• १० मंसिर २०८१, सोमबार

तरकारीमा विषादी व्यवस्थापन

blog

रोग किरा व्यवस्थापनका गैररासायनिक विधि पनि नभएका होइनन्, एकीकृत विधि पनि प्रयोगमा ल्याउन सकिन्छ तर यी विधिको प्रभावकारिता रसायनको भन्दा ढिलो हुने र कहिलेकाहीँ कम प्रभावकारी पनि हुन्छन् ।

‘तरकारी खानै डर भयो’

‘विषादी नहाले कृषक मर्ने, विषादी हाले उपभोक्ता’

‘कृषकलाई विषादीको विकल्प चाहियो’

‘कृषि प्राविधिक र एग्रोभेटले विषादी हाल्न सिकाएका हुन्’

माथि उल्लिखित विषय पत्रपत्रिकामा आएका समाचारका शीर्षक हुन् । सञ्चार माध्यममा कृषि क्षेत्रको यो विषयले पटक पटक प्राथमिकता पाएको छ । कहिले विषादी प्रयोगका विषय, कहिले आन्तरिक बजारमा विषादी परीक्षणको विषय, कहिले सीमा नाकामा विषादी परीक्षणको विषय । स्वच्छ खाद्य वस्तु खान पाउन सबैको नैसर्गिक अधिकार पनि हो । रासायनिक विषादी मानव स्वास्थ्य र पर्यावरणीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसप्रति धेरै चासो हुनु स्वाभाविक पनि छ । 

यी समाचारले केही प्रश्न उब्जाएका पनि छन् : के रासायनिक विषादीको प्रयोग अनिवार्य छ ? रासायनिक विषादी प्रयोगका वैकल्पिक उपाय छन् कि छैनन् ? रासायनिक विषादी प्रयोगबारे कृषक जानकार छन् कि छैनन् ? रासायनिक विषादी प्रयोगको नियमन कमजोर भएको पो हो कि ? रासायनिक विषादी प्रयोग भयो भन्दैमा तरकारी खानै नहुने हुन्छ त ? के कृषक मात्र यसमा दोषी छन् ? रासायनिक विषादीको प्रयोग घटाउने प्रयास भयो कि भएन ? यस्ता प्रश्नको जवाफ नखोजी यस समस्याको दीर्घकालीन समाधान निकाल्न सकिँदैन ।

नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ । पौष्टिक आहारासम्बन्धी चेतनाको वृद्धि, प्रविधिमा पहुँच र उत्पादन सामग्रीको उपलब्धतामा वृद्धि आदि कारणले घरायसी प्रयोगका लागि र आर्थिक उपार्जनको राम्रो स्रोत भएको कारणले व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकास पनि भएको छ । बढ्दो सहरीकरणले ताजा तरकारीको माग पनि बढाएको छ ।

नेपालमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा खेती भई करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । तरकारी उत्पादन र व्यवसायले धेरै व्यक्तिको रोजगारी सिर्जना पनि भएको छ । पछिल्ला वर्षमा युवाको आकर्षण यस पेसामा ह्वात्तै बढेको पनि छ । देशैभरिका सहर आपपासका क्षेत्रमा व्यापक रूपमा तरकारी उत्पादन हुन थालेको छ । यसले गर्दा आलु, प्याज र लसुनबाहेक अन्य ताजा तरकारीमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख छ । 

तरकारी बाली ताजा उत्पादन उपभोग गरिने र अझैभन्दा केही तरकारी त सलादका रूपमा काँचै पनि उपभोग गरिने भएकाले विषादीको प्रयोगमा संवेदनशीलता जरुरी भएको हो । 

अर्कोतर्फ तरकारीका रूपमा प्रयोग हुने बाली छोटो अवधिका कोमल खालका हुने भएकाले रोग किराको प्रकोप पनि प्रशस्त हुने गर्छ । व्यावसायिक तरकारी बाली ठुलो क्षेत्रमा एउटै बाली हुने हुँदा रोग किराको प्रकोप र असर पनि बढी हुन जान्छ । त्यसै हुनाले व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग सामान्यतः आवश्यक हुने गर्छ । कहिलेकाहीँ त रोग वा किरा नियन्त्रणका लागि यसको प्रयोग अपरिहार्य जस्तै हुन्छ । त्यसो भए रासायनिक विषादी नै छर्नै पर्छ त भन्ने प्रश्न पनि आउँछ । रोग किरा व्यवस्थापनका 

