सुधा देव
भारदह (सप्तरी), वैशाख २९ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार राति भएको आगलागीमा १० परिवारका २१ घर जलेर नष्ट भएपछि पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
स्थानीयहरू छिमेकीको घरमा भइरहेको विवाह भोजमा सहभागी भएको बेला अचानक विद्युत सर्ट भई आगलागी हुँदा १० परिवारका २१ घर जलेर खरानी भएका हुन् । गाउँपालिकाका अनुसार आगलागीबाट करिब ५० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
आगलागीमा लत्ताकपडा, गरगहना, नगद, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पीडित परिवार अहिले बिचल्लीमा परेका छन् । बन्धक राखिएको जग्गा छुटाउन श्रीमानले मलेसियाबाट पठाएको २ लाख रुपियाँसमेत आगलागीमा जलेर नष्ट भएपछि परिवार थप समस्यामा परेको अग्निपीडित पिकी यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बन्धक राखिएको जग्गा कसरी छुटाउने भन्ने चिन्तामा थिएँ, त्यसमाथि आगलागीले सबै नष्ट गरेपछि अब कसरी बाँच्ने भन्ने चिन्ताले सताएको छ ।”
यसैबिच, अग्निपीडितलाई ह्याबिट्याट फर ह्युमानिटीको सहयोगमा सोमबार सेभ द सप्तरीले तत्काल आवश्यक सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष ध्रुव देवले बताउनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिकाले पनि पीडितलाई चामल, दाल, भुजा, चिउरा, नुन, तेललगायत खाद्यान्न सामग्री तत्काल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिनुभयो । उहाँले खुला आकाशमुनि बस्न बाध्य पीडितलाई त्रिपालसमेत उपलब्ध गराइएको बताउनुभयो ।
घर, अन्नपात र जीवनभरको आधार गुमाएका पीडितहरू अहिले असुरक्षित अवस्थामा रात बिताउन बाध्य छन् । स्थानीयले तत्काल राहतसँगै सुरक्षित आवास निर्माण, खाद्यान्न र दीर्घकालीन पुनःस्थापनातर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।