• २० असोज २०८१, आइतबार

बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित

blog

दोधारा चाँदनी (कञ्चनपुर),  असार२४ गते ।   लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि  दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारिको कुतियाकभर तथा वारिका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । 

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले  जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्” उहाँले भन्नुभयो, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।” 

त्यसैगरी उहाँले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताउनुभयो । प्रवक्ता जोशीले भन्नुभयोले भन्नुभयो, “घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।” निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ । रासस