गैर रासायनिक विधि पनि नभएका होइनन्, एकीकृत विधि पनि प्रयोगमा ल्याउन सकिन्छ तर यी विधिको प्रभावकारिता रासायनको भन्दा ढिलो हुने र कहिलेकाहीँ कम प्रभावकारी पनि हुन्छन् ।

रासायनिक विषादीको असर रोग किरामा तुरुन्तै पर्ने हुनाले बालीनाली सुरक्षित राख्न कृषक अन्य विकल्पतिर नलागी सोझै रासायनिक विषादीमा नै भर पर्छन् । त्यसैले समस्या यहाँ देखिन्छ ।

नेपालको कृषि क्षेत्रमा प्रयोगका लागि आव २०२२/२३ मा करिब एक अर्ब ७० करोड बराबरको झन्डै ३४ लाख केजी विषादी नेपालमै सविन्यास र आयात भएको सरकारी तथ्याङ्कले देखाउँछ । विषादी आयातको प्रवृत्ति प्रत्येक साल बढ्दै गएको देखिन्छ । अघिल्लो आर्थिक वर्षभन्दा त यो झन्डै ७० प्रतिशत बढेको छ । नेपालमा खपत हुने विषादीको झन्डै ८० प्रतिशत तरकारीमा प्रयोग हुने र प्रदेशगत खपतका हिसाबले मुख्यतः बागमती र मधेश प्रदेशमा गरेको केही अध्ययनमा पाइएको छ । यी प्रदेशमा तरकारी खेतीमा बढ्दो व्यावसायिकरणले पनि विषादी खपत बढेको छ । कृषकमा विषादीका वैकल्पिक उपायबारे पर्याप्त जानकारी नहुनु, विषादीले वातावरण र मानव स्वास्थ्यमा पर्ने असर पारे पर्याप्त थाहा नहुनु वा भएर पनि म वा मेरो परिवारलाई केही हुने होइन क्यारे भन्ने मानसिकता बनाउनु, क्षणिक आर्थिक प्रलोभन रहनु, सुरक्षित गैर रासायनिक वा जैविक विषादी बजारमा पर्याप्त नपाइनु जस्ता कारणले गर्दा तरकारीमा रासायनिक विषादीको प्रयोग भइरहेको पाइन्छ । त्यसैले कृषकलाई दोष दिइरहनु मात्र नभई विषादीसँग सम्बन्धित अन्य विविध विषयमा पनि ध्यान दिनु जरुरी छ । ताजा तरकारीमा विषादी प्रयोग कम गराउन र स्वस्थ तरकारी उत्पादन र उपभोगका लागि गर्न सकिने केही विषय यहाँ प्रस्तुत गरिएको छ । 

व्यापक जनचेतना 

मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा कृषक, आमजनमानस उपभोक्ता, विषादी बिव्रmेता सबैमा व्यापक जनचेतना वृद्धि गर्नु आजको आवश्यकता भएको छ । आमकृषक उत्पादक मात्र नभई उपभोक्ता पनि हुन् । कृषकलाई कृषक पाठशाला, कृषक दिवस, तालिम, परीक्षण पद्धति, सञ्चार माध्यमको प्रयोग, सूचना प्रविधिको व्यापक उपयोग गरी सुसूचित गराउन पर्ने छ । मुलुकका १९ हजारभन्दा बढी विषादी बिव्रmेता कृषकलाई विषादी उपलब्ध गराउने प्रमुख एजेन्ट हुन् । त्यहाँबाट हुने गलत सिफारिस वा बिव्रmी वितरण अन्तत उपभोक्ताकहाँ पुग्छ । विषादी बिव्रmेतालाई रासायनिक विषादीका वैकल्पिक उपाय (वनस्पति जन्य र जैविक विषादी) का बारे सुसूचित गराई सोही अनुसार प्रोत्साहन गर्नुपर्ने जरुरी भएको छ । 

