• १३ असार २०८१, बिहिबार

सम्बन्धमा नयाँ आयाम

blog

ऐतिहासिक कालखण्डमा अनेक उतारचढाव भोग्दै आएर हाल विश्वको तेस्रो ठुलो अर्थतन्त्र जर्मनीसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुगिसकेको छ । नेपाल र जर्मनीबिच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित भएको अनुभूत हुन्छ । विसं २०४४ असार ४ गते तत्कालीन जर्मन चान्सलर हेल्मुट कोलले नेपालको भ्रमणका क्रममा संसद् (राष्ट्रिय पञ्चायत) मा गर्नुभएको सम्बोधन महत्वपूर्ण थियो । ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको जर्मनीको भ्रमणले अझ सुमधुर बनाएको हो । राष्ट्रपति पौडेल सङ्घीय गणतान्त्रिक मुलुक जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणामा त्यसतर्फ जानुभएको हो । उहाँहरूबिच सोमबार बर्लिनस्थित राष्ट्रपति भवनमा भएको द्विपक्षीय भेटवार्ताले जर्मनीसँगको मैत्री सम्बन्ध मात्र नभएर सिङ्गो युरोपेली मुलुकसँगको सम्बन्ध एवं आपसी सहयोग वृद्धिमा मद्दत पुग्ने आकलन गरिएको छ । 

राष्ट्रपति पौडेल जर्मनी जानुअघि स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी हुनुभएर समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो । उक्त सम्मेलनमा नेपालका तर्फबाट खास गरी पछिल्लो राजनीतिक परिवर्तनपछि गरिएका श्रमिकका हकहित तथा सामाजिक न्यायका क्षेत्रमा गरिएका कानुनी सुधारको बारेमा राष्ट्रपतिले विश्वमञ्चसमक्ष जानकारी गराउनुभएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो भ्रमण पहिलो भएका कारण पनि विशेष महत्व भएको हो । जर्मन सरकारले उहाँलाई ‘गार्ड अफ अनर’ समेत प्रदान गरेर उच्च सम्मान प्रकट गरेको छ । 

समकक्षीसँगको भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको थियो । भेटका अवसरमा दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल अगाडि बढेको उहाँले अवगत गराउनुभयो । नेपालको शान्ति प्रक्रियामा जर्मनीका तर्फबाट प्राप्त सहयोगको प्रशंसा गर्दै उहाँले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास महत्वपूर्ण हुने भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्न अन्तर्राष्ट्रिय सहयोगको अवस्था दर्शाउनुभयो । त्यसै गरी विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले ‘लस एन्ड ड्यामेज फन्ड’ मा गरेको सहयोग प्रतिबद्धताको समेत राष्ट्रपतिले प्रशंसा गर्नुभयो । सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तन जस्ता तमाम सामाजिक, आर्थिक मुद्दामा दुई देशबिच अन्तर्राष्ट्रिय मञ्चहरूमा समान धारणा रहेकाले सहकार्य आवश्यक भएको राष्ट्रपति पौडेलले विचार व्यक्त गर्नुभएको छ । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले नेपाललाई स्रोतसाधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्य आवश्यक रहेको बताउनुभएको हो । नेपालको आर्थिक विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासमा सहयोग अपरिहार्य भएको धारणाले युरोपमा नेपालका राष्ट्रिय कार्यसूचीको प्रसार भएको छ । 

दुई देशका उच्च राजनेताबिच इतिहासको समीक्षासमेत भयो । बर्लिनको पर्खाल ढालिनु र नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुनु एकै पटक परेको स्मरण गर्नुहुँदै परिवर्तनका हरेक आयाममा जर्मनीले नेपालको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको सराहना गरियो । राष्ट्रपतिले जर्मनी नेपाली युवाका लागि उच्चशिक्षा अध्ययन र सिपयुक्त तालिमका लागि आकर्षक गन्तव्य मुलुक भएको तथा दुई देशबिचको श्रम सम्झौताले नागरिक तहमा सम्बन्ध विस्तार हुन मद्दत पुगेको स्मरण गराउनुभयो । नेपाली ध्वजावाहक वायुसेवालाई युरोपको आकाशमा लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको सहयोगको आग्रह नेपालको पर्यटन विकासमा महत्वपूर्ण छ । जर्मनीका राष्ट्रपति फ्रयाङ्क  वाल्टरले जर्मनी नेपाललाई हरतरहको सहयोग गर्न तत्पर रहेको भनाइ महत्वपूर्ण छ । उहाँले जलवायु परिवर्तनको असरप्रति आफू गम्भीर रहेकाले नेपाललाई आवश्यक सहयोग गर्न पछि नपर्ने विचार व्यक्त गर्नुका साथै नेपाल पुरानो मित्र भएकाले अप्ठ्यारो बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको भनाइ उच्च महत्वको छ । नेपाली हवाई कम्पनीलाई युरोपेली सङ्घको आकाशमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको जानकारी अझ महत्वपूर्ण छ । युरोपेली सङ्घभित्रको प्रभावशाली मुलुकका राष्ट्रपतिसँगको भेटवार्ता नेपालका लागि निकै उपलब्धिमूलक हुने कूटनीतिज्ञहरूको विश्लेषण छ । राष्ट्रपति पौडेलसँग जर्मन समकक्षीले देखाउनुभएको सद्भावबाट लाभ लिन कूटनीतिक निरन्तरता भने जरुरी छ ।