• १७ असार २०८१, सोमबार

गुठिचौर-४ बालविवाह मुक्त वडा घोषणा

blog

जिल्लाको गुठिचौर गाउँपालिका ४ मा वालविवाहमा सहभागी स्थानीय । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, असार १५ गते । जुम्लाको गुठिचौर गाउँपालिका बालविवाह मुक्त वडा घोषणा भएको छ । वडा पालिकाले आफ्नो विभिन्न तयारीका साथ वडा घोषणा गरेको हो । 

जिल्लाको गुठिचौर गाउँपालिका स्थानीय, सरोकारवाला, निकाय, महिला बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बिच सो वडालाई स्थानीय सरकारले बालविवाह मुक्त घोषणा गरेको हो । 

बालविवाह न्यूनीकरणमा आबद्धता, बालमैत्री गुठीचौर बनाउने हाम्रो प्रतिबद्धता’भन्ने मूल नाराका साथ गुठीचौर गाउँपालिका–४ बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।  स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । वडाध्यक्ष टिकादत्त न्यौपानेका अनुसार उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छौँ । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा पालिकाले प्राथमिकता दिइएको जानकारी दिनुभयो । 

गुठीचौर गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाका अनुसार बालविवाहलाई कानुनले अपराध मानेको छ । तर कताकता हाम्रो समाजमा अपराधका घटना भइरहेका छन् । त्यस वडामा बालविवाह न्यूनीकरण गर्नका लागी साझेदार संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले नेपाल र वल्र्डभिजन ईन्टरोश्नल लगायतको सहयोगमा बालविवाह घोषणा गरिएको छ । 

गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ । उहाँका अनुसार आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताउनुभयो ।  यस अभियानमा साथ दिने सङ्घ संस्थाहरूलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने छ । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालविवाह मुक्त गर्नु राम्रो पक्ष हो । उहाँका अनुसार कोही सकैले बालविवाह गरेको खण्डमा सरकारले दिने सेवा सुविधा रोक्नु पर्ने बताउँदै सरकारले गरेका राम्रा कामलाई सफल बनाउनका लागी नागरिकले सहयोग गर्नुपर्छ । 

बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले दाबी गरेको छ । धार्मिक मान्यताको रूपमा हुँदै आएको बालविवाहलाई अपराध वा घटनाको रूपमा बुझ्न वर्तमान समयको माग भएको नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जानकारी दिनुभयो ।

जुम्लामा जिल्लाको गुठिचौर गाउँपालिका ४ सहित हिमा गाउँपालिका वडा नम्बर १, तिला गाउँपालिका वडा नम्बर ६ घोडिसिन, पातारासी गाउँपालिका वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भएका छन् । कर्णाली क्षेत्रमा बालविवाह धेरै भएकाले न्यूनीकरण गरी बालविवाह न्यूनीकरण गर्न सूचकहरूको आधारमा काम भइरहेको छ ।