• ९ साउन २०८१, बुधबार

ऋणको पुनसंरचनापछि श्रीलङ्काको ब्याजदरमा गिरावट

blog

कोलम्बो,  साउन  ९ गते । श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।  

श्रीलङ्काको केन्द्रीय बैङ्कले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५आधार अङ्कले घटाएको जनाएको छ ।

श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रा स्फीतिको तुलनामा जूनसम्ममा मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ ।

केन्द्रीय बैङ्कले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर  घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।  

बैङ्कका अनुसार बुधवारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो ।

सन् २०२२ को बाह्य ऋणको पुनः संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो । 

गत वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैङ्कले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा ५.४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी बैङ्कले दिएको छ ।

सन् २०२२ भएको ७.३ प्रतिशतको ब्याज दर वृद्धिको रेकर्डपछि गत वर्ष अर्थतन्त्र २.३ प्रतिशतले सङ्कुचित भएको थियो । महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य तुल्याएको थियो । 

उहाँका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९  अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुहरूको मूल्य बढाउनुभएको थियो ।  रासस/एएफपी