• १६ भदौ २०८१, आइतबार

बाघको आक्रमणबाट एकको मृत्यु

blog

तस्वीर : जिप्रका चितवन

शान्ता अधिकारी
चितवन, वैशाख १८ गते ।
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

त्यस्तै, पश्चिम चितवनमा गैँडाको आक्रमणबाट अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आइतबार बाघको आक्रमणबाट खैरहनी १३ बैरियाका ६५ वर्षका नारायण दाहालको मृत्यु भएको हो ।

उहाँलाई बिहान ८ बजे कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको थियो ।

प्रहरी चौकी कुमरोज र इप्रका खैरहनीबाट खटिएको प्रहरी टोली, राष्ट्रिय निकुञ्ज र नेपाली सेनालगायतले खोजतलास गर्दा पुरुषको शव भेटिएको हो ।

यसैगरी, चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको एक गैंडाको आक्रमणमा परि आइतबार मेघौलीका ३७ वर्षीय युवक गम्भीर घाइते भएका हुन् ।

प्रवक्ता अधिकारीका अनुसार जङ्गल क्षेत्रबाट निस्किएको एकसिंगे गैंडाको आक्रमणमा परि भरतपुर २८ गोलाघाटका अन्दाजी वर्ष ३७ का मनबहादुर कुमाल घाइते हुनुभएको हो । उहाँको गोडा र पेटको भित्री भागमा चोट लागेको बताइएको छ ।