• १२ साउन २०८१, शनिबार

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

blog

तस्बिर : रासस

काठमाडौँ, असार ३० गते । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।

प्रहरीले भादिभालोको साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागूऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कका हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । 

बरामद गरिएको लागूऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ । उक्त होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कका हुँदै राति ११:२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौँ लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । “ती महिला पाँच-छ पटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भन्नुभयो, “काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।” 

पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उहाँको भनाइ छ । ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठुलो परिणामको लागूऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटक पटक नेपाल आउँदा लागूपदार्थको ओसार पसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो । रासस