• १२ साउन २०८१, शनिबार

टेकोको भरमा साततले दरबार

blog

जीर्ण बनेको नुवाकोटको साततले दरबार ।

नमराज सुवेदी

नुवाकोट, वैशाख १९ गते । सात वर्षअघिको भूकम्पले जीर्ण अवस्थामा रहेका नुवाकोटको साततले दरबारलगायतका पुरातात्त्विक महत्त्वका सम्पदा अझै टेकोका भरमा छन् । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्ने भनिएको नुवाकोटको साततले दरबार सङ्ग्रहालय अझै टेकोको भरमा अडेको छ । 

नेपाल एकीकरण समयमा पृथ्वीनारायण शाहले साततले दरबार निर्माण गराएका थिए । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त भए पनि सो दरबार अझै पुनर्निर्माण हुन सकेको छैन ।पुरातात्त्विक सम्पदाको अवलोकनका लागि आउने पर्यटक अहिले घटेका छन् । यसबाट स्थानीय चिन्तितसमेत छन् । स्थानीय पुष्प श्रेष्ठले भन्नुभयो, “पुनर्निर्माण नहुने पो हो कि ? शङ्का बढ्न थाल्यो ।”

विदुर नगरपालिका–२ स्थित सो दरबार पुनर्निर्माणमा चिनियाँ सरकारले इच्छा देखाइसकेको भए पनि काम अघि बढ्न सकेको छैन । नुवाकोट दरबार क्षेत्र संरक्षण समितिका संयोजक पुष्कर शर्मा रिमालले भन्नुभयो, “चीनले बनाइदिने घोषणा त ग¥यो तर कोभिड–१९ का कारण चिनियाँ पुनः चीन फर्किए । अहिलेसम्म आएका छैनन् ।”

 पुरातात्त्व विभागले समेत कुनै ताकेता नगर्दा दरबारको पुनर्निर्माण अनिश्चित बनेको संयोजक रिमालले बताउनुभयो ।

भूकम्पले ढलेका पुराना घर नयाँ बने तर यहाँका दरबार र मठमन्दिर पुनर्निर्माण भएको छैन । भूकम्प क्षति पु-याएका पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरूमा २५३ वर्ष पुरानो साततले दरबारसहित लामपाटी, सेतोपाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रङ्गमहल, तलेजु भवानी मन्दिर छन् । अहिले ती सम्पदालाई फलामे टेको दिएर राखिएको छ ।

१८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका नामी कालिगड झिकाएर यो दरबार निर्माण गराउनुभएको थियो । सुरुमा यो दरबार नौतले थियो, १९९० सालको भुइँचालोले दुईतला भत्किएर साततले हुन पुगेको हो । जिल्लाको मात्र नभएर नेपाल एकीकरण र इतिहासको परिचय बनेर उभिएको यो दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र पनि हो । 

मन्दिर शैलीको यस दरबारभित्र पृथ्वीनारायण शाहको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पृथ्वीनारायण शाह र उनकी रानीले प्रयोग गरेका सामग्री तथा उनीहरूका जीवित छँदै बनेका मूर्ति छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँको वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि नुवाकोटका सम्पदाको पुनर्निर्माण थालिने जनाएको थियो तर पुनर्निर्माण प्राधिकरणको अवधि सकिए पनि काम सुरु भएको छैन । यसैबीच नुवाकोट दरबारक्षेत्र वरपरको बस्तीलाई पुरातात्त्विक शैलीमा पुनर्निर्माण गर्ने अभियान नै चलाइएको छ ।