कुल आयात ३४ लाख केजीमध्ये करिब तीन हजार दुई सय केजी जैविक विषादी हुनु दुर्भाग्य नै हो । व्यावसायिक कृषक धेरैमा विषादीका बारेमा जानकारी भएको र जानाजान हानिकारक विषादी प्रयोग भएको अध्ययनबाट जानकारी भइसकेको छ । यसबाट या त उनीहरूलाई विषादीका विकल्पबारे थाहा छैन वा बजारमा उपलब्ध छैन वा हेलचेव्र्mयाइ गरिरहेका छन् भन्ने अर्थ आउँछ । व्यापक जनचेतनाको माध्यमबाट यस्ता विषय वस्तुलाई निराकरण गर्न सकिन्छ । यस कार्यमा सबै निकायको खास गरी स्थानीय र प्रदेश सरकारका निकाय तथा सामुदायिक संस्थाको सव्रिmयता आवश्यक हुन्छ ।

रासायनिक विषादीका विकल्पबारे अनुसन्धान 

रासायनिक विषादीका विकल्पबारे नेपालमा पर्याप्त अनुसन्धान हुन सकेको छैन । खास गरी वानस्पतिक विषादीको अवशेष धेरै कम रहने भएकाले यस्ता विषादीको अनुसन्धान र प्रवर्धन जरुरी छ । हामीकहाँ पाइने धेरै वनस्पतिमा विषजन्य पदार्थ रहेका छन् र तिनीहरूलाई कृषकस्तरमै विषादीका रूपमा तयार गर्ने विविध विधि पनि विकास गरिएका छन् तर यी सबै विधि सानो स्तरका खेतीमा मात्र सीमित रहिरहेको अवस्था छ । निश्चित मात्रा रहने गरी सविन्यासकै रूपमा तयार भएका वनस्पतिका विषादी धेरै कम छन् । बोझो, सयपत्री, सिस्नु, खिर्रो, असुरो, बकाइनो, निम, लसुन जस्ता तिता, पिरा खालका वनस्पतिहरूको प्रयोगलाई स्थानीय स्तरका सानो स्तरका पर्याप्त प्रवर्धन गर्न सकिन्छ । निम जस्ता वनस्पतिबाट तयार गरिएका विषादी पनि बजारमा उपलब्ध छन् तर तिनीहरूको उपलब्धता र प्रयोग प्रशस्त हुन सकेको छैन । यी र यस्ता वनस्पति विषादीको पर्याप्त अनुसन्धान गरी प्रवर्धन गर्ने सके हानिकारक विषादीको प्रयोगलाई घटाउन सकिन्छ । 

रासायनिक विषादीको भरपर्दो विकल्प सूक्ष्म जैविक विषादी हुन सक्छन् । विश्व बजार खास गरी अमेरिका र युरोपमा हाल जैविक विषादीको प्रयोग निरन्तर बढ्दो छ । भाइरस, ब्याक्टेरिया, ढुसी र जुकाजन्य यस्ता विषादी प्रभावकारी त छन् नै वातावरण र मानव स्वास्थ्यमा पनि कुनै हानि गर्दैनन् । यी जैविक वस्तुको सानो, मध्यम वा ठुलो स्तरका उत्पादन गरी रोग किरामा प्रयोग गरेर स्वस्थ खाद्यान्न उत्पादन गर्न सकिन्छ । नेपालमा कृषक स्तरका सामुदायिक स्रोत केन्द्रमा पनि यस्ता वस्तु सानो स्तरमा उत्पादन गरी प्रयोगमा आइरहेका छन् । केही प्रयोगशालामा जुकाजन्य र ढुसीजन्य सूक्ष्म जैविक विषादीको व्यवसायिक उत्पादन र प्रयोग भएको र भाइरस जन्य जैविक विषादी पनि प्रयोगशालामा उत्पादन गरी प्रयोगमा ल्याइएका छन् । नेपालमै ढुसीजन्य र जुकाजन्य स्थानीय जातिको पहिचान पनि गरिएका छन् । थप केही अनुसन्धान पनि भएका छन् । तर यस्ता सूक्ष्म जैविक विषादीका सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद् र अन्य अनुसन्धानका निकायमा प्राथमिकताका साथ पर्याप्त अनुसन्धान हुन नसक्दा प्रविधिको विकास हुन नसकी प्रसारमा प्रभावकारी रूपमा जान सकेको छैन । व्यावसायिक रूपमा भाइरस, ढुसी र ब्याक्टेरिया जन्य केही (७४ व्यापारिक नामका १५ प्रकारका) जैविक विषादी पञ्जीकरण भई बजारमा उपलब्ध छन् । यिनीहरूको प्रयोग प्रभावकारी हुन सकेको छैन । 

