• १५ वैशाख २०८१, शनिबार

विकास बैङ्कहरूको नाफा पाँच अर्बभन्दा माथि

blog

काठमाडौँ, वैशाख १९ गते । मुलुकमा सञ्चालनमा रहेका १४ वटा विकास बैङ्कले पाँच अर्ब २० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेका छन् । कुल १७ मध्ये १४ वटा विकास बैङ्कको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै आधा अर्बले बढी हो । गत वर्षको सोही अवधिमा विकास बैङ्कहरूले चार अर्ब ४९ करोड ९१ हजार रुपियाँ खुद मुनाफा गरेका थिए । यसरी हेर्दा विकास बैङ्कको नाफा गत वर्षको तुलनामा आठ दशमलव ८३ प्रतिशतले बढी हो ।

मुक्तिनाथ विकास बैङ्क अगाडि

१४ विकास बैङ्कमध्ये आठवटा विकास बैङ्कले नाफा बढेको छ भने छवटाको नाफा घटेको छ । सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैङ्कले कमाएको छ भने सबैभन्दा कम नाफा कर्पोरेट डेभलपमेन्ट बैङ्कले कमाएको छ । कर्पोरेट विकास बैङ्कको नाफा ६३.५५ प्रतिशतले घटेको छ । मुक्तिनाथ विकास बैङ्कले एक अर्ब दुई करोड रुपियाँभन्दा बढी खुद नाफा गरेर अग्रता कायम गरेको हो ।

कर्पोरेट विकास बैङ्कको नाफा ७५ लाख २३ हजार रुपियाँमा सीमित भएको छ भने नारायणी विकास बैङ्कको नाफा पनि २१ लाख नौ हजार रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्पोरेट विकास बैङ्कको नाफा दुई करोड छ लाख ४२ हजार रुपियाँ थियो भने नारायणी विकास बैङ्कको नाफा ५२ लाख ५४ हजार रुपियाँ थियो ।

विकास बैङ्कका सीईओहरूको छाता संस्था विकास बैङ्कर्स एसोसिएसनका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद ढकाल मुलुकमा कोरोना सङ्क्रमणका कारण सिर्जित समस्याले गर्दा नाफाको वृद्धिमा सङ्कुचन आएको बताउनुहुन्छ । मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैङ्कले ७८ करोड ४६ लाख ९० हजार रुपियाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा गरिमाले ६७ करोड ८२ लाख ७५ हजार रुपियाँ मुनाफा आर्जन गरेको थियो ।

प्रतिशतका आधारमा महालक्ष्मी अगाडि

मुक्तिनाथ विकास बैङ्कले अङ्कका हिसाबले बढी नाफा कमाउनेको सूचीमा एक नम्बरमा परेको छ भने नाफाको प्रतिशतका आधारमा भने महालक्ष्मी विकास बैङ्क अगाडि देखिएको छ । यो वर्षको तेस्रो त्रैमाससम्म महालक्ष्मीले ७१ करोड ४२ लाख ८५ हजार नाफा आर्जन गरेको छ, जुन 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७६.९८ प्रतिशत हो । मुक्तिनाथ विकास बैङ्कको केवल १.४९ प्रतिशत हो ।तेस्रो त्रैमाससम्म ग्रिन डेभलपमेन्ट बैङ्कको नाफा ९५ लाख ७५ हजार रुपियाँ रहेको छ । जुन अघिल्लो वर्षभन्दा २३.३५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ग्रिनको नाफा ७७ लाख ६२ हजार रुपियाँ रहेको थियो । सिन्धु विकास बैङ्कको नाफा भने चार करोड ३३ लाख २६ हजार रुपियाँ  रहेको छ । जुन अघिल्ला वर्षको भन्दा २१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सिन्धुको नाफा तीन करोड ५६ लाख ८४ हजार रुपियाँ थियो । 

लुम्बिनी विकास बैङ्कको नाफा ५१ करोड छ लाख ५३ हजार रुपियाँ रहेको छ । जुन अघिल्लो वर्षभन्दा २०.५० प्रतिशतले बढी हो । लुम्बिनीको अघिल्लो वर्षको नाफा ४२ करोड ३७ लाख ९५ हजार रुपियाँ रहेको थियो ।ज्योति विकास बैङ्कको नाफा १४.४० प्रतिशतले घटे पनि बढी नाफा कमाउने बैङ्कको चौथो सूचीमा परेको छ । यस्तै कामना सेवा विकास बैङ्कको नाफा १३.९३ प्रतिशतले घटेको छ । एक्सेल डेभलपमेन्ट बैङ्कको पनि नाफा १० प्रतिशतभन्दा धेरैले घटेको छ । कामना सेवा विकास बैङ्कको नाफा पनि खुम्चिएर ५० करोड ४५ लाखमा सीमित भएको छ ।

साङ्ग्रिला विकास बैङ्कको नाफा १३.९४ प्रतिशतले वृद्धि भएर ४० करोड छ लाख रुपियाँ पुगेको छ । बैङ्कले गत आवको यो अवधिमा ३५ करोड १६ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । शाइन रेसुङ्गाको नाफा ८ प्रतिशतले बढेर ४८ करोड ४७ लाख रुपियाँ पुगेको छ ।

मितेरी विकास बैङ्कको नाफा ०.९९ प्रतिशतले घटेर १० करोड ६० लाख २१ हजार रुपियाँमा झरेको छ । मितेरीको अघिल्लो वर्ष १० करोड ७० लाख ७६ हजार रुपियाँ रहेको थियो ।ज्योति विकास बैङ्कको नाफा १४.४० प्रतिशतले घटेर ५१ करोड ५७ लाख ३२ हजार रुपियाँमा झरेको छ । गत आवको सोही अवधिमा बैङ्कको नाफा ६० करोड २५ लाख १२ हजार रुपियाँ थियो ।कामना विकास बैङ्कको नाफा १३.९५ प्रतिशतले घटेर ५० करोड ४५ लाख ३३ हजार रुपियाँमा झरेको छ । गत आवको सोही अवधिमा बैङ्कको नाफा ५८ करोड ६१ लाख ५६ हजार रुपियाँ थियो ।

बढ्यो नाफा, घट्यो सङ्ख्या

बैङ्क तथा वित्तीय संस्थाको नाफा बढ्नुमा मर्जर तथा एक्विजिसनले मद्दत पुगेको निष्कर्ष एक अध्ययनले निकालेको छ । यद्यपि विकास बैङ्कको सवालमा भने मर्जर र एक्विजिसनले गर्दा सङ्ख्यात्मक रूपमा ह्वात्तै घटाएको छ । कुनै बेला ८६ वटा विकास बैङ्क अहिले मर्जर र एक्विजिसनका कारण १७ वटामा खुम्चिन पुगेका छन् ।

नेपाल राष्ट्र बैङ्कको एक अध्ययनले बैङ्क तथा वित्तीय संस्थाबीचको मर्जर तथा एक्विजिसनले नाफा बढाउन मद्दत पुगेको निष्कर्ष निकालेको हो । राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनले मर्जरपछि बैङ्क तथा वित्तीय संस्थाको नाफा बढ्न सहयोग गरेको निष्कर्ष निकालेको हो ।


Author

भेषराज बेल्बासे