नेत्र शाही
जुम्ला, कात्तिक ७ गते । जुम्लाको पातारासीमा आगलागीबाट जलेर घर नष्ट भएको छ । पातारासी गाउँपालिका–४, डिल्लीचौरमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट स्थानीय बिन्दराम विकको दुई तले घरमा विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ । आगलागीबाट करिब १९ लाख ९० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा अन्य सम्पूर्ण घरायसी सामग्री जलेर नष्ट भएको छ ।
घरमा पालिएका चार वटा बाख्रा र दुईवटा खरायो पनि जलेको उहाँले बताउनुभयो । बिहान करिब ४:५० बजे घरबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।
आगलागी पछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब चार घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीपछि पीडित बिन्दाराम विकको परिवार घरविहीन भएको छ । हाल उहाँको परिवार छिमेकीकोमा आश्रय लिएर बसिरहेको छ । लत्ताकपडा र अन्नपात सबै जलेकाले उहाँहरुलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।