• १२ चैत २०८२, बिहिबार

‘सदाका रसायन’ के हुन् ? किन खतरनाक ?

blog

हेलसिन्की, चैत १२ गते । दैनिक जीवनमा प्रयोग हुने धेरै सामान्य सामानमा पाइने तर शरीर र वातावरणमा सजिलै नटुट्ने रसायनलाई ‘सदाका लागि रसायन’ भनिन्छ । यिनै रसायनका कारण स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने जोखिम बढेपछि युरोपेली सङ्घ (इयू) ले तीमाथि कडा नियन्त्रणको तयारी थालेको छ ।

वैज्ञानिक रूपमा यी रसायनलाई पिएफएएस (पर-एन्ड पोलिफ्लोरोआल्किल पदार्थ) भनिन्छ । यी १० हजारभन्दा बढी प्रकारका रसायनको समूह हो, जुन नन-स्टिक भाँडा (जस्तै टेफलोन प्यान), पानी वा दाग नलाग्ने कपडा, कार्पेट, खाद्य प्याकेजिङ (जस्तै पिज्जा बक्स) जस्ता वस्तुमा प्रयोग गरिन्छ । यी रसायनको विशेषता के हो भने एक पटक वातावरण वा शरीरमा पुगेपछि सजिलै नष्ट हुँदैनन् ।

त्यसैले तिनलाई ‘सदाका लागि’ अर्थात् लामो समयसम्म रहने रसायन भनिएको हो । विज्ञका अनुसार यी पदार्थ पानी, माटो र खाना हुँदै मानव शरीरमा प्रवेश गर्छन् । शरीरभित्र प्रवेश गरेपछि पनि वर्षौंसम्म रहन सक्छन् । दीर्घकालीन रूपमा यिनको सम्पर्कमा रहँदा कलेजोमा क्षति, उच्च कोलेस्ट्रोल, प्रतिरक्षा प्रणाली कमजोर हुनु, सन्तान उत्पादनमा समस्या तथा क्यान्सरसमेत हुने जोखिम देखिएको छ ।

यही कारणले युरोपियन केमिकल्स एजेन्सी अन्तर्गतका दुई विज्ञ समितिले यी रसायनलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने निष्कर्ष निकालेका छन् । जोखिम मूल्याङ्कन समिति (आरएसी) ले त यी रसायनमाथि पूर्ण प्रतिबन्ध नै सबैभन्दा प्रभावकारी उपाय हुने जनाएको छ । तर सामाजिक-आर्थिक विश्लेषण समिति (एसइएसी) ले भने सबै क्षेत्रमा तत्काल पूर्ण प्रतिबन्ध सम्भव नहुन सक्ने भन्दै केही आवश्यक क्षेत्र जस्तै चिकित्साका लागि सीमित छुटसहित व्यापक प्रतिबन्धको सुझाव दिएको छ ।

यसै अनुसार इयुले दैनिक उपभोगका धेरै सामग्रीमा पिएफएएस प्रयोग रोक्ने तयारी गरिरहेको छ । साथै, उत्पादनमा स्पष्ट लेबलिङ र उद्योगका लागि विशेष सुरक्षा मापदण्ड लागु गर्ने योजना पनि अघि बढाइएको छ । यसअघि नै पिउने पानीमा यस्ता रसायनको मात्रा कडाइका साथ सीमित गरिएको छ भने खाद्य प्याकेजिङ र खेलौनामा पनि क्रमशः प्रतिबन्ध लागु गरिँदैछ ।

एक अध्ययन अनुसार, यदि यी रसायनको प्रयोग नियन्त्रण नगरेमा सन् २०५० सम्म युरोपमा मात्रै स्वास्थ्य र वातावरणीय क्षतिको लागत १७ खर्ब युरोसम्म पुग्न सक्छ । समग्रमा,‘सदाका रसायन’ भन्नाले त्यस्ता कृत्रिम रसायन बुझिन्छन्, जुन उपयोगी भए पनि वातावरण र मानव शरीरमा लामो समयसम्म रहिरहने र गम्भीर असर पार्ने क्षमता राख्छन् । यही कारण अहिले विश्वभर यिनको प्रयोग घटाउने वा नियन्त्रण गर्ने बहस तीव्र हुँदै गएको छ । रासस/एएफपी