• १२ पुस २०८१, शुक्रबार

जिन्दगी खोजिरहेको यात्री र पुडुचेरी (निबन्ध)

blog

मणि लोहनी 

 नयाँ वर्षको पहिलो बिहान । 

रातिदेखि नै शुभकामनाहरू आउनुपर्ने । म्यासेजको टिङ टिङले निन्द्रा बिथोलिनुपर्ने तर एक्कासि मिश्र सरको फोनले  बिउँझिन्छु । ढिलो भइसकेछ  । हतार हतार तयार भएर निस्कन्छु ।

बिहानी सूर्यसँगै उज्यालिएको छ समुद्र र यहाँको परिवेश । समुद्रको यो उज्यालोसँगै म उज्यालो अनुहार सम्झिन्छु, जो अक्सर समुद्र किनारमा मेरो पाखुरा समाएर हिँड्ने रहरमा उज्यालिन्थ्यो । आज यहाँ यतिखेर उनी छैनन् । उनी यहाँ भएकी भए कति खुसी हुन्थिन् होला । कति उत्साहित हुन्थिन् होला । मलाई उनीभन्दा पनि उनी खुसी हुँदाको क्षणले सताउँछ । उनको अनुहारको खुसी देख्न सधँै लालायित हुन्छु म । त्यसो त उनको अनुहारको उज्यालो सम्झिएँ भने अहिले नै अँध्यारो हुनेछ यो समुद्री किनार, भर्खरै उदाएको घाम र यहाँको परिवेश । उनको अनुहार र मनमा रहेको उज्यालोले मेरो जीवनको गोरेटोभरि प्रकाश छरिदिएको छ । मेरो जीवनमा उनको उपस्थितिले मेरो जिउने सिलसिला नै बदलिएको छ ।

उनी यहाँ छैनन् तर उनको सम्झना उनको उपस्थितिभन्दा शक्तिशाली भएर आउँछ । म समुद्रभरि आँखा फैलाउँछु । समुद्रमा फैलिएको उज्यालोमा उनी छिन् । बेलाबेलामा समुद्रमा आउने छालहरू उनले हाँस्दा नाक खुम्च्याएझैँ लाग्छ मलाई ।

समुद्रमै हेरिरहेछु म । 

त्यसो त जता हेरे पनि देखिने त यही समुद्र नै हो । लहरहरू जिन्दगीका सपनाझँै आउँछन् र भागिरहन्छन् । यो सपना आएजस्तो र सपना भागेजस्तो लहरहरूको सङ्गीत सुनिरहन्छु  । जीवन यही लहरको सङ्गीतजस्तो लाग्छ मलाई । सँगै भएर पनि पर हुने र पर भएर पनि पटक पटक छोइरहने । यही लहरको पानीले भिजाउँछ मलाई । 

पानी नजिकै गएर फोटो खिचिरहेकाहरूलाई पानीले पूरै भिजाउँछ । सपनाले लपक्कै भिजेकी नव बेहुलीजस्ती देखिन्छिन् एक युवती । म हाँस्छु । उनी लजाउँछिन् । नभन्दै उनी नवबेहुली बन्छिन् । सपनाले भिजेकी, रहरले छोपिएकी र पनि लाजले मुस्कुराएकी । 

हामीभन्दा पर समुद्रमा एउटा डुङ्गा तैरिरहेको छ । डुङ्गामा बसेर एउटा मानिस पाइडल चलाइरहेको छ । चर्चित कुनै कलाकारको पेन्टिङ जस्तो लाग्छ मलाई यो दृश्य । यति बिहानै कहाँ हिँडेको होला यो मानिस रु मनमनै सोध्छु म । माछा मार्न हिँडेको मछुवा होला, आफै सान्त्वना दिन्छु । 

