सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीको सानका साथै विश्वकै अनुपम आकर्षण हो । विसं २०१० मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक पाइला टेकेयता सगरमाथा अर्थात् माउन्ट एभरेस्टप्रति संसारकै आकर्षणको ग्राफ उचाइतिरै गइरहेको छ । नेपालको पर्यटन क्षेत्रको विकासको आधार पनि हो सगरमाथा । सगरमाथासँगै देशको उत्तरतिर रहेका चाँदी जस्ता टल्किने हिमाल प्रकृतिका अनुपम उपहार हुन् । यी प्रकृतिका उपहार अहिले मानव अतिक्रमणमा पर्न थालेका छन् । पर्वतारोहणलाई सीमित र साहसिक आकर्षणका रूपमा लिनुपर्ने हो तर सगरमाथालगायतको आरोहणलाई प्रतिस्पर्धा जसरी अगाडि बढाइएको त होइन भन्ने प्रश्न उब्जिएको छ । हरेक वर्ष सगरमाथा, वरपरका हिमाल र आधार शिविरमा मानव चाप बढ्दो छ । यो वसन्त ऋतुका निम्ति सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहणमा ठुलो आकर्षण छ । यतिबेला आधार शिविरमा पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक, भरिया, भान्से र उचाइमा जाने कामदारको ठुलो भिड भएको छ । आधार शिविरमा बजार जस्तो हुनुले यसको सुन्दर प्राकृतिक उपहारमा के कस्तो असर पर्ला ? अग्ला अग्ला शिखरको फेदीमा सीमित फराकिलो स्थान अहिले पाल टाँगेर मानव डेराले भरिएका छन् । आरोही तथा सहयोगीका निम्ति बास व्यवस्थापनका लागि सानो चट्टानी भूभाग रङ्गीचङ्गी पालले भरिएका छन् । ध्वजापताका फरफराइरहेका छन् ।
हिमाली काखमा शान्त रहनुपर्ने आधार शिविरमा दैनिक दर्जनौँ र अनेकौँ पटक हुने हेलिकोप्टरको ओहोरदोहोरले त्यस क्षेत्रमा ध्वनि प्रदूषणसमेत बढ्दो छ । टेन्टभित्र बालिएका बत्तीले हिमाली प्राणीको शान्ति खलबलिन सक्ने छ । सङ्गीतको धुनले सीमित क्षेत्र अस्थायी सहर जस्तो बन्दा त्यसको असर के कस्तो पर्छ भन्ने अध्ययन पनि जरुरी छ । सगरमाथालगायतका चुचुरो चुम्ने धेरै आरोहीको सपना स्वाभाविक भए पनि यसको भविष्यलाई समेत प्रतिकूल असर नपर्ने गरी नीति, योजना र कार्यक्रम आवश्यक छ । हुन पनि यो सानो क्षेत्रमा यतिबेला झन्डै दुई हजार मानिसको चाप छ । त्यसै पनि जलवायु परिवर्तनको असर विश्वव्यापी फैलिएको छ । हाम्रा हिमालमा त्यसको असर अझै तीव्रत्तर छ । केही दशकअघिसम्म हिमालका निश्चित उचाइमाथि बाह्रै महिना चाँदी जस्तो टल्किने हिउँको मात्रा अहिले घटेको छ । विशाल हिमनदी तीव्रत्तर पग्लन थालेका छन् । कतिपय हिमशृङ्खला चाँदी जस्तो टल्किने अवस्थाबाट काला पहाडमा परिणत हुन थालेका छन् । आधार शिविरभन्दा माथि दशकौँदेखि आरोहण गर्दा छोडिएका कतिपय वस्तु हिमालमै हराएर फोहोर भएका छन् । मानवीय फोहोर बढ्दो छ । यताका वर्षमा झनै चाप पर्न थालेपछि फोहोर व्यवस्थापनमा अझ जटिल हुन सक्छ । यो पटक सगरमाथा आरोहणका लागि डोरी टाँग्ने कार्य चौथो शिविरसम्म पूरा भएको जानकारीमा आएको छ । आधार शिविरबाट पहिलो, दोस्रो, तेस्रो क्याम्प हुँदै चौथो क्याम्पमा अक्सिजन सिलिन्डर, टेन्ट, खानालगायतका आरोहण सामग्री पु¥याउने कामले शान्त क्षेत्रमा तीव्र चहलपहल बढेको छ ।
एडमन्ड हिलारी यो संसारमा नभए पनि उहाँले सगरमाथा र हिमाली क्षेत्रप्रति गरेको चिन्ता भने सधैँ महत्वपूर्ण हुने छ । खुम्बु क्षेत्रलगायत हिमाली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठुलो योगदान दिनुभएका हिलारीको आरोहणको चाप बढिरहेकोप्रति गहिरो चिन्ता र चिन्तन थियो । जीवनको उत्तरार्धमा उहाँले सगरमाथालाई शिखरमा पुगेर नाम कमाउने प्रतिस्पर्धाका रूपमा मात्र हेर्न नहुने सुझाव दिनुभयो । त्यसैले होला उहाँले सगरमाथालाई केही समय आराम गर्न दिनुपर्ने पनि बताउनुभएको थियो । प्रतिस्पर्धाका रूपमा सगरमाथा तथा उच्च हिमाली शृङ्खला आरोहण गर्दा धेरैको ज्यान पनि गइरहेको छ । सगरमाथाको व्यवसायीकरण र बढ्दो भिडप्रति हिलारीको असन्तुष्टिलाई संसारभर गम्भीर रूपमा लिइएको पाइन्छ । हो, सगरमाथा आरोहणले देशको राजस्वमा केही योगदान अवश्य पुगेको छ तर अहिले प्राप्त भएको राजस्वलाई सबै उपलब्धि मात्र ठान्नु हुँदैन । सगरमाथा तथा उच्च हिमशृङ्खलालाई आरोहणको विन्दु मात्र बनाउनुभन्दा दृश्यावलोकनका फराकिलो आयाम विस्तार गरी पर्यटन प्रवर्धन गर्नु आवश्यक छ । त्यसका निम्ति मनोरम हिमशृङ्खला हेर्न जाने पर्यटकीय उत्पादनलाई बहुआयामिक तवरले विकास र विस्तार गर्नु पर्छ । यसबाट अझै ठुलो सङ्ख्यामा बर्सेनि लाखौँलाख पर्यटक विश्वभरबाट आउन सक्छन् । यसमा गुणस्तरीय पर्यटन विकासमा ध्यान दिनु पर्छ । जलवायु परिवर्तनका दुष्प्रभावले निसास्सिएका हाम्रा हिमशृङ्खला आगामी पुस्ताका निम्तिसमेत सुरक्षित राख्नु पर्छ । अमूल्य प्राकृतिक सम्पदाको सुन्दर भविष्य सुरक्षित राख्न गहिरो चिन्तन र कार्ययोजना आवश्यक छ ।