• २ साउन २०८१, बुधबार

‘प्रवासीको देश हुन्न’ माथि अन्तर्क्रिया

blog

वसन्त पराजुली

नारायणगढ साउन २ गते । प्रवासमा बसेर साहित्यमा कलम चलाइ रहेका आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ हालै बजारमा आएको कृति हो । सम्पूर्ण किताब नारायणगढले चितवनका पाठकहरू माझ ‘प्रवासीको देश हुन्न’माथि  अन्तरक्रिया गराएको छ ।

बाध्यता र रहरले  बिदेसिएका नेपाली नागरिकले  रगत पसिना बगाएर नै केही धन लाभ गरी स्वदेश फर्कन परेको र स्वदेश फर्कँदा पनि नेपालमा नेपाली पन नपाउँदा परदेशी जस्तो हुनुपरेको कथा ‘प्रवासीको देश हुन्न’ मा समेटिएकोमा वक्ताहरूले जोड दिए ।  

समालोचक तथा प्राध्यापक गायत्री श्रेष्ठले पञ्चमले प्रवासमा बसेर पनि कथामार्फत नेपाली भाषा र जनजीवन सम्झनु, गुन्द्रुक र मस्यौरा पनि सम्झनु , दसैँ, तिहार, तीज र रोदीघर सम्झनु देशप्रतिको माया दर्साउनु भएको टिप्पणी गर्नुभयो । 

“पञ्चमका कथामा मेहनत र पाखुरीको मूल्यको चर्चा छ”,उहाँले भन्नुभयो । 

कथाकार प्रा.डा. हरिहर पौडेलले देश वा परदेश जहाँ बसे पनि नेपाली नेपाली नै भएकाले परदेशमा बस्नेहरू माथि हेयका दृष्टिले हेरिने परिपाटीको अन्त हुनुपर्ने बताउनुभयो । 

“मान्छे कति बाध्यताले बिदेसिएको होला । कति ऋण नै काढेर परदेश हानिएका छन् । उनीहरूलाई परदेशी बनाउन थालियो भने नेपाली चाहिँ को हुने रु”, उहाँको प्रश्न थियो । 

उहाँले पसिना बगाउँदा बगाउँदै कतिपयले ज्यान गुमाएर बाकसमा स्वदेश फर्किन बाध्य भएका प्रसङ्ग उठान गरेर पञ्चमका कथामा प्रवासको जीवन कठिन र कहाली लाग्दो करुण विदारक देखाइएको बताउनुभयो ।

‘प्रवासीको देश हुन्न’ मा १४ वटा कथा छन् । सबै कथा युरोपको सेरोफेरोमा रहेर लेखिएको छ । लेखक पञ्चम अधिकारीले स्वदेशको याद, युवावस्थाको पुरानो सम्झना र परदेशमा आएर बुनिएको सपनामै केन्द्रित रहेर आफूले कथा तयार गरेको बताउनुभयो । 

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम साहित्यकार गोविन्दराज विनोदले प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा लागि पर्ने पञ्चम जस्ता कम प्रवासी रहेका बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार वसन्त पराजुलीले कथाकार अधिकारीको लेखन यात्राको सफलताको कामना गनुभयो । 

शिखा बुक्सले प्रकाशन गरेको ‘प्रवासीको देश हुन्न’ अघि पंचमको ‘पथिक प्रवासन’ ९२०६७० उपन्यास प्रकाशित छ ।