• १४ जेठ २०८१, सोमबार

हवाई भाडा समान बनाउन आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन पुनरुत्थानका लागि स्वदेशी र विदेशी हवाई यात्रुका लागि समान भाडादर कायम हुनुपर्ने बताउनुभएको छ । 

मन्त्रालयमा आयोजित पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै शुक्रबार मन्त्री आलेले नेपालमा स्वदेशी यात्रुसरह नै विदेशी यात्रुलाई भाडा कायम गर्दा पर्यटकको चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि इजरायली राजदूत हनान गोदारले आफूसँग भाडा समान नभएको गुनासो गरेको चर्चा गर्दै मन्त्री आलेले भन्नुभयो, “मैले उहाँ (गोदर)लाई नेपाल पर्यटकका लागि खुला रहेको र इजरायलबाट समेत पर्यटक पठाउन आग्रह गरेँ तर राजदूतले नेपालीले दुई हजार हवाई भाडा तिर्ने ठाउँमा विदेशी नागरिकले आठ हजार रुपियाँ तिर्नुपर्ने व्यवस्था स्मरण गराए ।’’ 

उहाँले गृह, अर्थ र पर्यटन मन्त्रालयबीच समन्वय नहुँदा हवाई यात्रुले दुःख पाइरहेको र आलोचना बढिरहेको बताउँदै आन्तरिकतर्फका उडानमा हुँदै आएको ढिलाइ हटाउन र तोकिएकै समयमा उडान गर्न निर्देशन दिनुभयो । 

आन्तरिकतर्फको उडान व्यवस्थित गर्न राति १२ बजेसम्म विमानस्थल खुला गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले बिहान काम गरेर बेलुका फर्किन सक्ने वातावरण बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएपछि शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीलाई ल्याउने तयारी भइरहेकोसमेत जानकारी दिनुभयो ।