• ३ साउन २०८१, बिहिबार

लक्ष्यभन्दा झण्डै पाँच अर्ब कम राजस्व सङ्कलन

blog

दमौलीस्थित आन्तरिक राजस्व कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन ३ गते । आन्तरिक राजस्व कार्यालय दमौलीले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्यको ७६.५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । कार्यालयद्वारा लक्ष्य भन्दा झण्डै पाँच अर्ब कम राजस्व सङ्कलन भएको हो । 

१५ अर्ब १० करोड लक्ष्य राखिएकोमा ११ अर्ब ५२ करोड राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय तनहुँका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीले भन्नभयो, "राजस्व विभागले एक वर्षका लागि १५ अर्ब १० करोड तोकेकोमा ११ अर्ब ५२ करोड सङ्कलन भएको छ ।"

राजस्व सङ्कलन मध्य ८० प्रतिशत सूर्य नेपाल प्रालिबाट हुने तर  अन्तः शुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा लक्ष्य अनुसारको राजस्व सङ्कलन कम भएको पराजुली बताउनुहुन्छ । युवा जनशक्ति विदेश हुँदा उत्पादनलाई बिक्री गर्न समस्या परेको र आर्थिक मन्दीले क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको पराजुलीले जानकारी दिनुभयो । 

सरकारी विकास बजेटहरु पुरा खर्च गर्न नसकेकोले आर्थिक चहलपहलमा कमी आएको उहाँले बताउनुभयो । मजदुरहरुले काम नपाउँदा उनीहरुले खर्च कटौती गरेकाले मन्दी आएको उहाँको भनाइ छ । पराजुलीले भन्नुभयो, "निर्माण क्षेत्रमा काम थोरै हुँदा, डोजर, लोडर तथा ढुवानीका समान कम चलेकाले प्रेट्रोलियम पदार्थबाट हुने राजस्वसमेत प्रभावित भएको छ भने मजदुरले काम पाएका छैनन्।"

कार्यालयका अनुसार ७८ हजार करदाता छन् जसमा व्यावसायिक २४ हजार र बाँकी व्यक्तिगत छन् । अनुत्पादक क्षेत्रमा लगानी बढी हुनु तथा युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन भएकोले समेत राजस्व सङ्कलनमा कमी आउनुको अर्को कारण भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०७९-०८०मा ११ अर्ब ७० करोड राजस्व विभागले लक्ष्य दिएकोमा १० अर्ब ८० करोड रुपियाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । यस कार्यालयको सेवा क्षेत्र तनहुँका अतिरिक्त, गोरखा, लमजुङ र मनाङमा  छ ।