• २ साउन २०८१, बुधबार

डेंगुका बिरामीले जथाभाबी औषधी नखाऔँ

‘डेङ्गु संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’

blog

काठमाडौँ, साउन २ गते । वर्षा सुरुभएसँगै डेंगु लगायत किट जन्य रोगको जोखिम बढ्छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले वर्षाको समयमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने बताउनुहुन्छ ।

मनसुनमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण सिर्जना हुने हुँदा डेंगु सङ्क्रमणको जोखिम बढ्ने डा. चालिसेको तर्क छ ।

यो वर्ष हालसम्म ७३ जिल्लामा एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको छ । सन् २०२२ मा ५४ हजार ७८४, २०२३ मा ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि यो वर्ष अन्य वर्षको तुलनात्मकमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने आङ्कलन गरेको छ । गत वर्ष पनि मनसुनसँगै डेंगु सङ्क्रमण बढ्दै गर्दै भएको तथ्याङ्कले देखाएको छ ।

डेंगु के हो ?

डा. चालिसेका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्योदयको समय दिउँसो र घाम अस्ताउने (बेलुका) को समयमा सक्रिय हुने गर्छ ।

उहाँका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।

यसबाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा.चालिसे बताउनुहुन्छ ।

डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ  नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तन डा.चालिसेको भनाइ छ ।

एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ ।  डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगु भएको बेलामा जथाभाबी औषधीको नखान उहाँको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “डेंगु भएको बेलामा औषधी आवश्यक पर्दैन । धेरै जस्ता सङ्क्रमित ज्वरो कम गर्न प्यारासिटामोल र घरमै झेलिलो पोसिलो खानेकुरा खाएर आराम गर्दा निको हुन्छ ।”

यदि जथाभाबी औषधी खाएर हेलचेक्राई गरेको जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार गिजालगायतका शरीरका विभिन्न भागबाट रक्तस्राव हुने, अत्यधिक मात्रमा वान्ता हुने, पेट फुल्ने, दुख्ने, सास फेर्न गाह्रो हुने, बेचैनी हुने डेंगु सङ्क्रमणका जटिल स्वास्थ्य समस्या हुन् । यदि हेलचेक्राई गरेमा बिरामीको मृत्यु समेत हुने भएकाले गम्भीर समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन उहाँको सुझाव छ ।

उहाँका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउनुपर्छ ।    

घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डा खुल्डीहरु पुर्ने र घरआगन सफा राख्ने । लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने ।

डेंगु विषयमा केन्द्रित भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिलेसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद :

 भिडियो : मनोजरत्न शाही



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।