• १३ साउन २०८१, आइतबार

बाँकेमा उम्मेदवारहरु आ–आफ्नो एजेण्डासहित मतदाताका घरघरमा

blog

घरदैलो अभियानलाई तीव्र पार्दै नेपालगञ्जमा गठबन्धनका उम्मेदवारहरु । तस्विर ः सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, वैशाख १९ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै जाँदा बाँकेमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिबद्धता लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । 

मतदाताका घर–घरमा पुगिरहेका उम्मेदवारहरुले आफूले गर्ने प्रतिबद्धता र सङ्कल्प सुनाउँदै मत मागिरहेका छन् । घरघरमा प्रचार प्रसार टोलीहरु समूह बनाएर पुग्दा गाउँ सहरमा चुनावी माहोल बढ्दै गएको छ । चोक, चौतारी र चिया पसलमा उम्मेदवारहरुबारे छलफल र बहस शुरु भएको छ । 

बाँकेका ८ वटै स्थानीय तहका उम्मेदवारहरु यतिखेर मतदातालाई फकाउन घर–घरमा पुगिरहेका छन् । स्थानीय तहको विकास र समृद्धिको मुख्य नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई रिझाउने प्रयास गरिरहेको पाइएको छ । उम्मेदवारले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तीव्रता दिएका छन् ।  

उम्मेदवारहरु समूह बनाएर घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित भएको नेपालगञ्ज ११ का इमरान जरगरले बताउनुभयो । उहाँले घरघरमा एकपछि अर्को समूह पुगेर मत मागिरहेकोले स्थानीयले सबैका कुरा ध्यानपूर्वक सुनिरहेको बताउनुभयो । 

खजुरा गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले यतिबेला गाउँघरमा चुनावी माहोलले निकै रमाइलो भैरहेको बताउनुभयो । 

उहाँले जनताले एजेण्डा माग्ने, विकासका मोडेल सोध्ने र गरेका काम समेतको लेखाजोखा माग्ने गरेकोले धेरैलाई जवाफ दिन पसिना आउने गरेको बताउनुभयो । 

नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले अहिले गाउँ सहर जताततै घरदैलो चलिरहेको जनाउँदै जनताले सबैको कुरा चाख राखेर सुनिरहेको बताउनुभयो । 

उहाँले स्थानीय तहको निर्वाचनले स्थानीय मुद्दामाथि बहस र छलफलसँगै मुद्दाको पहिचान गराउने काम पनि भैरहेको बताउनुभयो । 

जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष एवं नेपालगञ्ज उपमेयरका उम्मेदवार कमरुद्दीन राईले समय कम रहेको र २३ वटै वडामा घरदैलो तथा मतदाता भेटघाट गर्नुपरेकोले एकदिनमा दुई वटा वडामा घरदैलो अभियान चलाइरहेको बताउनुभयो । 

मतदाताका घरघरमा पुगिरहेका उम्मेदवारहरुले जनताका साना साना समस्यालाई पनि उठाउने गरेको पाइएको छ । गाउँ र टोलबस्तीका समस्यालाई उम्मेदवारहरुले निकै महत्वका साथ व्याखा गरिरहेका छन् ।