• ३० असोज २०८२, बिहिबार

बागलुङका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ थोपा

blog

धौलागिरी आयुर्वेद अस्पताल बागलुङमा बालबालिकालाई स्वर्णविन्दु प्राशन थोपा खुवाउँदै । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज ३० गते ।
धौलागिरी आयुर्वेद अस्पताल बागलुङले बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरेको छ ।

बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु भएको ‘स्वर्णविन्दु प्राशन’ अभियान बुधबारदेखि बागलुङमा सञ्चालन गरिएको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा। शरद पन्थीले बताउनुभयो । अभियानअन्तर्गत एक वर्ष पूरा भएका बालबालिकादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाइएको हो । 

प्रमुख डा। पन्थीले स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर बनाइएको थोपा नै स्वर्णविन्दु  प्राशन भएको बताउनुभयो । उहाँले ‘स्वर्णविन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि भएको बताउनुभयो ।

“यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार रहेको छ,” उहाँले भन्नुभयो, “यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।”

स्वर्णविन्दु प्राशनको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । एक देखि पाँच वर्षसम्म वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको डा। पन्थीले बताउनुभयो ।

“बालबालिकाको दिमागको विकास हुने उमेर एकदेखि पाँच वर्षसम्म हो,” डा। पन्थीले भन्नुभयो, “त्यसैले दिमागको विकास हुँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग पुर्‍याउन स्वर्णविन्दु प्राशन थोपा खुवाइएको हो ।” बागलुङमा बुधबार चार सय बढी बालबालिकालाई स्वर्णविन्दु प्राशन थोपा खुवाइएको प्रमुख डा। पन्थीको भनाइ छ ।

नेपालको आयुर्वेद चिकित्सामा यो औषधी राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको डा। पन्थीले जानकारी दिनुभयो । ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीमा पाइने नुट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने उहाँले बताउनुभयो । स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।

बालबालिकालाई स्वर्ण प्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउँ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्या लगायतका समस्या देखिए अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन सकिने डा. पन्थीको भनाई छ । थोपा खुवाउन पुष्य नक्षत्रका दिन हुनुपर्ने भएकाले २८÷२८ दिनको अन्तरमा खुवाइने उहाँले बताउनुभयो ।