मछुवा नै हो त त्यो मानिस रु फेरि गम्छु, मन मान्दैन । आफैँसँग हारेर जिन्दगीको रहर खोज्न हिँडिरहेको कुनै यात्रीजस्तो लाग्छ, मलाई । दूर कतै क्षितिजमा हराइरहेको हुनुपर्छ उसको जिन्दगीका आयामहरू र ऊ अनवरत खियाइरहेछ डुङ्गा । पुग्न चाहन्छ क्षितिजमा जहाँ उसका सपना हराएका छन् । तर छालहरूमा अलमलिएको छ उसको जिन्दगी । साँझ डुब्ने घामको रातो डल्लोजस्तै डुबेको छ सायद उसको प्रत्येक वर्तमान यही पानीमा । मलाई उर्लिरहेको पानीको छालमा उसको जस्तै आफ्ना पनि अनगिन्ती सपना छरिएको अनुभव हुन्छ ।

हामी सबैको जिन्दगी यही मछुवाको जस्तै त हो । समुद्रको बीचमा एउटा जिन्दगीजस्तो डुङ्गा छ हामी सबैसँग र त्यही डुङ्गा खियाएर बाँचिरहेछौँ हामी । फरक यत्ति हो कसैको भागमा ठूला डुङ्गा परेको छ त कसैको भागमा सानो । कहिले छाल आउँछ र हल्लाउँछ जिन्दगी । कहिले ठूला ठूला जहाज आउँछन् र जोगिन किनारा लाग्नुपर्ने हुन्छ । कहिले परबाट कसैले हामीलाई पनि समुद्रमा तैरिरहेको डुङ्गा र मछुवालाई हेरेझैँ हेरिदिन्छन् र अहा, कति राम्रो भनिदिन्छन्, त कतिले छि, कस्तो बेढङ्गको भन्न पछि पर्दैनन् हाम्रो जिन्दगीलाई । जति नै उफ्रिए पनि समुद्रको बीचमा रुमल्लिएर हैरान भएको विवश यो मछुवाभन्दा कत्ति पनि फरक पाउदिनँ मैले मान्छेको जीवनलाई । 

सोह्रौँ शताब्दीमा युरोपको प्रभावमा रहेको पुडुचेरीमा पुगेका हाम्रा पाइलाहरू भारतको दक्षिणी सहर चेन्नैइबाट चार घण्टाको जिप यात्रा गरेर यहाँ आइपुगेका थिए । आफ्नो औपनिवेशिक इतिहासका कारण यहाँ अहिले पनि विभिन्न विदेशी नश्ल वर्षौंदेखि बसोबास गर्दै आइरहेका छन् । पुडुचेरी पुर्तगाली, डच, डेनमार्की, फ्रान्सिसी र ब्रिटिसको औपनिवेशिक सहर रहेको थियो । जब १६७४ मा फ्रान्सिसी यहाँ आएर बसे त्यतिखेरै उनीहरूले भिन्न कालिगढीका साथ यो सहरको निर्माण गरेका थिए । पूरै सहरमा फ्रान्सको प्रभाव देखिन्छ । यहाँका गल्लीहरू प्रmान्सिसी शैलीको अर्थात् पर्खालसँग पर्खाल लगाएर बनाइएका घरहरूले भरिएका छन् । हरेक घरमा हुने अग्लो काठको खम्बा, कलात्मक झ्यालहरू र झिलमिलदार काठका सटरहरूले फ्रान्सिसी स्थापत्य शैलीको बयान गर्छ । पुडुचेरी १९औँ शताब्दीको भवनहरू, स्मारक, निजी घरहरू, सरकारी भवन, फ्रान्सिसी संस्थानहरू, चर्च र अरबिन्दो आश्रमले सजिएको छ ।  

नयाँ दिल्लीबाट साढे दुई घण्टाको उडानपछि चेन्नैई आइपुग्दा पुडुचेरीका प्रशासन प्रमुखले चेन्नैई विमानस्थलमा हाम्रा लागि तयार राखिएका दुईवटा रिजर्भ भ्यानले स्वागत गरेका थिए । भारतको दक्षिणी क्षेत्रको दृश्यावलोकन गर्न तय गरिएको चार घण्टाको  यात्रामा मैले धेरै कुराको अनुभूत गरेको थिएँ । 

