• २ असार २०८१, आइतबार

गण्डकी र पुलिसको विजयी सुरुवात

blog

भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ,  वैशाख १९ गते । गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको लिगमा गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हरायो । गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकालेको थियो । पहिलो जितसँगै गण्डकीले तीन अंक बटुल्यो । अर्को खेलमा पुलिसले गलकोट स्पोर्ट्स क्लबलाई ३–० को सेटमा स्तब्ध बनायो । पुलिसले २५–१५, २५–१७, २५–२२ को सेटमा जित निकालेको हो । 

वैशाख २४ गतेसम्म सञ्चालन हुने लिगमा महिलातर्फ महिलातर्फ विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेष्ट माबि रहेका छन् । पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोटर््स क्लब रहेका छन् । 

लिगमा महिला पुरुष दुवै तर्फका विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ । लिगको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने संघले जनाएको छ । लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो ।