• २० असार २०८१, बिहिबार

बिल भरपाइ बिनै ७३ लाखभन्दा बढी भुक्तानी

blog

सर्केगार्ड गाउँपालिकाको कार्यालय । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार १८ गते । जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० मा ७३ लाखभन्दा बढी रुपियाँ आवश्यक कागजात बिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त गाउँपालिकाको अन्तिम लेखा परिक्षण प्रतिवेदनमा सो कुरा औंल्याएको हो । 

अन्तिम लेखा परीक्षण प्रतिवेदनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल भरपाइ प्रमाण र कागजात संलग्न हुनुपर्ने साथै नियम ३९(१०) मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न अघि वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागजात संलग्न भए नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने उल्लेख छ । 

तर गाउँपालिकाले त्यसो नगरी उक्त आर्थिक वर्षमा ७३ लाख १३ हजार ३५३ रुपियाँ बिल, भरपाइ र अन्य आवश्यक कागजात बिनै भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी आवश्यक कागजात बिनै भुक्तानी दिइएको शीर्षकमा घरभाडा बापत एक लाख ९६ हजार ५६०, कर्मचारी बैठक भत्ता चालीस हजार, राहत वितरण एक लाख ३५ हजार, इन्धनमा पैंतीस हजार, कार्यालय सामान एक लाख, अनुगमन भत्ता दुई लाख, विद्युतीय सामग्री खरिदमा तीन लाख नब्बे हजार रुपियाँ छ । 

त्यसैगरी आवश्यक कागजात बिनै भुक्तानी दिइएका रकममा कार्पेट खरिमा ६९ हजार ९३५, फोटोकपी लगाएत सामाग्री खरिदमा तीन लाख पचास हजार, शाही होटेललाई भुक्तानी दिएको एक लाख चालीस हजार रुपियाँ छ । त्यसैगरि साक्षरता कार्यक्रम सञ्चालन गर्न वीरजंग शाहीलाई भुक्तानी दिएको तीन लाख ५८ हजार रुपियाँको पनि बिल भरपाइ पेश नभई भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यता फर्निचर खरिदका लागि छ लाख पच्चीस हजार रुपियाँ, नौ जना कर्मचारीलाई भ्रमण खर्च एक लाख ६८ हजार १७० रुपियाँ, कुटानी पिसानी मिलको लागि सैला कन्सट्रक्सन एण्ड कन्सल्टेन्सीलाई दिएको भुक्तानी तेह्र लाख पचास हजार, तेल पेल्ने मेसिनका लागि किसान इन्जिनियरिङ इन्डष्ट्रिजलाई भुक्तानी दिएको सात लाख पचहत्तर हजार, औषधी खरिदका लागि दुई लाख ७९ हजार ६८८ रुपियाँ, रकम वितरण तीन लाख तीस हजार, पेश्की फर्छ्यौट तुलराज रोकाया पाँच लाख पचास हजार रुपियाँ, एक सय थान ज्याकेट खरिदमा एक लाख रुपियाँ, वडा नम्बर ८ को प्रोफायल तयारीका लागि एक लाख पचास हजार रुपियाँ छ । 

त्यसैगरी जस्तापाता खरिद गर्दा रोयल सायल निर्माण सेवालाई भुक्तानी दिएको दश लाख रुपियाँको पनि आवश्यक कागजात बिनै भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी सबै रकम भुक्तानी गर्दा सक्कल बिल, भरपाइ, दाखिला, वितरण भरपाइ, प्रोपाइल, हस्तान्तरण फारम, वितरण गरेको प्रमाण, जिन्सी दाखिलालगायतका प्रमाणहरु बिनै भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आवश्यक प्रमाण बिनै भुक्तानी भएको गाउँपालिका प्रशासकीयले जनाएको छ । यसलाई नियमित गर्नका लागि पत्राचार गरिएको छ ।