कतिपय किरा नियन्त्रण गर्न केही परजीवी र परभक्षी किराको उत्पादन गरी प्रयोग गर्ने प्रविधि पनि नभएका हैनन् । तिनीहरूलाई पनि हाम्रो अवस्थामा विकास र प्रयोग गर्न सकिएको छैन । किराको उपस्थिति र गतिविधिको जानकारीका लागि प्रयोगका लागि ल्याइएका केही यौनजन्य र अन्य होर्मोनजन्य पासो प्रयोगमा पनि केही सफलता पाइएको छ । यसको प्रयोग मात्र पनि पर्याप्त छैन । नेपालको कृषि क्षेत्रमा नै न्यून लगानी हुनु त्यसमा पनि कृषि प्रविधि विकासका न्यून लगानी हुनु, प्राथमिकतामा नपर्नु, नेपाल कृषि अनुसन्धान परिषद्मा न्यून जनशक्ति रहनु र उपलब्ध जनशक्तिको पनि प्रभावकारी परिचालन हुन नसक्नु जस्ता कारणले समग्र कृषि अनुसन्धान नै कमजोर भएको वर्तमान अवस्थामा यस खाले प्रविधि विकास पनि ओझेलमा परेको छ । कृषकलाई रासायनिक विषादीको विकल्प दिन नसक्ने हो भने यी विषादीको प्रयोग रोक्न फेरि पनि कठिनाइ हुने छ । यस्ता जैविक विषादीको अनुसन्धानमा, उत्पादन र प्रयोगमा प्रोत्साहनका प्रयास पर्याप्त आउन सकेको छैनन् । 

एकीकृत शत्रुजीव व्यवस्थापन 

बाली बिरुवाका शत्रुको व्यवस्थापनका विभिन्न उपायको एकीकृत रूपमा प्रयोग गर्ने विधि र प्रविधि कृषक र कृषिकर्मीलाई सिकाउने गरी विगत लामो समय कृषि विभागले एकीकृत शत्रुजीव व्यवस्थापन कार्यव्रmम सञ्चालन गरेको थियो । कृषक पाठशालालाई माध्यम बनाएर गरिएको बाली संरक्षण प्रविधि प्रसारको यो विधि कृषकलाई सशक्तीकरण गर्न सफल भएको पनि थियो । खास गरी कृषकलाई बालीनालीको नियमित निरीक्षण गर्न, मित्र जीवको संरक्षण गर्न र रासायनिक विषादीको अवाञ्छित प्रयोग नगर्न यो कार्यव्रmमले सिकाएको थियो, जसको प्रभावले तरकारी उत्पादनका निश्चित पकेट क्षेत्रमा रासायनिक विषादीको मात्रा घटेको पनि थियो । रासायनिक विषादीको वैकल्पिक उपायका बारेमा अनुसन्धानलाई र प्रविधि विकासमा ध्यान नदिएकाले कृषकलाई सचेत बनाए तापनि आवश्यक परेका वेला प्रयोग गर्ने वैकल्पिक उपायहरू नभएकाले रासायनिक विषादी नै अन्तिम अस्त्रको रूपमा कृषकहरूले प्रयोग भैरहेको छ । 

हाल सङ्घीय संरचनामा कृषि सङ्गठन विभाजित भइसकेपछि एकीकृत शत्रुजीव व्यवस्थापन कार्यव्रmममा पर्याप्त ध्यान जान नसकेकाले अवस्था छ । विषादीको विकल्प विकास, विषादीको उचित व्यवस्थापन र जनचेतनाका कार्यव्रmमसहितको नयाँ परियोजना सञ्चालनमा ल्याउनु पर्ने पनि आवश्यकता छ । 

