• ७ साउन २०८१, सोमबार

मल वितरणमा अनियमितता

blog

कृषि कम्पनि लिमिटेड लहानको अगाडि मलखाद्यको लागि लाइनमा रहेका कृषि सहकारीका टयाक्टर र ट्रक । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, साउन ७ गते । धान रोपाइँ अन्तिम चरणमा रहेकोले यतिबेला किसानलाई मल हाल्ने चटारो भएको छ । मलको अभाव नभए पनि वितरण प्रक्रियामा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् । 

सिराहा, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु गरी चार जिल्लालाई रासायनिक मल आपूर्ति गरिरहेका कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानमा मलखाद लिनको लागि कतिले एकदिनसम्म लाइनमा बसे पनि पाएका छैना् । कतिले दुई पटकसम्म मल लग्दा मलखाद भएर पनि समस्या देखिएको कृषि सहकारी संस्था लिमिटेड लहान-१ का  सञ्चालक विशेश्वरप्रसाद यादवले गुनासो गर्नुभयो ।

उहाँका अनुसार मलखाद लिन आउने किसानहरुको दबाब खेप्न समस्या भएको छ । पुरानो सहकारीलाई मल लिन समस्या भयो तर भर्खरै गठन गरेका सहकारीहरुले धमाधम मल पाइरहेका छन् । मलखाद लिन राजनीतिक दबाब र प्रभाव देखियो । नगरपालिकाको नगरप्रमुख र गाउँपालिका अध्यक्षलाई सयाैँ बोरा रासायनिक मल किन चाहियो ? सहकारीलाई मल दिएर अनुगमन गर्ने निकायहरु स्वयं सयाैँ बोरा मल लिएर आफ्नो नजिकको सहकारीलाई दिइरहेको छ । 

यता कृषि कम्पनि लिमिटेड शाखा लहानका प्रबन्धक दीपराज पौडेलका अनसार डिएपी युरिया पोटास मलखादकाे कुनै अभाव नभए पनि वर्षापछि पूर्व पश्चिम जाने राष्ट्रिय राजमार्गको ६ लेन सडकमा नाला निर्माण कार्य भइरहेकोले पाँच दिनसम्म ढुवानी हुन नसक्दा एकैपटक मल लिन आएपछि वितरणमा समस्या भएकै हो । यसलाई सहज गर्न लागेका छौँ । सिरहा जिल्लामा ११९ वटा सहकारीबाट वितरण भइरहेको मलखादलाई व्यवस्थित गर्न पालोपालो मल लैजाने विधि अपनाउनुपर्ने विगतकै वर्षमा आलोपालो मल लैजाने प्रक्रिया ठीक थियो । त्यही प्रक्रिया अनुसार मलखाद वितरण गर्ने अनुभव भएको छ ।

अहिलेसम्म ४३११.६५० मेट्रिकटन डिएपी ३३१६ मेट्रिक टन युरिया, १९२ मेट्रिक टन पोटास बिक्री भैसकेको छ भने मौजदात रहेको ८१५.७०० मेट्रिक टन डिएपी, ८७.५०० मेट्रिक टन युरिया र १२२ मेट्रिक टन पोटास बिक्रीको क्रममा छ । 

आवश्यक्ता अनुसार मलखाद आइरहेकोले कुनै अभाव नरहे पनि वितरण प्रक्रियाको लागि सिराहामा रहेका ११९ कृषि सहकारीमध्ये पारदर्शी तरिकाले मल वितरण गरीरहेका सहकारीहरुको मनोबल उच्च बनाउनुपर्नेमा स्थानीय पालिकाहरुले सयौँ बोरा मल आफ्नो सिफारिसमा वितरण गरिरहेकोले नजिकको सहकारीहरुलाई प्राथमिकता दिइरहेको राजनीतिक दबाब र प्रभाव परिरहेको सुनिएको प्रबन्धक पौडेलले भन्दै आवश्यक जनशक्ति र स्राेत साधनको अभावले सहकारी अनुगमन गर्न नपाएको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, "स्थानीय पालिकाहरुबाट आइरहेको गुनासोलाई नसुन्ने पालिकाको कृषि शाखाहरूले पहलकदमी लिन नसकेको देखिएको छ ।"