एसइईको नतिजा सार्वजनिक भएको छ । औसत रूपमा विगतका नतिजाको समवर्ती भएर यो नतिजा आएको छ । शिक्षाको क्षेत्रमा सबैभन्दा व्यग्र प्रतीक्षा हुने, सर्वाधिक विद्यार्थी सहभागी हुने, गहिरो ढङ्गले विश्लेषण अनि चर्चा हुने भनेको एसइईको नतिजा नै हो । कतिपय विश्लेषक एसइईको नतिजालाई सिँगो देशको शैक्षिक अवस्था चित्रण गर्ने मानकका रूपमा लिन्छन् । जे होस् शिक्षा क्षेत्रमा एसइई उत्सव मात्रै नभएर महोत्सव नै हो । एसइईले सारा देशको ध्यान एकत्रित गरिरहेको हुन्छ ।
एसइईको नतिजापश्चात् अभिभावक र विद्यार्थीमा उच्च शिक्षाका लागि के गर्ने ? कसो गर्ने ? अनेकानेक मानसिक दबाब सिर्जना भएका हुन्छन् । अझ त्यसमा विद्यालयले गर्ने प्रचारप्रसारको चर्को असर परिरहेको हुन्छ । अहिले कैयौँ अभिभावक र विद्यार्थीमा यस खालको दबाब गहिरो भएर आएको छ । एसइईपश्चात् अगाडि बढ्नका लागि अनेकानेक गोरेटा छन् । धेरै गोरेटा हुँदा कुन गोरेटो हिँड्ने भन्ने अन्योलता हुनु खासै नौलो पनि होइन । हामीले कुन गोरेटो हिँड्ने भन्ने कुराको मानक केलाई बनाउने गरेका छौँ भन्ने कुरा निकै महत्वपूर्ण हो । हामीले मानक सही छनोट गर्न सक्यौ भने त त्यसले हामीलाई सही गन्तव्यमा पु¥याइहाल्छ । गलत छनोट भयो भने सिङ्गो जीवन नै यता न उताको भएर बित्ने गर्छ । जसले गर्दा पढेर पनि के काम छ र भन्ने खालको मनोविज्ञान बढेर जान्छ ।
अहिलेका विद्यार्थीले एसइईपश्चात् के पढ्ने भन्ने कुराको निर्धारण गर्नका लागि मुख्यतः अभिभावकको सुझावलाई नै मूल आधार बनाइरहेका हुन्छन् । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने हरेक अभिभावकलाई आफ्ना सन्तानका लागि सपना देख्ने अधिकार त अवश्य पनि हुन्छ तर त्यो सपना आफ्ना आँखाले भन्दा पनि सन्तानको आँखाले देख्नु मनासिव र न्यायपूर्ण हुन्छ । सन्तानलाई के बनाउनेभन्दा पनि के बन्न चाहन्छन् भन्ने बारेमा अभिभावकले सोच्नुपर्ने हुन्छ । अभिभावक नै सपनाको मूल स्रोत हो । अभिभावकले बालबालिकालाई दबाबभन्दा पनि सल्लाह र सुझाव दिनु पर्छ । कुन कुरा पढ्ने ? कसरी अगाडि बढ्ने ? लगायतका विषयको निर्णय गर्न अभिभावकले बालबालिकालाई स्वतन्त्र छाडिदिनु पर्छ । हो, बालबालिका केही अन्योलमा परेको अवस्थामा अवश्य पनि केही सुझाव दिन सकिन्छ तर आफूले चाहेको विषय नै पढ्नु पर्छ भन्ने बारेमा विद्यार्थीलाई दबाब सिर्जना गर्नु मनासिव मानिँदैन । क्षणिक रूपमा अभिभावकमा सन्तुष्टि ल्याए पनि त्यसले कालान्तरणमा ल्याउने भनेको विस्फोट नै हो ।
अर्को कुरा भनेको विद्यार्थीले ल्याउने नतिजा हो । सामान्यतया हामीकहाँ राम्रो नम्बर ल्याउने विद्यार्थीले विज्ञान नै पढ्नु पर्छ भन्ने खालको सोच देखिन्छ । कसले कुन विषय पढ्ने भन्ने कुरा अङ्कले कहिल्यै पनि मापन गर्न सक्दैन । त्यो वस्तुनिष्ठ पनि हुँदैन । अङ्कलाई मापन गरेर राम्रो मानिएको अङ्क ल्याउनेलाई विज्ञान अनि ठिकठिकै अङ्क ल्याउनेलाई अन्य विषय अध्ययनका लागि दबाब दिनु हँुदैन । अङ्कलाई विषय या कार्यक्रम छनोटको आधार कहिल्यै पनि बनाइनु हुँदैन । यसले विद्यार्थीको अभिरुचिलाई मार्ने गर्छ । अङ्कको महत्व नै छैन भन्ने होइन तर विषय छनोटको आधार अङ्क मात्रै भने होइन । राम्रो अङ्क ल्याउनेबित्तिकै विज्ञान नै पढ्नु पर्छ, अलि जटिल मानिने विषय पढ्नु पर्छ भन्ने मान्यताले पनि विद्यार्थीमा निराशा पैदा गरेको छ । अङ्क कम या धेरै आउनु प्राविधिक कुरा पनि हो । यस कारण यसैलाई आधार मानेर बालबालिकालाई विषय छनोटका लागि दबाब दिनुले पनि उनीहरूमा पढाइप्रति अभिरुचि पैदा गर्न सक्दैन । कहिलेकाहीँ राम्रो गर्दा पनि सोचे जस्तो नम्बर नआउन सक्छ । नम्बर कम आयो भने विद्यार्थीको क्षमतालाई कम आँक्न मिल्दैन ।