नरिवलको बोट, केराको जङ्गल, तामिलनाडु जीवन शैली, मन्दिरको बार्दली र बरन्डामा उभिएका भगवानहरू । मन्दिरको भित्तामा, बुर्जामा, कौशीमा, झ्यालमा जताततै भगवान् । त्यो पनि दक्षिणी भारतीयजस्तै मोटामोटा जुँगा भएका । महादेवको पनि जुँगा देख्दा मलाई गजब लाग्यो । 

दिल्लीदेखि नै मर्निङवाकको नाम मणि वाक भएको छ । बिहान साथीहरू हिँड्न अल्छी गर्ने र म हिँडेको देखेपछि फेरि रहर गर्छन् हिँड्न । त्यसैले  उनीहरूले बिहानी यात्राको नाम नै राखिदिए मणि वाक । 

२१ जना आर्थिक पत्रकारहरूको टोली भारत भ्रमणमा छौँ । यसक्रममा भारतका धेरै सहरहरू घुम्ने योजना छ । भारत सरकारको निमन्त्रणामा भएको यो यात्रा १५ दिनको थियो । यो बसाइमा हामी दक्षिणको पुडुचेरीदेखि उत्तरको टेहरी ड्यामसम्म पुग्यौँ । एसियाकै उच्च स्थानमा रहेको टेहरी ड्याम देहरादुन र ऋषिकेशको बीचमा  छ । 

मिश्र सर र विनोद सरसँगै हामी तीन जना समुद्रतिर हान्निन्छौँ । पुडुचेरीको मुख्य सहरबाट फ्रेन्च कोलोनी हुँदै हामी समुद्रको किनारमा पुग्छौँ । विशाल समुद्र र किनारमा अवस्थित काला ढुङ्गा र तिनै ढुङ्गामाथि बसेर योगा गरिरहेका विदेशी पर्यटकहरूले मेरो ध्यान खिच्छन् । यो पर्यटकीय क्षेत्र हो । यहाँ अधिकांश होटलहरू सबै सिजनमा भरिभराउ हुन्छन् । 

मलाई यतिखेर यहाँ योगा गर्न मन लाग्दैन । केही गोराले गरेझैँ कानमा हेडसेट लगाएर गीत सुन्न पनि मन लाग्दैन । यहीँका स्थानीयले झैँ समुद्री किनारमा साइकिलिङ गर्न पनि मन लाग्दैन । मलाई समुद्रमा हराउन मन छ । समुद्रलाई आफूभरि लिएर समुद्रको छालझैँ अस्थिर यो मनलाई भिजाउन मन छ । केके न गर्छु भन्दै मच्चिने र समुद्र किनारमा नै थच्चिने मानिसका महìवाकाङ्क्षाहरूलाई नजिकैबाट अनुभूत गर्न मन छ । 

‘अब फर्कौं ।’ मिश्र सर भन्नुहुन्छ ।

‘समुद्र हेर्नै पुगेको छैन ।’ सुनिता लाडिन्छे । 

‘समुद्रमा डुबुल्की मार्न दिउँसो जाने हो । त्यतिखेर धित मरुन्जेल हेर्नु समुद्र ।’ विनोद सर भन्नुहुन्छ । 

हुन पनि हो । आज अपरान्ह प्याराडाइजबीच जाने कार्यक्रम छ । जहाँ हामी समुद्रमा पौडी खेल्नेछौँ । समुद्रमा डुबुल्की मार्नेछौँ । यही एउटा चिजको त कमी छ नेपालमा, सुन्दरताको साम्राज्यमा नभेटिएको समुद्र अघाउन्जेल हेर्नु छ र मेटाउनु छ समुद्र हेर्ने युगौँदेखिको प्यास ।