इथियोपिया, (एडिस-अबाबा), चैत १२ गते । जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले बिहीबार जनाएको छ ।
गत मार्च-२४ को राति जिबुतीको तटमा ३२० जना आप्रवासी यात्रु बोकेको जहाज दुर्घटना भएको आइओएमले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले जिवित तथा बेपत्ता मानिसलाई सहयोग गर्न र खोजी र उद्धार प्रयास स्थानीय अधिकारीसँग मिलेर गरिरहेको बताएको छ ।
पछिल्लो त्रासदीपुर्ण घटना जिबुतीको लाल सागर तटमा रिपोर्ट गरिएका धेरै घातक दुर्घटना मध्ये एक भएको जनाइएको छ । द्वन्द्वग्रस्त यमन हुँदै मध्यपूर्व पुग्ने आशामा धेरै आप्रवासीले डुङ्गाको खतरनाक यात्रा गर्ने गरेको जनाइएको छ । रासस/सिन्ह्वा