• १७ असार २०८१, सोमबार

काभ्रेमा ३४ प्रतिशत खेतमा रोपाइँ

blog

२१ औँ राष्ट्रिय धान दिवसको अवसरमा शनिवार मण्डनदेउपुर–८ धाइटारमा मेसिनमार्फत धान रोपिँदै ।

केदार तिमल्सिना 

बनेपा, असार १५ गते । देशको विभिन्न जिल्लाजस्तै काभ्रेपलाञ्चोकमा पनि २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, मण्डनदेउपुर नगरपालिका र राष्ट्रिय किसान आयोगको संयुक्त आयोजनामा मण्डनदेउपुर–८ धाइटारमा दिवस मनाइएको हो । 

दिवसको अवसरमा जिल्लामा पहिलो पटक भियतनाममा विकास भएको सेमिअटोमेटिक धान रोप्ने मेसिनको मद्दतमा धाइटारमा रहेको करिब चार रोपनी खेतमा धान रोपिएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले पहाडी क्षेत्रमा धान रोप्न लागि सहज हुने धान रोप्ने मेसिन र परम्परागतमा हातले धान रोपिएको बताउनुभयो । उहाँले शनिवारसम्म जिल्लामा करिब ३४ प्रतिशत खेतमा धान रोपाइ भएको बताउनुभयो । 

उहाँले काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको र त्यसमध्ये करिब १० हजार हेक्टरमा वर्षे धान खेती हुने गरेको बताउनुभयो । “दिवसको अवसरमा धान रोप्न प्रयोग भएको मेसिन पहाडी क्षेत्रमा धान रोप्न प्रभावकारी हुने देखिन्छ, यो मेसिन जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, पनौती, मण्डनदेउपुर लगायतका क्षेत्रमा प्रभावकारी हुने देखिन्छ” कार्यालय प्रमुख दवाडीले भन्नुभयो । 

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले मण्डनदेउपुरमा धान रोप्न प्रयोग गरिएको सानो मेसिनबाट पहाडी जिल्लामा धान रोप्नका लागि प्रभावकारी हुने बताउनुभयो । उहाँले साना मेसिनको प्रयोगबाट किसानलाई उत्पादन लागत घटाउन मद्दत गर्नुको साथै किसानलाई यान्त्रिकरणतर्फ आकर्षित गरेर उत्पादकत्व बढाउन र श्रम लागत घटाउन सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले नगरपालिकामा नयाँ प्रविधिबाट धान रोप्ने काम नयाँ भएको बताउनुभयो । उहाँले धान रोप्न प्रयोग गरिएको मेसिनले किसानको उत्पदन लागत र श्रममा हुने खर्च समेत घटाउने बताउनुभयो ।