• ३ साउन २०८१, बिहिबार

विकासमा छिमेकी मोडेल

blog

भुटानको विकास मोडेल, जसलाई ग्रस नेसनल ह्याप्पिनेस (जिएनएच) भनिन्छ । यो विश्वसमुदायकै ध्यानार्कषण गर्ने एक सबल माध्यम हो । दिगो विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सुशासन जिएनएचका मुख्य विषय हुन् । भुटानले कम्तीमा ६० प्रतिशत वन क्षेत्र कायम राख्ने र कार्बन नेगेटिभ हुने प्रतिबद्धता पनि गरेको छ ।

भुटान दक्षिण एसियाली भूपरिवेष्टित राष्ट्र हो । यो मुलुक नेपाल जस्तै चीन र भारतको बिचमा अवस्थित छ । भुटानलाई चट्याङको देश पनि भनिन्छ । यस देशको जनसङ्ख्या आठ लाख हाराहारी रहेको छ भने यसको क्षेत्रफल ३८,३९४ वर्ग किलोमिटर मात्र रहेको छ । भुटान संवैधानिक राजतन्त्रात्मक मुलुक हो, जसमा राजा राज्यप्रमुख र प्रधानमन्त्री सरकार प्रमुखको रूपमा रहन्छन् । वज्रयान बौद्ध धर्म राज्य धर्म हो र जे खेन्पो राज्य धर्मका प्रमुख हुन् । गङ्गखार पुनसुम भुटानको सबैभन्दा अग्लो हिमाल हो र यो विश्वको सबैभन्दा अग्लो आरोहण नभएको हिमाल पनि हो । भुटानमा हिमालय टाकिन र सुनौलो लङ्गुर विशेष जनावर हुन् । यहाँको आधिकारिक भाषा जोङ्खा हो । 

सीमित स्रोतसाधनलाई उच्चतम उपयोग गरी आर्थिक विकासको बाटोमा अगाडि लम्किरहेको देखिन्छ भुटान । भुटानको पारो भ्याली, टाइगर नेष्ट, राजधानी थिम्पु, पुनखा भ्याली, बुमथाङ भ्याली, विश्वको सबैभन्दा ठुलो बुद्ध मूर्ती, हाइड्रोपावर प्रोजेक्ट, अग्ला पहाड, जङ्गललगायत पर्यटकीय आकर्षण हुन् । करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेको भनिए पनि यहाँको अर्थतन्त्रको प्रमुख आधार जलविद्युत् हो भने दोस्रोमा पर्यटन । भुटानमा जहाँ गए पनि गुम्बा देखिन्छन् । प्राचीन गुम्बाहरूले यहाँ बौद्ध पर्यटकलाई आकर्षण गर्न सफल भएको छ । भुटानमा सबैभन्दा ठुलो कुरा राजनीतिक स्थिरता छ र आर्थिक विकासमा फड्को मार्नु सरकारको मूलमन्त्र रहेको देखिन्छ । महिला र पुरुषले कार्यालय समयमा भुटानको राष्ट्रिय पोसाक बख्खु अनिवार्य लगाउनु पर्छ, जसले गर्दा दिउँसो बाटो तथा कार्यालयमा अधिकांश मानिस बख्खुमा देखिन्छन् । यहाँका अधिकांश घर गुम्बा जस्ता देखिन्छन् । यहाँका घर जतिसुकै ठुला भए पनि प्यागोडा शैलीमा निर्माण गरिएका छन् र सबै घरमा गुम्बामा जस्तै पेन्टिङ गरिएका छन् । भुटानको मौलिक संस्कृतिको जगेर्ना र राष्ट्रप्रेम साँच्चिकै लोभलाग्दो रहेछ ।

भुटानका धेरै विशेषता नेपालसँग पनि मिल्छन् । यी दुवै देश भूपरिवेष्टित मुलुक हुन् । दुवै देश मुख्य गरी पहाडी मुलुक हुन्् र दुवै देशमा हिमाल पनि अवस्थित छन् । दुवै मुलुकमा भौगोलिक तथा हावापानीको विविधता रहेको छ । भुटानमा बहुसङ्ख्यक मानिस बौद्ध धर्म मान्छन् भने नेपालमा बहुसङ्ख्यक मानिस हिन्दु धर्म मान्दछन् तर भुटानमा हिन्दु धर्म र नेपालमा बौद्ध धर्म मान्ने समुदाय पनि उल्लेखनीय रहेका छन् । दुवै देशका लागि विविध भौगोलिक विविधतायुक्त भूगोल पूर्वाधार विकास, गरिबी न्यूनीकरण र प्राकृतिक प्रकोप व्यवस्थापनमा उस्तै उस्तै खालका चुनौती झेल्नुपर्ने अवस्था छ । तुलनात्मक रूपमा पर्यटन विविधीकरणको लाभ नेपालले बढी लिन सक्ने सम्भावना छ । नेपाल भूगोलमा पनि ठुलो छ र विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विश्वमै आठ हजारभन्दा अग्ला आठ वटा हिमालको पर्वतारोहणका साथै विविधतायुक्त भूपरिदृश्य र पर्यापर्यटकीय संरचना, धार्मिक, सांस्कृतिक विविधतायुक्त लुम्बिनी, जनकपुर, पशुपतिनाथ मन्दिरलगायतका सम्पदाको सघन उपस्थिति रहेको छ । यसका साथै जलविद्युत्को अपार सम्भावना रहेको छ । नेपालको अन्नपूर्ण सर्किटलाई वास्तवमै ट्रेकिङ सर्किटकै रूपमा विकास गर्नुपर्ने हो र यस्तै अन्य थुप्रै पदमार्गको विकास गरिनुपर्ने हो, जसबाट पर्यटकलाई बेग्लै आनन्द दिलाउन सकिने थियो र पर्यटकको नेपाल बसाइ पनि लम्ब्याउन सकिने अवसर मिल्थ्यो । नेपाल र भुटान दुवै देशको विकासको अधिक सम्भावना भनेको जलविद्युत् र पर्यापर्यटन नै हो । यसको अलावा सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनलाई पनि प्रवर्धन गर्न सकिन्छ । कतिपय विषय एक देशले अर्कोबाट अनुसरण गर्न पनि सक्छन् ।