विद्यार्थीलाई कार्यक्रम छनोटका आधारका रूपमा परिवारको पृष्ठभूमिलाई पनि लिन सकिन्छ । परिवारमा आफूभन्दा अघिको व्यक्तिले या अभिभावकले के विषय पढेको छ सोही विषय अध्ययनका लागि दबाब सिर्जना गरिएको पनि पाइन्छ । यसले पनि विद्यार्थीलाई उत्प्रेरित गर्न सक्दैन । परिवारमा कसले के काम गर्छ ? कुन विषय पढेको छ ? लगायतको कुरालाई विद्यार्थीलाई मानसिक रूपमा तनाव दिन सकिँदैन । आफू के बन्ने भन्ने कुरा सोच्नका लागि विद्यार्थी स्वतन्त्र हुनु पर्छ । एउटै परिवारमा सबै फरक फरक पेसा व्यवसायमा पनि हुन सक्छन् । सबै एउटै काममा हुनु पर्छ भन्ने सोच आफैँमा राम्रो मानिँदैन । अभिभावक पनि आफूले गरे जस्तै आफ्नो सन्तानले गर्नु पर्छ भन्ने सोचबाट मुक्त हुनु पर्छ ।
विद्यार्थीले विषय छनोटको आधार तय गर्नका लागि अहिले विभिन्न माध्यम छन् । यो प्रविधिको जमानामा उनीहरूले विभिन्न तवरबाट आफूले अध्ययन गर्ने विषयका बारेमा जानकारी लिन सक्छन् । आज एआइको जमाना आइसकेको छ । हिजोका दिनमा धेरै स्कोप मानिने विषय आजका लागि सामान्य जस्तै पनि भएको छ । यो जमानालाई सम्बोधन गर्ने खालको कुरा के हुन सक्छ भन्ने बारेमा विद्यार्थी आफैँ पनि जानकार छन् । उनीहरूलाई कसरी सही ढङ्गले सपना छनोट गर्ने र सपना पूरा गर्नका लागि के कुरामा ध्यान दिने भन्ने बारेमा जानकारी मात्रै दिए पुग्छ । हामीले उनीहरूको सपना माथि नै हस्तक्षेप गरेर अनावश्यक दबाब दिनु हुँदैन । आफ्नो जीवन कसरी बाँच्ने भन्ने कुरा विद्यार्थीको आफ्नो स्वतन्त्रताको कुरा पनि हो ।
विद्यार्थीले के विषय पढ्ने ? भन्ने सन्दर्भमा सबैभन्दा पहिलो कुरा उनीहरूले आफ्नो मनको कुरा सुन्नु पर्छ । आफूलाई के कुरामा सबैभन्दा अभिरुचि छ ? सबैभन्दा राम्रो कुन क्षेत्रमा गर्न सकिन्छ जस्तो लाग्छ ? यो प्रश्नको जवाफसँगै विद्यार्थीले आफूले पढ्ने विषयको छनोट गर्नु पर्छ । कहिलेकाहीँ के कुरा पढ्ने भन्ने आधार तय गर्न नसक्दा विद्यार्थीले सोचे अनुसारको नतिजा प्राप्त गरेका हुँदैनन् । पढ्न भन्दा पनि जटिल कुरा भनेको विषय छनोट हो । यसलाई सजिलो मानेर हामीले त्यसै छाड्नु हुँदैन । भोलि जे हुन्छ हुन्छ भन्ने सोच्नु हुँदैन । भोलि के हुने भन्ने कुरा आज तय हुनु पर्छ । भोलि कहाँ जाने भन्ने कुरा आज निर्धारण हुनु पर्छ ।
संसारमा हरेक विषयको समान महत्व र गरिमा छ । त्यसमा विज्ञता कसरी हासिल गर्ने भन्ने महìवपूर्ण हो । विद्यार्थीले बुझ्नुपर्ने गाँठी कुरा के हो भने उसले आफूलाई भविष्यमा कुन रूपमा देख्न चाहन्छ भन्ने कुरालाई केन्द्रमा राख्नु पर्छ । राम्रो गायक बन्न मन छ भने सोही अनुसार विषय अध्ययन गरेर अगाडि बढ्नु पर्छ । अभिरुचि र पढ्ने विषयका बिचमा अन्तर हुनु हुँदैन । विद्यार्थीले आफूले चाहेको विषय पढ्न पायो भने अवश्य पनि उसले राम्रो गर्न सक्छ । अरूको करकापमा अध्ययन गरेको विषयमा विद्यार्थीले गतिलोसँग पढ्ने छाँट देखाउँदैन । यस कारण विद्यार्थीले नै कुन विषय अध्ययन गर्ने भन्ने कुरामा दृढ निश्चय भएर निर्णय गर्नु पर्छ । निर्णय गर्ने बेलामा अनावश्यक हल्लाका पछाडि दौडनु हुँदैन । शिक्षा क्षेत्रमा पनि केही विकृति भरिएका छन् । यसले विद्यार्थीलाई पनि प्रभाव पारेको छ । अस्वस्थ प्रतिस्पर्धाको सिकार अहिले कैयौँ विद्यार्थी भइरहेका छन् । यस कुरालाई मनन गरेर विद्यार्थीले विषय छनोटमा वस्तुनिष्टता, तठस्थता र जिम्मेवारीबोधका साथमा आफूलाई प्रस्तुत गर्नु पर्छ ।