• १० साउन २०८१, बिहिबार

कस्तो हो जहाजको ‘सी चेक’ ?

blog

काठमाडौँ, साउन १० गते । पोखरा विमानस्थलका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट २० तर्फ उड्ने क्रममा धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा प-यो ।

जहाज हरेक दुई वर्षमा गर्नुपर्ने विस्तृत मर्मतसम्भार ‘सी चेक’ का लागि प्राविधिक र कर्मचारीसहितको टोली बोकेर काठमाडौँबाट पोखराका लागि उडेको थियो । ९ एन एएमई (सिआरजे २००) जहाज बुधबार बिहान ११ बजे पोखराका लागि उड्नेबित्तिकै विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको हो । यो नियमित उडान थिएन । एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक उडान भनेको छ । यद्यपि जहाजमा बालकसहित एक जना सर्वसाधारण यात्रुसमेत सवार थिए । प्राविधिक उडानमा हवाई कम्पनीमा संलग्न प्राविधिकबाहेकका बाह्य सर्वसाधारण यात्रुलाई बोक्न नपाइने नियम रहे पनि सौर्य एयरलाइन्सले भने दुर्घटनामा ज्यान गुमाएका एक जना महिला र नाबालकलाई समेत आफ्नै प्राविधिक भनेर झुक्याएको छ ।

दुर्घटनामा वायुयान कम्पनीका कर्मचारी, इन्जिनियर र सर्वसाधारणसहित १९ जना रहेका थिए, जसमध्ये विमान चालकबाहेक १८ जनाको निधन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२४ को अप्रिलमा नियमित परीक्षण गरिएको उक्त जहाजसँग ११९ घण्टा उडान योग्यताको प्रमाणपत्र बाँकी रहँदै विस्तृत मर्मतसम्भार गर्न पोखराका लागि उडेको थियो । जहाजको सन् २०२५ को अप्रिल १७ सम्म उड्न पाउने अनुमति थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “५० सिट क्षमताको बम्बार्डियर सिआरजे २०० वाई ५० जहाज सबै पार्टपुर्जा खोलेर विस्तृत मर्मतसम्भार गर्न पोखराका लागि उडान भरेको थियो । उक्त परीक्षणमा जहाजका सिट हटाउनेदेखि लिएर पुर्जा र तारको पनि सूक्ष्म परीक्षण गरिन्छ ।”

प्राधिकरणको नियम अनुसार हरेक जहाजले उडान भर्नुअघि गरिने नियमित परीक्षणसहित निश्चित घण्टा, समयचक्र, पार्टपुर्जाको अवधि र उडान अवतरण अविधिका आधारमा जहाजको चेकजाँच र हरेक दुई वर्षमा विस्तृत मर्मतसम्भार गर्नुपर्ने हुन्छ । जहाजको विस्तृत मर्मतसम्भारपछि उक्त कार्य प्राधिकरणले तोकेको मापदण्ड अनुसार भएको छ वा छैन भन्ने विषयमा जाँचबुझ गरेपछि मात्रै प्राधिकरणले उडान योग्यताको प्रमाणपत्र नवीकरण गर्छ । उडान योग्यताको समय बाँकी हुँदाहुँदै जहाज विस्तृत मर्मतसम्भारका लागि किन पोखरा गयो भन्ने प्रश्नलाई प्रस्ट पार्दै प्राधिकरणका सूचना अधिकारी भुलले भन्नुभयो, “तीन वटा जहाज रहेको सौर्यको एउटा जहाज लामो समयदेखि ग्राउन्डेड रहेको छ । हाल दुई वटा जहाजमार्फत उडान भर्दै आएको कम्पनीले अहिले वर्षाको समयमा उडान कम भएको समयलाई ध्यानमा राखेर दसँै लक्षित उडानका लागि विस्तृत परीक्षणका लागि पोखरा लैजाँदै गरेको थियो ।” 

छैटौँ किनबेचमा नेपाल 

दुर्घटनामा परेको जहाज २१ वर्ष चार महिनाअघि निर्माण गरिएको थियो । विमानबारे जानकारी दिने वेबसाइट प्लेनस्पटर्स् डटनेटका अनुसार मोन्ट्रिओलमा २१ वर्ष चार महिनाअघि निर्माण भएको यो जहाज विभिन्न देशमा किनबेच हुँदै सन् २०१७ मा नेपाल भित्रिएको थियो । सन् २००३ को अप्रिलमा बम्बार्डियरले निर्माण गरेको यो जहाज सर्वप्रथम सन्‌ २००३ मेमा अमेरिकी वायुसेवाप्रदायक कम्पनी एट्लान्टिक कोस्ट एयरलाइन्सले किनेको थियो । त्यसपछि सन् २००४ अगस्टमा एट्लान्टिक कोस्ट एयरलाइन्सले अमेरिकाकै इन्डिपेन्डेन्स एयरलाई सो विमान बेचेको थियो ।

इन्डिपेन्डेन्स एयरबाट सन्‌ २००७ जुनमा नाइजेरियाको अरिक एयरले किनेको यो जहाज सन्‌ २००८ अप्रिलसम्म उडाएर सन् २००८ मा दक्षिण अफ्रिकाको एसए एक्प्रेसलाई बेचेको थियो । त्यसपछि सन्‌ २०१७ को जनवरीमा पुनः अमेरिकाको एरोलिजले किनेको जहाज २०१७ मार्चमा सौर्य एयरलाइन्सले नेपाल भित्र्याएको थियो । सौर्य एयरलाइन्सले यही एउटा विमानबाट आन्तरिकतर्फ काठमाडौँबाट भद्रपुर र विराटनगरमा दैनिक तीन उडान भर्दै आएको थियो ।

विमानमा समस्या नभएको दाबी

सौर्य एयरलाइन्सका संस्थापक दीपक पोखरेलले दुर्घटनामा परेको विमानमा कुनै जटिल प्राविधिक समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सी चेकका लागि एक घण्टा मात्रै बाँकी रहँदा पनि लिएर जान सकिन्थ्यो । एक महिनासम्म उडान भरेर जाँदा पनि हुने थियो । तर हामीले अझै सुरक्षित होस् भन्ने उद्देश्यले पहिल्यै पोखरा लान लागेका थियौँ ।”

उहाँले विमानमा समस्या भएको भए इन्जिनियरहरू नजाने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विमानको परीक्षण इन्जिनियरले गरेरमात्रै उडान अनुमति प्राप्त हुन्छ । प्रमाणीकरणपछि जहाज कप्तानले विमान लिएर जान्छन् । सात आठ जना वरिष्ठ उडान कर्मचारी आफैँ जानुभएको छ । जो इन्जिनियरले जहाज ठिक छ भनेर सर्टिफाइड गर्नुभयो, उहाँ आफैँ फ्लाइटमा हुनुहुन्थ्यो । इन्जिनियरिङ समस्या भएको भए जानुहुन्थ्यो र ! के भवितव्य आइलाग्यो ! अब अध्ययनबाट निष्कर्ष आउला ।” उहाँका अनुसार सौर्य एयरलाइन्सका तीन वटा मध्ये एउटा विमानले डेढ वर्षदेखि उडान भरेको छैन । दुर्घटनामा परेको र अर्को एउटा विमान नियमित उडान भरिरहेका थिए । २०७१ देखि सञ्चालनमा आएको सौर्य एयरले पहिले पनि आन्तरिक उडानमा जेट विमान भित्र्याएको हो । 


Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।