• १४ असार २०८१, शुक्रबार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अन्तिम चरणको काम सुरु

blog

निर्माणाधीन सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग । तस्बिर : सुजन गुरुङ

सिस्नेखोला (धादिङ), असार १० गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।

एक वर्षभित्र सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “छिचोलिएको सुरुङको ‘लाइनिङ’ को काम दुई तिहाइ सम्पन्न भइसकेको छ । सुरुङको कुुल लम्बाइमध्ये अब ‘लाइनिङ’ गर्न पाँच सय मिटर मात्र बाँकी छ । आपत्कालीन सुरुङमार्गको ‘लाइनिङ’ गरिने छैन ।” मुख्य सुरुङमार्ग र आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ क्रमशः दुई हजार ६८८ मिटर र दुई हजार ५५७ मिटर छ ।

त्यसै गरी सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।

प्रवक्ता कोइरालाका अनुसार चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग भइरहेको छ ।

उहाँका अनुसार बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । त्यसै गरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।

फ्लाइओभर ६० प्रतिशत सम्पन्न

आयोजनाका इन्जिनियर पदम शर्माले त्रिभुवन राजपथदेखि सुरुङमार्गसम्म जोड्नका लागि बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाइओभरको स्टिलको गडर राख्ने काम सम्पन्न भई नटबोल्ट कस्ने काम भइरहेको छ ।

एक लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको हुने छ । एउटा लेनको चौडाइ ३.५ मिटरको हुने छ । सो फ्लाइओभरबाट करिब तीन किलोमिटर पहुँचमार्ग (एप्रोच रोड) मार्फत सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलमा पुग्न सकिन्छ । काठमाडौँबाट सुरुङमार्ग भएर जाने 

सवारीसाधनले मात्र फ्लाइओभरको प्रयोग गर्न पाउने छन् । सुरुङमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनले सडक मार्गको प्रयोग गर्ने छन् ।

निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण भइरहेको छ । फ्लाइओभर निर्माणका लागि सोको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ । फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५२ लाख रुपियाँका दरले मुआब्जा पाएका छन् ।

अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुँयालले एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आयोजनाको धादिङतर्फ निर्माण गरिने सर्भिस सेन्टर निर्माणमा समस्या भएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो बताउँदै माथिका समस्या समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडा सदस्य केशव गिरीले आयोजनालाई सम्पन्न गर्न आफूहरूको पूर्ण समर्थन रहने बताउनुभयो ।