राजन रावत
हुम्ला, कात्तिक ७ गते । नेपाली भूमि जो पर्यटकी क्षेत्रमा प्रवेशद्धारका रूपमा रहेको सल्ली, न्यालु, टाक्चीदेखि लाप्चासम्म अघिल्लो मात्र नभएर पछिल्लो सञ्चार प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
सो क्षेत्रमा सञ्चारको व्यवस्था नहुँदा चार दिनसम्म पत्रकार महासंघ हुम्ला शाखाका सदस्यहरू आफु सम्पर्कमा रहन र आफू सम्बद्ध सञ्चार मिडियामा समाचार दिन नसकेपछि ती क्षेत्रमा सञ्चारको व्यवस्था गर्न माग गरिएको हो ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमी र यही क्षेत्रमा रहेको लाप्चामा हालसम्म सञ्चारको पहुँच नपुगेको भन्दै नेपाल पत्रकार महसङ्घ हुम्ला शाखाको चौथो बैठकले नेपाल सरकारसँग सो क्षेत्रमा सञ्चार सुबिधा पुर्याउन माग गर्ने निर्णय गरेको महासङ्घ हुम्लाका उपाध्यक्ष सुरेश परियारले बताउनुभयो । सो क्षेत्रमा हालसम्म सञ्चारको पहुँच नपुगेको कारण पर्यटकीय क्षेत्रमा गएर पनि कुनै पनि सञ्चारकर्मीले स्थलगत रूपमा आफ्ना सामग्री दिन नसक्ने अवस्था रहेको बताउँदै सरकारले जति सक्दो चाँडो न्यालु र लाप्चा क्षेत्रमा सञ्चारको पहुँच पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
नेपालको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश मात्र नदेखिने बताउँदै अरु पनि पर्यटकीय स्थल, जङ्गली जनावर, तालतलैया, झरना पनि प्रशस्त रहेकोले त्यसको प्रचारप्रसार गर्न पनि सञ्चारका पहुँच विस्तार गर्नु आवश्यक देखिन्छ । ताक्चीबाट सञ्चार सम्पर्क गर्न लिमीको जाङ गाउँमा दुई घण्टा हिँडेर जानु पर्ने वा बोलेरो जीपमा तीन हजार खर्च गर्नुपर्ने अवस्था रहेको पर्यटन व्यवसायी रामजन रावतले बताउनुभयो ।
लाप्चा पुग्ने जो कोही आन्तरिक वा बाह्य पर्यटकले प्रवेशद्धार सल्ली छिर्ने बित्तिक्कै सञ्चार सुविधाबाट बाहिरिनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले सञ्चारमन्त्री जगदिश खरेलको अगुवाईमा जसरी तिलिचो ताल क्षेत्रमा सञ्चार सुविधा पुर्याउने कार्य सुरु भएको छ, त्यसरी नै हुम्लाको लाप्चा क्षेत्रमा पनि सञ्चार सुविधा पुर्याउन आग्रह गर्नुभयो ।
लाप्चा जाने सबै क्षेत्रमा मोवाइल फोटो खिच्न, भिडियो हेर्न र खिच्नका लागि बोक्नु पर्ने जस्तो देखिएको छ । यसले गर्दा पनि सो क्षेत्रको कुनै पनि पक्षलाई प्रत्यक्ष रूपमा प्रशारण गर्न सकिने अवस्था रहेको छैन । यो क्षेत्रलाई जति सक्दो चाँडो सञ्चारको पहुँचमा जोड्न लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।