गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १७ गते । काठमाडौँका सडकबाट फोहोर उठ्न फेरि छोडेको छ । वैशाख ११ गतेदेखि काठमाडौँ महानगरका सडकमा थुप्रिएका फोहोर उठाउन सकिएको छैन । सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई दण्ड जरिवाना भनेर सूचना टाँसिएका सीसीटीभी जडित स्थानमै फोहोर थुप्रिन थालेको छ । चार दिनयता महानगरपालिकाका मुख्य सडक किनारमा फोहोरका डङ्गुर यसै छ ।
काठमाडौँ महानगरपालिकाका कतिपय स्थानमा फोहोर सडकमा छरपस्ट भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २९ कार्यालय प्रवेशद्वार सामुन्ने नै फोहोरको डङ्गुर छ । मैतीदेवी चोक, पुरानो बानेश्वरको सेतो पुललगायतका यावत् सडक किनार क्षेत्र फोहोरले भरिएको छ ।
फोहोर सङ्कलनका लागि सक्रिय बी एन्ड पी क्लिनिङ सर्भिसका इन्चार्ज बुद्ध मगरका अनुसार फोहोर उठाउन नपाइएको विषयमै सफाइकर्मीले सङ्घर्ष गर्ने भएका छन् । मगरका अनुसार घरका फोहोर किन लिन आएनौ ? भनेर सफाइकर्मीमाथि घरधनी जाइलाग्न थालेका छन् । फोहोर व्यवस्थापन हुन नसके पनि सर्भिसले घरघरका फोहोर भने सङ्कलन गर्दै आएको जनाएको छ ।