमा रहेको वराहक्षेत्र मन्दिर दर्शन गर्न वार्षिक रूपमा लाखाँै भक्तजन आउने गर्दछन् । यसलाई व्यवस्थित तथा आकर्षित बनाउन लागिपरेका छौँ । वराहक्षेत्र मन्दिर, औलिया मठको गुरुयोजना बनाएर काम गर्दै छौँ । सङ्घीय सरकारबाट बजेट विनियोजन गराउन सफल भएका छौँ । पर्यापर्यटनलाई जोड दिने योजनास्वरूप काम भइरहेको छ । वराहक्षेत्र, धरान र रामधुनीलाई धार्मिक सर्किटका रूपमा जोड दिइने लक्ष्य छ । श्रीलङ्का टप्पुमा घरबास सेवा कार्यक्रम सञ्चालन गरिने छ । कोशी किनार क्षेत्रमा पर्यकीय गतिविधिलाई बढाउन सम्भाव्यता अध्ययन गर्ने योजना छ । ऐतिहासिक, पुरातात्त्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण संवर्धन, वराहक्षेत्र मन्दिर परिसरमा सञ्चालनमा आएका होटेललाई पर्यटनमैत्री बनाउन आतिथ्यसम्बन्धी तालिम, पर्यटन विकासका लागि रामधुनी, चतरा, वराहक्षेत्र, सूर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । पर्यकीय क्षेत्रको विकासमा चतरास्थित कोशी किनारमा सन्ध्या आरती सुरु गरिएको छ ।

किसानको समस्यालाई कसरी समाधान गर्दै हुनुहुन्छ ?

खेतीयोग्य र पशुपालनका लागि यहाँको भूभाग उपयुक्त छ । हामीले किसानलाई रासयनिक मलको अभाव हुन दिएका छैनौँ । माटो परीक्षणदेखि उन्नत जातका बिउ वितरण, उपकरण अनुदानमा वितरण गर्ने कार्य गरेका छौँ । किसानलाई आत्मनिर्भर बनाउन पशुपालक कृषकको गोठमा पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने, गोठ सुधार कार्यक्रम, उपकरण, औजार अनुदानमा प्रदान गर्ने गरेका छौँ । कृषि एम्बुलेन्स सञ्चालनमा ल्याई कृषकले उत्पादन गरेको कृषि उपजलाई सङ्कलन गरी बजारीकरण गर्ने योजना छ । फलफूल उत्पादनलाई वृद्धि गर्ने, कोशीटप्पुको जमिनको सदुपयोग गर्ने, कृषक र उद्यमी, वराहक्षेत्र नगरको साथी जस्ता कार्यक्रम अगाडि बढाउने योजना छ । प्राङ्गारिक खेती प्रवर्धन, स्थानीय उत्पादनलाई ब्रान्डिङ, कृषकलाई प्रशिक्षण, अनुभव साटासाट, सामुदायिक किसिमको खेतीलाई प्रोत्साहन, कृषि बिमा कार्यक्रम, पौरखी किसानलाई सम्मान, शीतभण्डारलाई पूर्ण रूपले सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । 

नगर अस्पतालमा के के सुधार भएको छ ?

हाल अस्पतालबाट प्रवाह हुने सेवा थपिएका छन् । २०७६ जेठ १३ गते स्थापना भएको नगर अस्पताल २०७९ सालको जेठसम्म आइपुग्दा लेखा परीक्षणको (अडिट) रिपोर्टका आधारमा आर्थिक दायित्व भुक्तानी दिन नसक्दा सेवासमेत ठप्प हुने स्थितिमा पुगेको थियो । मैले व्यवस्थापन पक्षलाई प्राथमिकतामा राखेर काम सुरु गरेपछि अस्पतालको सेवा र प्रशासन व्यवस्थापनका रूप नै फेरिएको छ । हाल अस्पतालमा सेवा थपिएका छन् भने व्यवस्थापन समितिले अस्पतालको नाममा रहेको आर्थिक दायित्व पनि तिरिसकेको छ ।  हाल अस्पतालमा २५० देखि तीन सयको सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । 

हाल अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत वर्षको ३६५ दिनै बिहान ७ देखि बेलुकी ७ बजेसम्म चिकित्सकद्वारा ओपिडी सेवा र चिकित्सकद्वारा आकस्मिक सेवालगायतका बहिरङ्ग सेवा दिँदै आएको छ । अस्पतालकै आन्तरिक स्रोतबाट फार्मेसी भवन निर्माण भएको र एमडिजिपीसहित विशेषज्ञ डाक्टर, डेन्टललगायतका अन्य सेवा थप गर्ने योजना छ । चतरा र मधुवनका अस्पतालमा सेवा विस्तारदेखि सूर्यकुण्डमा स्वास्थ्यकर्मी उपलब्ध र भवनको निर्माणको काम, कोशीपारि स्वास्थ्यकर्मी र भवनको काम भइरहेको छ भने सम्पूर्ण वडामा स्वास्थ्य संस्थाको स्तरवृद्धि र जनशक्ति व्यवस्थापनमा नगरपालिकाको योजना छ ।