• ४ साउन २०८१, शुक्रबार

चैते धान भित्र्याउने तयारीमा किसान

blog

ऐरावती गाउँपालिका –५ सरङबेसी फाँटमा फलेको धान । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, साउन ४ गते । यस वर्ष चैते धान पाक्न थालेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाइएका चैते धान भित्र्याउने तयारीमा किसानहरु जुटेका छन् । चैते धान यस वर्ष राम्रो फलेकाले किसानहरु उत्साहित छन् ।

“तीन वर्षदेखि निरन्तर चैते धान लगाउँदै आएको छु” प्युठान नगरपालिका –२ दाखाक्वाडीका मुक्ति पोख्रेलले भन्नुभयो, “अहिलेसम्म राम्रो उत्पादन भइराखेको छ ।” यो वर्ष पनि चैते धान राम्रो भएको र भित्र्याउने तयारीमा रहेको बताउनुभयो । चैते धान भित्र्याइसकेपछि पुनः वर्षे धान लगाउने उहाँले बताउनुभयो । 

चैते धान खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ कुलो निर्माण, कृषियन्त्रमा सहयोग, वीऊमा अनुदान उपलब्ध गराउने गरेको छ । यस वर्ष मात्र करिव एक हजार रोपनी क्षेत्रफल विस्तार भएको परियोजना प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।

जिल्लामा प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा चैते धान खेती विस्तार हुँदैआएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दैआएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानले चैते धान खेतीको प्रवर्धन गर्दै आएको छ । 

जिल्लामा ६ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । धान उत्पादन बढाउन २ हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ । धान जोनले विगत ४ वर्षदेखि चैते धानको क्षेत्र विस्तारमा कार्यक्रम गर्दैआएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । वर्खे धानभन्दा बढी फल्ने भएकाले पनि यसको क्षेत्र विस्तारमा परियोजनाले जोड दिएको उहाँको भनाइ छ । 

चैते धानका लागि चैते ५, हर्दिनाथ १ र  हर्दिनाथ ३  जातको वीऊ प्रयोग गरिएको छ  । चैते धान खेती प्रवर्धनका लागि सिँचाइ कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । यद्यपि यसवर्ष सिँचाइको समस्याले गर्दा कतिपय फाँटमा चैते धान खेती विस्तार गर्न समस्या भएको कृषकको भनाइ छ ।