• ७ साउन २०८१, सोमबार

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

blog

काठमाडौँ, असार ३०  गते । दोस्रो जनआन्दोलन (२०६२/६३) देखि करिब अनियमित जस्तै बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउने कोसिस विश्वविद्यालयले गरेको छ । 

लामो समयको कसरतपछि त्रिविले नयाँ शैक्षिक पात्रो (क्यालेन्डर) तय गरेको छ । क्यालेन्डरमा स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्ना फाराम वितरणदेखि परीक्षाको नतिजा प्रकाशनसम्मको मिति किटान गरिएको छ । उक्त क्यालेन्डरलाई विश्वविद्यालयले आवश्यक निकायबाट स्वीकृत गराएर कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । 

अध्ययन संस्थान, सङ्काय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा कार्यव्रmमलगायतका निकायमा शैक्षिक क्यालेन्डर लागु भएको वा नभएको विषयमा नियमित अनुगमन गर्न एक समिति गठन गरिने पनि विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनुभयो । 

क्यालेन्डर कार्यान्वयन गर्न नसक्ने निकायका जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्गबहादुर केसीले भन्नुभयो, “अहिले पढाइ, परीक्षा सञ्चालन तथा नतिजामा पनि दोषी छौँ । त्यो दोषबाट मुक्त हुन नयाँ क्यालेन्डर बनाएका हौँ । नयाँ क्यालेन्डरको पालना नगर्नेलाई कारबाही गर्छौं ।” 

त्रिविले स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमेस्टर प्रणाली अनुसारको क्यालेन्डर बनाएको हो । जस अनुसार वार्षिक प्रणाली अनुसार पढाइ हुने स्नातक तह प्रथम वर्षका लागि २०८१ साल साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना सञ्चालन गरिने छ भने भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुने छ ।

२०८१ को चैत चौथो हप्तामा परीक्षा फाराम खुल्ने छ र २०८२ जेठ पहिलो हप्तामा कक्षा सकिने छ भने २०८२ जेठ चौथो हप्तादेखि परीक्षा सञ्चालन हुने छन् । त्यसको नतिजा २०८२ असोजको दोस्रो हप्तामा आउने गरी शैक्षिक क्यालेन्डर बनाएको हो ।

क्यालेन्डर अक्षरस कार्यान्वयन भयो भने आगामी भदौभित्रमा स्नातक तह पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको पढाइ, परीक्षा तथा नतिजा प्रकाशन कार्य २०८४ साल असोज दोस्रो साताभित्रमा सम्पन्न हुन ेछ । यसो भएमा अहिले जस्तो चारवर्षे कोर्स सक्न छ वर्षसम्म कुर्नुपर्ने बाध्यताबाट विद्यार्थीले मुक्ति पाउने छन् । 

त्यस्तै स्नातक तह सेमेस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म भर्ना आवेदन आह्वान हुने छ । भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुने छ भने असोजदेखि कात्तिकको बिचमा विद्यार्थी भर्ना गरिने छ । मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन र माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुने छ । २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको नतिजा प्रकाशित गरिने क्यालेन्डरमा उल्लेख छ । 

स्नातकोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फाराम खुल्ने छ । पुसमा प्रवेश परीक्षा तथा भर्ना हुने छ भने माघ पहिलो सातादेखि कक्षा सञ्चालन हुने छ । चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुने छन् । २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुने शैक्षिक क्यालेन्डरमा उल्लेख छ । 

क्यालेन्डर कार्यान्वयनमा सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँदै शिक्षाध्यक्ष केसीले सबैभन्दा ठुलो सहयोग राजनीतिक दलबाट हुनुपर्ने बताउनुभयो । पछिल्लो समय २०६२/६३ मा भएको दोस्रो जनआन्दोलनका कारण त्रिविको पढाइ, परीक्षा तथा नतिजा प्रकाशनको काम प्रभावित भएको थियो । 

उक्त प्रभावको असर अहिलेसम्म जारी छ । अहिले पनि पढाइ सकिएको लामो समयसम्म परीक्षा सञ्चचालन नहुने, परीक्षा सम्पन्न भएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि एक वर्षसम्म रोकिनु तथा चारवर्षे स्नातक तहको पढाइ सम्पन्न गर्न छ वर्षसम्म कुर्नुपर्ने समस्या त्रिविमा छ । यसबिचमा परीक्षा नियन्त्रण कार्यालयले पटक पटक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काममा सुधार गर्न खोजेको भए पनि पर्याप्त कर्मचारी नपाउँदा प्रभावकारी बन्न सकेको छैन । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।