• ४ जेठ २०८१, शुक्रबार

विराटनगरमा प्रतिष्ठाको लडाइँ

blog

विराटनगर, वैशाख २० गते  । प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकमा चुनावी सरगर्मी बढेको छ । मोरङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने चर्चित तीन जना नेतालाई छक्याउँदै काँग्रेस मोरङका उपसभापतिसमेत रहेका नागेश कोइरालाले सत्तारूढ गठबन्धनबाट प्रमुख पदको टिकट हासिल गरेपछि तातिएको विराटनगरको चुनावी माहोल उच्च चर्चामा छ । तरुण तलको राजनीतिबाट मोरङ काँग्रेसको सचिव हुँदै उपसभापति बन्नुभएका कोइरालाको प्रमुख पदको प्रतिस्पर्धा र राजनीतिक छलाङले समेत महानगरमा उत्तिकै चर्चा बटुलेको छ । काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालानिकट मानिने नागेशको चुनावी दौडलाई कोइरालाको राजनीतिक प्रतिष्ठासँग समेत जोडेर यति बेला विराटनगरको प्रमुख पदको चासो र चर्चा चुलिएको हो । 

नेकपा (एमाले)बाट प्रमुख पदमा विद्यार्थी राजनीतिबाट उदाएका सागर थापा प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी, गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको उपप्रमुख पदमा रहेको उम्मेदवारीसमेतले विराटनगरमा प्रतिष्ठाको लडाइँ थप बढाएको छ । अघिल्लो निर्वाचनमा प्रमुख पदका लागि तत्कालीन सङ्घीय समाजवादी फोरमबाट लोकप्रिय आश्चर्यजनक मत हासिल गरेका उमेश यादवको प्रमुख पदका लागि  र नेकपा (माओवादी केन्द्र)बाट नेत्री नमिता न्यौपानेको उपप्रमुख पदका लागि परेको स्वतन्त्र उम्मेदवारीले समेत महानगरको निर्वाचनमा प्रभाव छाडेको छ । राप्रपाबाट प्रमुखमा प्रह्लादप्रसाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी कायम भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ७४४ जनाको उम्मेदवारीमध्ये २३ जनाको उम्मेदवारी फिर्ता भएको छ । विराटनगरमा कुल ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश १ को राजधानी विराटनगरको प्रमुख पदका लागि १६ र उपप्रमुखमा १५ जनाको उम्मेदवारी कायम गरिएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय मोरङका अनुसार विराटनगरमा यस पटक महिला ६२ हजार ६१८ र पुरुष ७० हजार ५२४ गरी कुल एक लाख ३३ हजार १४२  मतदाता छन् । 

भ्रष्टाचारमुक्त बनाउनेछु 

नागेश कोइराला, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार 

म विराटनगरमै जन्मी, हुर्की जनताको सेवकका रूपमा राजनीतिमा आएको छु । मेरो पहिलो ध्यान महानगरको बेथिति र भ्रष्टाचारमा हुनेछ । महानगरलाई यसबाट पूर्ण रूपमा मुक्त गरिनेछ । मलाई सक्षम र समृद्व विराटनगर चाहिएको छ । विराटनगरलाई शिक्षा र स्वास्थको आधार केन्द्रका रूपमा विकास गर्नु आवश्यक छ । यहाँ ऐतिहासिक सामुदायिक विद्यालय छन् जसको सुधारमा अझै थुप्रै पहल आवश्यक छ । महानगरको आफ्नै मेट्रो अस्पताल निर्माण गर्नेछौँ ।

राजनीतिक पर्यटनका रूपमा यहाँको विकास आवश्यक छ । देशमा सबैभन्दा धेरै प्रधानमन्त्रीको जन्मस्थानका रूपमा विराटनगरको राजनीतिक साख फर्काउनु आवश्यक छ । सुकुम्बासी समस्या समाधानका लागि विशेष योजना ल्याएर समाधान खोजिनेछ । विपन्न समुदायलाई ३० युनिटसम्म बिजुली निःशुल्क गरिनेछ । स्वस्थ खानेपानीका लागि महानगरवासीलाई कुनै पनि समस्या हुनेछैन । डुबानको समस्याबाट महानगरलाई स्थायी रूपमा मुक्त गरिनेछ । 

अलपत्र क्रिकेट खेल मैदानको निर्माणकार्यलाई गति दिनेछौँ । दक्ष खेलाडी उत्पादनमा महानगर सहयोगी बन्नेछ । प्राचीन इतिहासको साक्षीका रूपमा रहेको विराट राजा दरबार क्षेत्रलाई समेटेर धार्मिक पर्यटनको विकास गरिनेछ । महानगरको आफ्नै नगरबससमेत सञ्चालनमा ल्याइनेछ । 

अभियन्ताको काम गर्नेछु 

सागर थापा, नेकपा (एमाले)का उम्मेदवार 

विद्यार्थी राजनीतिबाट आएको हुनाले म महानगरवासीसँग परिचित छु । जनप्रतिनिधि शासक होइन सेवकका रूपमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । म सामाजिक जागरण र विकासको अभियन्ताका रूपमा काम गर्नेछु । महानगरलाई सुशासनको नमुना बनाउने योजनाका साथ म अघि बढेको छु । 

महŒवपूर्ण विकास अभियानमा सर्वदलीय सहमति जुटाएर अघि बढाइनेछ । बृहत् विराटनगरको गुरुयोजना तयार गरेर स्मार्ट सिटी बनाइनेछ । शिक्षा क्षेत्रको विकासका लागि विशेष योजना ल्याउनेछु । गरिब तथा विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराइनेछ । सबै वडामा महानगर स्वास्थ केन्द्र स्थापना गरिनेछ । सडक, खानेपानी, सरसफाइ र ढल निकासमा विशेष योजना बनाउनेछु । युवाका सवालमा क्षमता अभिवृद्विलगायतका काममा कार्यक्रम सञ्चालन गरिनेछ । 

साँच्चैको महानगर बनाउनेछु 

उमेश यादव, स्वतन्त्र उम्मेदवार 

मेरो जित निश्चित छ । अघिल्लो पटक मतदाता शिक्षाको अभावमा धेरै मत बदर भएको थियो तर यस पटक अवस्था फरक छ । आफ्ना छोराछोरीलाई राजनीतिमा स्थापित गराउन गठबन्धनको नाटक गरेको भनेर जनताले बुझेका छन् । उपमेयरमा तालमेल गरेर जित्ने तय भएको प्रमुख पद छाडिएको छ । 

हामी यो पटक निश्चित विजयको अवस्थामा थियौँ तर यहाँका स्थानीयको मनोभावसँग खेलबाड गरिएको छ । मैले काँग्रेसबाट राजनीति सुरु गरेको हुँ । मधेसका जनताको अपेक्षा र अधिकारको सुरक्षाका लागि मैले जनता समाजवादी पार्टी रोजेको थिएँ तर यहाँ त आफ्ना सन्तानको चिन्ता हुँदोरहेछ । 

जनताका समस्याको चिन्ता पार्टीले नगरेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको छु । विराटनगरको स्थानीय भएको र यहाँका जनताका सुख–दुःखमा सहभागी भएका कारण पनि म जित्न सक्ने आधार बनेको छ ।  मसँग ठूला त्यस्ता योजना छैनन् । मसँग मात्र विराटनगर बनाउने योजना छन् । सपना देखाउने मात्र होइन पूरा गर्ने योजना ल्याउनेछु ।

Author

धीरज दाहाल