भुटानको विकास मोडेल, जसलाई ग्रस नेसनल ह्याप्पिनेस (जिएनएच) भनिन्छ । यो विश्व समुदायकै ध्यानार्कषण गर्ने एक सबल माध्यम हो । दिगो विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सुशासन जिएनएचका मुख्य विषय हुन् । भुटानले कम्तीमा ६० प्रतिशत वन क्षेत्र कायम राख्ने र कार्बन नेगेटिभ हुने प्रतिबद्धता पनि गरेको छ । शासन प्रव्रिmयामा पनि सुशासन कायम गर्नका लागि पारदर्शिता, जवाफदेहिता र जनसहभागितमा जोड दिँदै स्वास्थ्य र शिक्षामा उल्लेखनीय सुधार गरेको देखिन्छ । भुटानले पर्यटनमा लिएको उच्च मूल्य र कम प्रभाव पर्यटन नीति विशेष खालको देखिन्छ । उक्त नीति अनुसार भुटानले पर्यटकको सङ्ख्याभन्दा पनि गुणस्तरमा जोड दिएको देखिन्छ । पर्यटन पनि प्रवर्धन गर्ने र धार्मिक, सांस्कृतिक तथा मौलिकता संरक्षणमा पनि एकैसाथ ध्यान दिएको छ । 

भुटानबाट सिक्न सकिने महìवपूर्ण विषयमा पारिस्थितिक कोरिडोरहरू निर्माण, प्राकृतिक क्षेत्रको संवैधानिक संरक्षण, आगन्तुकहरूका लागि शुल्कसहित उच्च सेवा, कम मात्र पर्यटन, समग्र राष्ट्रिय खुसी सूचकाङ्क, स्थानीय सरकारमा गैरपक्षपाती नेतृत्वको संसदीय प्रणाली र जीवनका लागि भुटानलगायत विषय छन् । कसरी सुखी हुनेभन्दा पनि कसरी खुसी हुने भन्ने मन्त्र पनि अनुकरणीय छ । सफा तथा हरियाली सडकमा गुड्ने सवारीसाधन कसैले पनि लेन मिचेको या जेब्रा व्रmसमा अल्झन खडा गरेको देखिँदैन । नरम तथा मिठो व्यवहार भुटानीको लोभलाग्दो नै देखिन्छ । पर्यटकीय सम्भावनाका हिसाबले नेपालभन्दा पछाडि रहे पनि भुटानमा विश्वका महँगा पर्यटक घुम्न जाने गर्छन् । दैनिक एक सय अमेरिकी डलर त दिगो विकास शुल्क नै तिर्नुपर्ने छ । सरकारी कामकाजमा जाँदा वा भुटान सरकारको निमन्त्रणामा जाँदा र अन्य विभिन्न तोकिएको प्रावधानबमोजिम भुटान भ्रमण गर्दा भने यो शुल्क तिर्नु नपर्ने नियम छ । यसबाट भुटानले धेरैभन्दा पनि गुणस्तरीय पर्यटकको अपेक्षा गरेको देखिन्छ । 

नेपालले पनि क्षेत्रगत हिसाबमा गुणस्तरीय पर्यटन प्रवर्धनका रणनीति तय गर्नु आवश्यक छ । पानीदेखि बिस्कुटसम्म आफैँ बोकेर आउने र नेपालमा फोहोर थुपार्ने खालको पर्यटकले नेपाललाई खासै लाभ हुँदैन । नेपालमा आइसकेपछि पर्यटकको बसाइ कसरी लम्ब्याउने र कसरी उनीहरूलाई बढीभन्दा बढी पर्यटकीय सेवा प्रदान गरी सुरक्षाको सुनिश्चित गराउने भन्नेमा ध्यान दिनु आवश्यक छ । हाम्रा हिमाल आरोहरण गरेको मात्र होइन, हेरेको पनि मूल्य लिन सक्नु पर्छ । यसका लागि आवश्यक अन्य सबै पूर्वाधारको समन्वयात्मक विकास हुनु आवश्यक छ । नेपाल र भुटानको भूअवस्थितिको कारण जलवायु परिवर्तनका मुद्दामा उठान गर्ने मूल मुद्दा पनि समान देखिन्छन् ।

Author

रघुराम पराजुली