अन्तिम उपाय विषादी नै हुँदा

रोग किराको नियन्त्रणका लागि अन्तिम अस्त्रको रूपमा रासायनिक विषादीको प्रयोग गर्नु कृषकको बाध्यता पनि हुन जान्छ । विषादीको उचित प्रयोग गर्न सके ताजा तरकारीमा अवशेष रहँदैन वा सुरक्षित स्तरमा रहन्छ । प्रत्येक रोग किरा नियन्त्रणका लागि प्रयोग हुने विषादी, विषादी प्रयोगको मात्रा, विषालुपना, प्रयोग विधि, प्रयोग गरेपछि पर्खने अवधि इत्यादि विषय फरक फरक हुन्छन् । सही समस्यामा सही विषादीको छनोट गरी सही मात्रामा प्रयोग गर्ने र भण्डारण गर्नु अघि पर्खनु पर्ने पूरा अवधि पर्खने गर्दा ताजा तरकारीमा अवशेष रहँदैन, उत्पादन स्वस्थ हुन सक्छ र कृषक र उपभोक्ता पनि मारमा पर्दैनन् । त्यसैले रासायनिक विषादी प्रयोग गर्न नपरे सबै भन्दा राम्रो त हँुदै हो तर रासायनिक नै भए पनि विषादी प्रयोग हँुदैमा पूरै तरकारी अखाद्य हुँदैन । 

प्राङ्गारिक तरकारी उत्पादनमा जान सकिन्छ त ?

प्राङ्गारिक तरकारी उत्पादन र उपभोगका बारेमा धेरै चर्चा छ । कृषि उत्पादन प्रणाली नै जान पर्ने दिशा त त्यही हो । प्राङ्गारिक तरकारी उत्पादन असम्भव नभए पनि व्यावसायिक उत्पादनमा अझै धेरै प्रविधि उपलब्ध छैनन् । रोग किरा व्यवस्थापनका माथि उल्लेखित वैकल्पिक उपायका अलावा रोग अवरोधी जातका विकास, क्वारेन्टाइनका व्यवस्थाको सुदृढीकरण, स्वस्थ बिउ र बिरुवाको उपलब्धता इत्यादि प्रविधिको प्रयोग गर्न सके प्राङ्गारिक उत्पादनमा जान सकिन्छ । ताजा तरकारी उत्पादनका मुख्य मुख्य क्षेत्रमा सुरुमा केही वर्षमा प्राङ्गारिक वस्तुमा सहुलियतसहितको व्यवस्था गरी प्रोत्साहन गर्न सके कृषक आकर्षित गर्न सकिन्छ । 

घरायसी खपतका उत्पादनलाई पहिला र बिस्तारै व्यावसायिक तरकारी उत्पादनलाई प्राङ्गारिक बनाउन सकिने पर्याप्त आधार पनि छन् ।

माथि व्याख्या गरिएका सबै क्षेत्रमा सरकारी र गैरसरकारी क्षेत्रबाट काम भइरहेका पनि छन् । यसमा जति प्राथमिकता दिएर काम हुन पर्ने हो त्यति हुन सकेको छैन । खास गरी यसका लागि हुन पर्ने अनुसन्धान र प्रविधि विकासमा लगानी र नियमनको न्यून क्षमताका कारण समस्या रहेको छ । विषादी व्यवस्थापनको विषय प्राविधिक मात्र होइन । नीतिगत, सामाजिक, आर्थिक र नैतिक विषय पनि हो । यो समग्र कृषि वस्तुको स्वच्छताको विषय पनि हो । भारतका वरिष्ठ वैज्ञानिक एमएस स्वामीनाथनले भनेका थिए, कृषि गलत दिशामा गयो भने कुनै पनि क्षेत्र सही दिशामा जाँदैन । कृषि प्रविधि विकास र विस्तारका साथै कृषकलाई सक्षम बनाउनेतर्फ लगानी गरी निरोगी जनता तयार गर्न काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा राज्यले कम लगानी गरे पनि हुन सक्छ । त्यसैले कृषि क्षेत्रलाई सही दिशामा लैजान सुरु भएका प्रयासलाई बढाउँदै नयाँ प्रयासको थालनी गर्नु सबै सरोकारवालाको दायित्व हो । 

Author

डा. हरिबहादुर केसी