• ११ असार २०७९, शनिबार

कान्तिपुर नामकरण भएको कान्तिभैरव जात्राको तयारी पूरा

blog

काठमाडौं, बैशाख १७ गते । वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा सुरु हुने कान्तिभैरव जात्राको तयारी पूरा भएको छ । शुक्रबार देखि स्थानीयवासीले आआफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । जात्राका लागि स्थानीयवासीले बिहानैदेखि घर आँगन, टोल छिमेक सफाइ गरेका छन् । 

गोकर्णेश्वर उत्तरगया क्षेत्रमा ध्वजा पताकाले बेहुलीझैँ सिँगारेर आकर्षक बनाइएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएकाले पनि यो जात्राको विशेष महत्व रहेको यहाँका बूढापाका बताउँछन् ।

यो जात्राका क्रममा वैशाखकृष्ण आमावास्याका दिन अर्थात् शनिबार स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्व उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन् । गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा आराधना गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्षबढाइ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाउने काम सुरु हुन्छ ।

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक-एक पाथीे भातको देवता बनाउँछन् । पाक्ता पाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासीका रुपमा जात्रामा सक्रिय सहभागिता जनाउनुहुने रामदास श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन् । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्ने लगायतका काममा जात्रालुको भीड लाग्ने गरेको बाल्यकालदेखि नै जात्रा हेर्दै आउनुभएकी विपना देउला बताउनुहुन्छ । 

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पुर्याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र विसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको  प्रसाद लिन सहभागी बीचमा तँछाड मछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ । 

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पुर्याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयअन्तर्गत स्नातकोत्तर तहको शोध गर्नुभएका वटुराम भण्डारी बताउनुहुन्छ । रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रसस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोष अन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन् । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारहरुको गुनासो छ ।

यही जात्राको नामबाट कान्तिपुर नगरको नामकरण गरिएको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको विषय उल्लेख गर्नुभएको जात्राको विषयमा स्नातकोत्तर शोध गर्नुभएका भण्डारीले जानकारी दिनुभयो । मध्यरातिदेखि सुरु हुने जात्रा भए पनि स्थानीयवासीको सहभागिता भव्य हुन्छ । मध्यरातमा हुने जात्रा भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीय श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।